
सुर्खेत : गत बैशाख ३ मा संकटमा परेका कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई विश्वासको मत दिई पद जोगाइदिएर मन्त्री पाएका तीन जना सरकारबाट बाहिरिने भएका छन्। तत्कालिन अवस्थामा एमालेका फ्लोर क्रस गरेर मन्त्री बनेका अमर बहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीको पदावधि (६ महिना) सकिएसँगै सरकारबाट बाहिरिने भएका हुन्।
एमालेबाट निर्वाचित चार जनाले फ्लोर क्रस गरेर माओवादी केन्द्रका मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएपछि गत बैशाखमै एमालेले प्रदेशसभा सदस्य नरहनेगरी कारबाही गरेको थियो। पार्टीले कारबाही गरेपछि उनीहरुले प्रदेशसभा सदस्य पद गुमाएका हुन्।
पार्टीले कारबाही गरेपछि पद थमौतीका लागि सर्वोच्च अदालतमा रिट हालेका थिए। तर, सर्वोच्चले पार्टीले गरेको कारबाही सदर गरेपछि उनीहरु पदमुक्त बनेका थिए।
पार्टीले कारबाही गरेपनि प्रदेशसभा सदस्य नरहँदा अधिकतम ६ महिनासम्म मन्त्री हुन पाउने प्रावधान भएकाले मन्त्री बनेका तीनै जनाको पदावधि सकिएको हो। फ्लोर क्रस गरेका थापाले भौतिक पूर्वाधार विकास मन्त्रालय, बुढाले उद्योग, बन तथा वातावरण मन्त्रालय र शाहीले भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सम्हाल्दै आएका थिए।
एमाले फुटेर बनेको एकीकृत समाजवादी पार्टीका यि तीनै जना कात्तिक १५ अर्थात भोलि (सोमवार) पदमुक्त हुँदैछन्। पदमुक्त भएपछि आफ्नै पार्टीका तीन जना मन्त्रीमा नियुक्त गर्ने तयारी समाजवादीको छ।
‘संवैधानिक व्यवस्था अनुसार सरकारमा रहेका हामी तीनै जना भोली (सोमवार) सामूहिक रुपमा सरकारबाट बिदा हुन्छौँ’, एक मन्त्रीले भने, ‘अहिले कस-कसलाई सरकारमा पठाउने भनेर छलफल चलिहेको छ, पार्टीले टुंगो लगाउँला।’
मन्त्री बनाउने विषयमा यसअघि निर्वाचन कार्यालयमै पुगेर समाजवादी पार्टी रोजेका प्रदेशसभा सदस्य चन्द्रबहादुर शाही, रुकुम पश्चिमकी देवी ओली र जुम्लाका पदम बहादुर रोकाया मन्त्री बन्ने लाइनमा छन्। यद्यपी, पार्टीले अहिलेसम्म औपचारीक निर्णय भने गरेको छैन।
फ्लोर क्रस गर्दा टिमलाई मिलाउनकै लागि प्रभावशाली नेता प्रकाश ज्वालाले आफू सरकार बाहिर बसेर अन्य तीन जनालाई मन्त्री बनाए। हाल समाजवादी पार्टीको केन्द्रीय उपमहासचिव एवं प्रदेशको इन्चार्ज रहेका ज्वालाले समाजवादी रोजेका प्रदेशसभा सदस्य तीनै जनालाई सरकारमा पठाउने आँकलन गरिएको छ।
हाल कर्णाली प्रदेशसभामा नेकपा (एमाले)का १३, नेकपा (माओवादी केन्द्र)का १२, नेपाली कांग्रेसका ६, नेकपा (एकीकृत समाजवादी)का ३ र राप्रपाका एक गरी ३५ जना सांसद छन्। अहिले माओवादी केन्द्रको नेतृत्वमा, कांग्रेस र समाजवादी गरी तीन वटा पार्टीबीचको गठबन्धन सरकार छ।