PahiloPost

Nov 22, 2024 | ७ मंसिर २०८१

सयपत्री र मखमलीको व्यापारमा व्यस्त व्यवसायी, पोखरामा स्थानीय फूल उत्पादन बढ्दो



रिना थापा

सयपत्री र मखमलीको व्यापारमा व्यस्त व्यवसायी, पोखरामा स्थानीय फूल उत्पादन बढ्दो

पोखरा : ढकमक्क फूलेको सयपत्री र मखमलीले तिहार नजिएको संकेत दिएको छ। पोखराका नर्सरीमा यतिबेला सयपत्री र मखमलीले सुन्दरता थपिदिएको छ। तिहार नजिकिँदा नर्सरीको सुन्दरता मात्र नभई व्यापार बढेको छ। यतिबेला पोखराका अधिकांश फूल व्यापारीलाई व्यापारको चटारो बढ्दै छ। अन्य समयभन्दा यो समय फूलको व्यापार बढी हुन्छ। भाइटिकामा प्रयोग हुने मखमली र सयपत्री फूलले व्यापारीलाई तिहारको समयमा भ्याइनभ्याई बनाउँछ। यस्तै चटारो छ पोखरा महानगरपालिका वडा १६ का काशिराम गुरुङलाई। लामाचौर र बाटुलेचौर छुट्टिने चोकबाट लामाचौरको बाटो लागेपछि दूई मिनेटैमा पुगिन्छन् काशिरामको गोरखा तमु नर्सरीमा। चार रोपनी जग्गामा रहेको नर्सरीमा सयपत्री ढकमक्क फूलेको छ।

काशीरामले फूलसँग खेल्न थालेको दशकौं बित्यो। गोरखाका उनी कामकै शिलशिलामा काठमाडौं पुगेको थिए। त्यहाँ मालीको काम गर्थे। उता सिकेको सिपले आफनै व्यवसाय सुरु गर्ने सोच राखे। गोरखा हुँदै काठमाडौं पुगेका काशिराम हानिए पोखरा। अनि सुरु गरे गोरखा तमु नर्सरी १३ वर्ष अगाडि। जानेको सिप फलदायी बन्यो। व्यवसायबाट राम्रै आम्दानी गर्छन् काशिराम। तिहारको समय त विशेष भइहाल्यो। गतसाला तिहारको चार दिनमा चार लाख बढी कमाए। यो वर्ष उत्तिकै आम्दानी हुने अनुमान छ। तर यो साल भने उनले फूल थोरै लगाएका छन्। अघिको तिहारमा ५० हजार बेर्ना लगाएका उनले यसपाली ३५ हजारमात्र लगाए। फूलको माग आउन सुरु भइसकेको छ। कोही ठेक्कामै लिन फोन गर्छन्। कोही नर्सरीमा पुग्छन्। अघिपछिका केही समारोह र कार्यक्रममा भारतबाट आयातित फूलको प्रयोग भए पनि पर्वको समयमा स्थानीय फूलकै खोजी हुने काशीराम बताउँछन्।

‘डिमान्ड आइरहेको छ ठेक्कामै लिन पनि फोन आउँछ हेरौं बल्ल सुरु भएको छ अहिलेसम्म ठिकै छ तिहारमा जतिसक्दो स्थानिय ताजा फूल लगाउन खोज्छन्,’ उनले भने। विशेषगरी तिहारमा मखमलीको माला प्रयोग गरिन्छ। तर काशिरामले यसपाली मखमली फूल लगाएनन्। जग्गा बढी आवश्यक पर्ने र टिप्न दुख हुने भएकै कारण मखमलीको फूल नलगाएको बताउँछन् काशीराम।

काशीरामको जस्तै यो समस्या अन्य फूल व्यवसायीको हो। काशिराम फूलसँगै विभिन्न थरीको बेर्ना, ल्याण्डस्केपिङ्ग र गार्डेन डिजाइनिङको काम गर्छन्। सामान्य समयमा पनि काशिरामको व्यापार राम्रै चलिरहेको छ।

