काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी नेकपा आफूले कब्जा गरेको बताएका छन्। कीर्तिपुरमा आयोजित कार्यक्रममा उनले तत्कालिन अध्यक्ष केपी शर्मा ओलीसँग २५ प्रतिशत र आफूसँग ७५ शक्ति रहेको बताएका हुन्।
'पार्टी विभाजन भएको होइन, गराइएको हो। पार्टी त हामीले कब्जा गरेका थियौं। ओली २५ प्रतिशत र हामी ७५ प्रतिशत गराएका थियौं नि,'उनले भने।
उनले माओवादी हेडक्वाटरमै जनताले फेरि देशको नेतृत्व दिन लागेको दाबी समेत गरे। २०६४ सालको चुनावमा जस्तै माओवादी पहिलो पार्टी हुने उनको दाबी थियो।
तराईमा पार्टी प्रवेशको लहर आउनलागेको उनको भनाइ छ। उनले माओवादीले ठुला परिवर्तन गराएको भए पनि त्यसको प्रचार गर्न नजानेको बताए।
'मार्केटिङ गर्ने क्षमता हाम्रो पुगेको छैन। राम्रा राम्रा काम हामीले गरेका छौं,' प्रचण्डले भने।
कीर्तिपुर लायकु (कीर्तिपुर दरबार) एमालेले भत्काउन लागेको भन्दै प्रचण्डले माओवादी दरबार बनाउने पक्षमा रहेको बताए। हाल कीर्तिपुर दरबार रहेको क्षेत्रमा वडा कार्यालय बनाउने योजना नगरपालिकाले सार्वजनिक गरेको छ। नगरपालिकाको उक्त कदमको आलोचना भइरहेको छ।
'एमालेले दरबार भत्काउन लागेका छन्। हामीले त्यहाँ दरबार नै पुनर्निर्माण गर्ने भन्ने भनिरहेका छौं' उनले भने।
प्रचण्डले आफूलाई कीर्तिपुरबाट पराजित गराउन ठूलो षड्यन्त्र भएको आरोप लगाए।
'कीर्तिपुरमा चुनाव हराउन ठुलो षडयन्त्र भयो। विदेशी दलालहरुले अरुबाट प्रतिक्रन्तिको काम गर्न सम्भव नहुने भएपछि ओलीबाट गराए। पार्टी एकता गर्न हामीले देखेको सपना नराम्रो थिएन। तर आत्मा सम्र्पण कि विद्रोह भन्ने बेला विद्रोह गर्यौं'उनले भने।
