काठमाडौं : गणतन्त्रका विरुद्ध बोल्नेहरु सुध्रिए होलान भन्ने सोचिए पनि त्यस्तो नभएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले बताएका छन्।
नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रम तथा मुखपत्र 'पराग'को विमोचन कार्यक्रममा प्रचण्डले कम्युनिष्ट पार्टीकै नेतृत्वबाट पार्टी भित्रैबाट प्रतिक्रान्ति भएको आरोप लगाए।
'नेपालमा आफ्नै मौलिकतासहित प्रतिक्रान्तिका प्रवृत्तिबाट। कम्युनिस्ट पार्टीले बनाएको प्रधानमन्त्रीले संविधानका व्यवस्था च्यात्ने प्रयास भयो,' उनले भने,'पार्टी भित्र मात्र होइन पार्टी बाहिरका शक्तिहरु, विदेशी शक्तिहरु, राजतन्त्रवादी बुर्जुवा शक्तिहरु पनि त्यही प्रतिक्रान्ति गर्नेहरुसँग गोलबन्ध भए।'
उनले गणतन्त्र दबाउन भएका हत्कण्डाहरु जस्तै परिवर्तनलाई दबाउन पनि त्यस्तै हत्कण्डा प्रयोग भएको आरोप लगाए। उनले कम्युनिस्ट पार्टीभित्रैबाट प्रतिगमन जन्मिएको बताउँदै त्यो प्रतिगमन र प्रवृत्ति विरुद्ध सडकमा जानुपर्ने अवस्था आएको समेत बताए।
'षड्यन्त्र सकियो हामी पूरै विजयी भइसक्यौँ भन्ने अवस्था छैन। यो गठबन्धन भत्काउन र फेरि पनि प्रतिक्रियावादी गठबन्धन बनाउने प्रयास भइरहेको छ' प्रचण्डले आरोप लगाउँदै भने, 'नेपालको परिवर्तन नरुचाएको वैदेशिक शक्तिहरु यो गठबन्धन टुटाउने प्रयास गरिरहेको छ।'
ओलीले आफू कहिल्यै पनि गणतन्त्रवादी नभएको भनेर प्रतिक्रिया दिएको भन्दै प्रचण्डले 'विजयी भइयो भनेर रिल्याक्स गर्ने समय नभएको' भने। प्रतिक्रियावादी सेटिङबाट ओलीलाई दलको नेताबाट हटाएकै दिन अदालतले पार्टी फुटाइएको आरोपसमेत प्रचण्डले लगाए। उनले त्यस घटनाले रिल्याक्स गर्ने यो समय होइन भन्ने अनुभव बटुलेकोसमेत बताए।
गठबन्धनको सरकार बनेपछि हिजोका सरकारले रोकेका सबै विधेयकहरू पारित गर्न अगाडि बढाउने तयारी भइरहेकोसमेत उनले बताए।
'हिजो समितिबाट पारित भएका विधेयकहरू प्रधानमन्त्रीको सिरानीमुनी दाबिएका थिए। अब ति विधेयकहरूलाई अगाडि बढ्नेछन्,' प्रचण्डले भने।
