काठमाडौं : नेकपा एमालेका नेता रामबहादुर थापा बादलले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा दक्षिणपन्थी धार सक्रिय रहेको टिप्पणी गरेका छन्।
चितवनको भरतपुरमा आयोजित कार्यक्रममा दक्षिणपन्थीलाई पराजित गर्नुपर्ने भन्दै उनले उक्त धारले नेपाली समाजलाई उल्टो दिशामा फर्काउन खोजेको बताए। देउवाको नेतृत्वमा देखिएको राजनीतिक ध्रुब्रिकरणलाई परास्त नगरी एमाले अघि बढन नसक्ने उनको भनाई छ। उनले नेपाली कांग्रेस पुँजीपतिको प्रतिनिधि भएको टिप्पणी गरे।
'अहिले नेपालमा दक्षिणपन्थी सरकार गठन भएको छ। नेपालको लोकतन्त्र राष्ट्रिय स्वाधिनतामाथि अवरोध भएको छ। नेपालमा देशी विदेशी शक्तिको षडयन्त्र भइरहेको छ,' उनले भने।
बादलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमा पनि दक्षिणपन्थी प्रवृति रहेको आरोप लगाए। उनीहरु पार्टीबाट अलग्गिनुको कारण पनि दक्षिणपन्थी प्रवृति भएको बादलको दाबी थियो।
उनले देउवा, प्रचण्ड र नेपाललाई पराजित गर्न नै काठमाडौंमा विधान महाधिवेशन गरेको बताए। साथै,अब प्रचण्ड चितवनमा भएकाले नारायणी तिरमा विशाल जनप्रदशर्न गर्ने घोषणा गरे।
'एउटा दक्षिणपन्थी चितवनमा छ। त्यसलाई पराजित गर्नका लागि चितवनमा महाधिवेशन आयोजना गरिएको हो,'उनले भने।
उनले कांग्रेसको नेतृत्वमा रहेको सत्ता गठबन्धन अहिले एमालेको मूल चुनौति बनेको टिप्पणी गरे।
भने,'हाम्रो अगाडि चुनौतिहरु खडा भएका छन्। नेपालमा फेरि राजनीतिक स्थायित्व कसरी खडा गर्ने? राजनीतिक स्वाधिनता कसरी कायम गर्ने हाम्रो अगाडि चुनौतिहरु आएको छ। यी चुनौतिहरुलाई कसले समाधान गर्न सक्छ ? निश्चय पनि ऐतिहासिक कार्यभार एमालेले मात्रै पुरा गर्न सक्छ,' बादलले भने।
पूर्व माओवादीका नेता समेत रहेका बादलले दक्षिणपन्थीहरुले देशलाई उल्टो दिशातर्फ लैजान खोजेको बताए।
'पक्कै पनि ऐतिहासिक अधिवेशनमार्फत नयाँ संकल्प गर्ने छौ। यो देशको जिम्मेवारी हामीले लिने छौँ। लोकतन्त्रको स्थापनको लागि एमालेले मात्रै पुरा गर्न सक्छ,' उनले भने।
