काठमाडौं : तिहारमा घर जाने यात्रुलाई आजदेखि कोरोना भाइरस विरुद्धको खोप लगाउन थालिएको छ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले चाडपर्वमा घर जाने यात्रुलाई लक्षित गरी गोगंबु बसपार्क, कलंकी, बल्खु र कोटेश्वरमा आजदेखि खोपको पहिलो मात्रा दिन थालिएको बताए।
उनका अनुसार आज बिहानैदेखि ती ठाउँमा घर जाने यात्रुलाई खोप दिइरहेको छ। बिहान ७ बजेदेखि साँझ ७ बजे खोप प्रदान गरिनेछ।
जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख शम्भु काफ्लेले खोप लगाउनका लागि रेडक्रसका स्वम्सेवक परिचालन गरिएको बताए।
'बसपार्कको टिकट काउन्टरमा गई स्वयसेवकले खोप लगाउन यात्रुलाई अनुरोध गर्नेछन्', उनले भने, 'अनि ती घर जान लागेका यात्रु नजिकैको खोप केन्द्रमा गई खोप लगाउने छन्।'
उनले अहिले ५०० मात्रा चारै वटा खोप केन्द्रमा पठाइएको र आवश्यकता अनुसार खोप उपलब्ध गराउने जानकारी दिए।
भेरोसेल र अस्ट्राजेनिका खोप यात्रुलाई प्रदान गरिनेछ। पहिलो मात्रा दिइसकेको ती यात्रुलाई घरबाट फर्केपपछि दोस्रो मात्राको खोप प्रदान गरिनेछ। खोप आज र भोलि प्रदान गरिने छ।