यस्तै व्यापारको चटारोमा छिन् सनिता राजवंशी। अनिमा पुष्प नर्सरीमा पुग्नभन्दा केहीसमय अ मात्र एकलाख रुपैयाँको सयपत्री फूल बैना गरेर बसेकी थिइन् उनी। पाँच वर्ष पुग्न लाग्यो सनिताले दिपमा अनिमा पुष्प नर्सरी सञ्चालन गरेको। तिहारबाहेक अन्य समयमा पनि फूलको व्यापार राम्रो हुने उनी सुनाउँछिन्। अघिल्लो वर्ष तिहारको समयमा उनले अनुमान गरेको भन्दा राम्रो व्यापार र माग रह्यो। त्यसैले योवर्ष उनले फूलको बेर्नापनि बढी लगाएकी छिन्। गत तिहारमा तिन सय मात्र बेर्ना लगाएकी उनले योसाल बढाएर दूईहजार पुर्‍याएकी छिन्।

फूलमा परनिर्भरता घट्दो, स्थानीय उत्पादनको मात्रा बढ्दै

पछिल्लो वर्षहरुभन्दा पोखरा र आसपास क्षेत्रमा स्थानीय फूलको उत्पादन बढ्दो छ। केहीवर्ष उता पर्व र सभासमारोहमा भारतबाट ४० प्रतिशत फूल आयात हुँदै आउँथ्यो। तर पछिल्लो केहीवर्ष यता त्यो संख्या घटेर १० देखि २० प्रतिशतमा पुगेको छ। फूल खेती गर्ने किसानको संख्या बढेसँगै उत्पादन बढेको पुष्प व्यावसायी संघ कास्कीका अध्यक्ष दिलबहादुर गुरुङ बताउँछन्। अध्यक्ष दिलकुमार पनि सिजनल मनकामना नर्सरीका सञ्चालक हुन्। अन्य व्यवसाय जस्तै दिलकुमार समेत व्यस्त छन्।  पोखरा फूलमा आत्मनिर्भर बन्दै गएको उनको भनाइ छ। अघिल्लो वर्ष पर्वको समयमा पोखरामा करिब २० प्रतिशत फूल आयात भएको थियो। योवर्ष सो प्रतिशत घट्ने उनले आशा राखेका छन्। पोखरामा फूलको माग स्थानीय मागले नै धान्ने उनी बताउँछन्।

‘व्यवसायीसँगै योबेलामा केही व्यक्तिले घरमा उत्पादन गरेका छन्। नेपालीको बानी योबेला चाहिन्छ भनेर जुगाड पनि गर्ने हुन्छ,’ उनले भने, ‘दाजूभाइको गलामा स्थानीयको फूलले पुग्छ स्थानीय उत्पादन बढ्दो छ। आम्दानीको लक्ष्य लिएर भारतबाट ल्याएर स्थानीय बजार डाउन गर्न बिक्री गरेमात्र हो।’

भारतबाट आयातित फूल नेपालीभन्दा थोरै सस्तो हुन्छ। भारतबाट आयातित फूलको मूल्य ६० देखि ७० पर्छ। नेपाली फूलको मालाको १५० र थुङ्गाको  ५ रुपैयाँ छ। स्थानीय फूलको मालामा ३० बढी थुंगा प्रयोग हुन्छन्। व्यवसायीका अनुसार भारतीय थुङा सानो हुने तर स्थानीय फूलको थुङ्गा ठुलो र ताजा हुने भएका कारण महंगो भएको बताउँछन्। संघले फूल र मालाको मूल्य एकै निर्धारण गरेपनि कहिँकतै व्यवासायीले पाँच रुपैँया बढी लिने गर्छ्न्। पाँच रुपैंया तोकिएको थुङ्गाको मूल्यलाई व्यापारीले १० रुपैंयामा बेच्दै आएका छन्। पर्वको अन्तिम समयमा पाँच रुपैंयाँमा व्यापार हुँदै आएको छ। दिलकुमारका अनुसार अघिल्लो वर्षमा करिब साढे तिन करोडको व्यापार भएको थियो। यसवर्ष व्यापारीहरुले सोभन्दा बढी व्यापार हुने आशा राखेको छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell