PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

टंगाल भाटभटेनीमा बन्यो नेपालकै पहिलो भर्टिकल पार्किङ : ११ तले पार्किङमा गाडी पार्क गर्न कति समय लाग्छ ?



उन्नत सापकोटा

टंगाल भाटभटेनीमा बन्यो नेपालकै पहिलो भर्टिकल पार्किङ : ११ तले पार्किङमा गाडी पार्क गर्न कति समय लाग्छ ?

काठमाडौं : थोरै जग्गामा धेरै गाडी पार्किङ गर्न मिल्ने भर्टिकल पार्किङ भाटभटेनी सुपरमार्केटको टंगाल आउटलेटमा पूर्ण रूपमा संचालनमा आउने भएको छ।

भाटभटेनी सुपरमार्केटले भर्टिकल पार्किङ निर्माण गरी संचालनमा ल्याउन लागेको यो नै देशको पहिलो संरचना हो। बुधबारदेखि टंगाल आउटलेटमा भर्टिकल पार्किङ पूर्ण रूपमा संचालनमा आउने भाटभटेनी सुपरमार्केटका प्रमुख सञ्चालन अधिकृत (सीओओ) पानु पौडेलले जानकारी दिए।

खर्चका हिसाबले केही महँगो भएपनि भूमिगत पार्किङ नभएका ठाउँ वा भएको पार्किङ स्पेसले पनि नपुग्ने स्थानमा भर्टिकल पार्किङ जडान गर्न सकिन्छ।

दीर्घकालीन रूपमा काठमाडौंसहितका ठूला शहरहरुमा बढ्दो सवारी संख्याका कारण भाटभटेनीका आउटलेटमा मात्रै नभएर अन्य स्थानमा समेत जडान गर्नुपर्ने पौडेलले बताए।

'कुनै स्टोरमा सपिङ गर्न जानु भयो भने पार्किङ अभाव हुन्छ। भाटभटेनी टंगाल आउटलेटमा ७० वटासम्म गाडी र तीन सय हाराहारी मोटरसाइकल जग्गामै पार्किङ हुने गरेको छ। अर्को ३० वटा गाडी अट्ने गरी जग्गा विस्तार गरिरहेका छौं,' उनले भने,'यसो हुँदा पनि पार्किङ स्पेस हामीलाई पुगेन। आवश्यकता देखेरै हामी भर्टिकल पार्किङमा जान लागेका हौं।'

कस्तो छ भाटभटेनीको भर्टिकल पार्किङ?

भाटभटेनी टंगाल आउटलेटमा ११ तलाको भर्टिकल पार्किङ पूर्ण रूपमा संचालनको तयारीमा छ। चारवटा भर्टिकल रहेकोमा एउटा भर्टिकलमा ११ वटा गाडी अट्ने पौडेलले जानकारी दिए।

एउटा भर्टिकलमा चार वटा गाडी राख्ने लेन रहेकाले ४४ वटा गाडी ११ तलासम्ममा पार्किङ गर्न सकिन्छ। भर्टिकल पार्किङको लागत फिनिसिङसहित करिब सात करोड रुपैयाँ परेको उनले बताए।

साढे चार आना (करिब १५ सय वर्गफीट) जग्गा ओगटेको भर्टिकल पार्किङ पूर्ण स्वचालित छ। भाटभटेनी जाने ग्राहकहरुले भर्टिकल पार्किङमा गाडी छिराएर बाहिर निस्केपछि खाली रहेको स्थानमा आफैं गाडी मुभ हुने पौडेलले बताए।

भर्टिकल पार्किङ निर्माण गर्न कम्तिमा चार महिना समय लाग्ने अनुमान गरिएको भए पनि टंगालमा फुल फ्लेजमा काम सुरु भएको तीन महिना हाराहारीमै यो तयार भएको उनले बताए। स्टील स्ट्रक्चर (स्टील बार) र हाइड्रोलिक प्रणालीबाट जडान भएको भर्टिकल पार्किङका लागि भाटभटेनीले आवश्यक सबै सामग्री र प्रविधि चीनबाट आयात गरेको जनाएको छ।

नेपालमा भर्टिकल पार्किङका लागि कुनै सामाग्री र प्रविधि उपलब्ध नभएकाले चीनबाट आयात गर्नुपरेको बताइएको छ।

चीनबाटै प्राविधिकहरु आएर जडान गर्ने योजना भएपनि कोरोना महामारीका कारण भारतमा रहेको चिनियाँ कम्पनीको शाखाका प्राविधिक आएर उपकरण जडान गरेको पौडेलले जानकारी दिए। भर्टिकल पार्किङमा गाडी पार्क गर्न सवारीधनीलाई एक मिनेटभन्दा कम समय लाग्ने बताइएको छ।

टंगाल आउटलेटमा भूमिगत पार्किङसमेत नभएकाले पार्किङ अभावलाई केही सहज बनाउन भर्टिकल पार्किङ निर्माणमा भाटभटेनी नेतृत्व पुगेको बताइएको छ। तत्काल पार्किङको समस्या समाधानमा कुनै कदम नचाले समस्या आउने देखेरै टंगालमा भर्टिकल पार्किङ निर्माण थालिएको थियो।

भाटभटेनीले पार्किङ अभाव हुँदै जाने आफ्ना आउटलेटहरुमा भर्टिकल पार्किङ विस्तार गर्ने रणनीति लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell