सुर्खेत : संकटमा परेका कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई विश्वासको मत दिई पद जोगाइदिएर मन्त्री बनेका तीन जना आज सरकारबाट बाहिरिँदै छन्। तत्कालिन अवस्थामा एमालेमा रहेर फ्लोर क्रस गरेर मन्त्री बनेका अमर बहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीको सरकारबाट बाहिरिने भएका हुन्।
एमालेबाट निर्वाचित चार जनाले फ्लोर क्रस गरेर माओवादी केन्द्रका मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएपछि गत बैशाखमै एमालेले प्रदेशसभा सदस्य नरहनेगरी कारबाही गरेको थियो। पार्टीले कारबाही गरेपछि उनीहरुले प्रदेशसभा सदस्य पद गुमाएका थिए। पार्टीले कारबाही गरेपछि पद थमौतीका लागि सर्वोच्च अदालतमा रिट हालेका थिए। तर, सर्वोच्चले पार्टीले गरेको कारबाही सदर गरेपछि उनीहरु पदमुक्त बनेका थिए।
सांसद पदबाट मुक्त भएपनि उनीहरु शाही सरकारमा सहभागी भएका थिए। प्रदेशसभा सदस्य नरहँदा अधिकतम ६ महिनासम्म मन्त्री हुन पाउने प्रावधान छ। प्रावधान अनुसार उनीहरु मन्त्री बन्ने पदावधि सकिएको हो। एमाले फुटेर बनेको एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका तीनै जना आज पदमुक्त हुँदैछन्। पदमुक्त भएपछि आफ्नै पार्टीका तीन जना मन्त्रीमा नियुक्त गर्ने तयारी समाजवादीको छ।
फ्लोर क्रस गरेका थापाले भौतिक पूर्वाधार विकास मन्त्रालय, बुढाले उद्योग, बन तथा वातावरण मन्त्रालय र शाहीले भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सम्हाल्दै आएका थिए।
