PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

कोप-२६ सम्मेलनमा सहभागी हुन निवेदन दिएका ६ अफगानी प्रतिनिधिको निवेदन अस्वीकृत



पहिलोपोस्ट

कोप-२६ सम्मेलनमा सहभागी हुन निवेदन दिएका ६ अफगानी प्रतिनिधिको निवेदन अस्वीकृत
File Photo : Getty Images

आइतवार देखि स्कटल्याण्डको ग्लास्गोस्थित स्कटिस इभेन्ट कलेजमा सुरु भएको राष्ट्र संघीय जलवायु सम्मेलन कोप-२६ मा यसपटक अफगानिस्तानबाट प्रतिनिधित्व 'शून्य' हुने भएको छ। 

अफगानिस्तानको प्रतिनिधित्व गर्ने गरी ६ जना प्रतिनिधिले दिएको निवेदन आयोजकले अस्वीकार गरेको छ। सम्मेलन सुरु हुनु दुई दिन अगाडि मात्र उनीहरुको निवेदन अस्वीकृत भएको हो। ६ जना वातावरणविद्हरुले सम्मेलनमा सहभागी हुन निवेदन दिएका थिए। अफगानिस्तानबाट ६ जना मध्ये पाँच जना पुरुष र एक जना महिलाले निवेदन दिएका थिए। उनीहरुको नाम भने सार्वजनिक गरिएको छैन। 

यद्यपि, उनीहरुले तालिवानको प्रतिनिधित्व भने गरेका थिएनन्। उनीहरु सबै तालिवानले सत्ता हातमा लिएपछि देश छाडेर छिमेकी देशमा शरण लिन पुगेका थिए। त्यहाँ देखि बेलायत प्रवेशमा उनीहरुलाई सहज हुने थियो। तर, उनीहरुको निवेदन अस्वीकार भएको र उनीहरुलाई निवेदन अस्वीकृत हुनुको कुनै कारण नदिइएको दी गार्डियनले जनाएको छ। 

सुरुमा उनीहरुको निवेदन बेलायतको गृह कार्यालय वा विदेश कार्यालयले अस्वीकृत गरेको ठानिएको थियो। तर त्यहाँको विदेश कार्यालय स्रोतले गार्डियनलाई यस सम्बन्धी निर्णय बेलायतको कुनै पनि निकायले नगरेको बताएका छन्। राष्ट्र संघीय फ्रेमवर्क कन्भेन्सन अन क्लाइमेट चेन्ज (युएनएफसीसीसी)को सचिवालयले अफगानिस्तानका डेलिगेट्सलाई दर्ता नगरेको बताइएको छ। 

कोप-२६ मा सहभागी हुन चाहेका ६ जना राष्ट्र संघीय कार्यक्रम, तालिवान पूर्वको सरकार अथव त्यहाँको राष्ट्रिय वातावरण सम्बन्धी निकायमा काम गर्ने गरेका थिए। उनीहरुले आफ्नो निवेदन अस्वीकार गरेकोमा दु:ख व्यक्त गरेका छन्।  

'हामी यो निर्णय देखि निराश छौँ। हामीले भिसाका लागि सबै प्रक्रिया पूरा गरेका थियौँ। तर युएनएफसीसीसीको सचिवालयले बिना कुनै कारण हाम्रो निवेदन अस्वीकार गरेको छ। सम्भवत: अफगानिस्तानको पछिल्लो राजनीतिक कारणले होला,' एक प्रतिनिधिले भनेका छन्। 

त्यस्तै अर्का प्रतिनिधिले युनएफसीसीसी सचिवालयले जलवायु परिर्वतनबाट प्रभावित लाखौँ अफगानीको आवाज दबाउने काम गरेको आरोप लगाएका छन्। उनले वातावरणलाई राजनीतिसँग मिसाउन नहुनेसमेत बताएका छन्। 

०.०३ प्रतिशत मात्र विश्वव्यापी उत्सर्जनमा हात रहेको अफगानिस्तान जलवायु परिवर्तनको उच्च जोखिममा रहेको छ।  युएनएफसीसीसीको सचिवालयले बेलायतलाई निवेदकको भिसा प्रक्रियामा सहयोग गर्न अनुरोध गरेको थियो। तर, पछिल्लो पत्रमा भने उनीहरुको निवेदन अस्वीकृत भएको बताए उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell