काठमाडौं : नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले आउने चैत वा बैशाखमा संघ र प्रदेशको चुनाव हुने दाबी गरेका छन्। चितवनको भरतपुर नगरको अधिवेशनमा पाण्डले नेताहरुलाई चुनावको तयारी गर्न आग्रह गरेका हुन्।
उनले चाँडै स्थानीय चुनाव हुने भएकाले महाधिवेशनलाई अबको चुनाव तयारीको रुपमा लिनुपर्ने बताए। 'संघ र प्रदेशको चुनाव चैत बैशाखमा हुने सम्भवना बढ्दै छ। महाधिवेशन सफल पार्नका लागि आजैदेखि जुट्नुपर्छ। महाधिवेशनमा ध्यनमा राखेर आउने कमिटी तयारीमा जुट्ने छ,' पाण्डले भने।
नेकपा एमालेको १० औं महाधिवेशन चितवनमा हुँदैछ। एमालेले महाधिवेशनलाई मध्यनजर गरेर चितवनलाई राजनीतिको केन्द्रमा राखेको छ।
पाण्डेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मत च्यात्ने नीति नबनाएको भए एमालेका नेता देवी ज्ञवाली अहिले महानगरको कुर्सीमा हुने दाबी गरे।
उनले एमाले विजयको तयारीमा जुटिसकेको भन्दै भने, 'हाम्रो निर्वाचन एकल बहुमतका लागि हुनेछ। अबको सरकार एमालेको हो। अल्पमत होइन बहुमतको सरकार बनाउने हो,' उनले भने।
