ग्लास्गो : जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गत नोभेम्भर १ मा सुरु भएको दुई दिने विश्व नेताहरुको शिखर सम्मेलनमा नेताहरुले सम्बोधन गर्नेक्रम आज पनि जारी छ।
सोमबार विभिन्न देशका राष्ट्रप्रमुख र सरकार प्रमुखहरुसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले पनि सम्मेलनलाई सम्बोधन गरेका थिए। सम्मेलनमा विश्वका कूल ११७ देशका राष्ट्रप्रमुख र सरकार प्रमुखले सम्बोधन गर्ने तालिका रहेको छ।
प्रधानमन्त्री देउवाले आज आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। सोमबार सम्मेलनकै क्रममा मोदी र देउवाबिच अनौपचारिक भेट भएको थियो।
यस्तै, आजै प्रधानमन्त्री देउवासँग श्रीलंका राष्ट्रपति गोटाबय राजपाक्षेले भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको छ। यसैगरी संयुक्त अधिराज्यका रक्षामन्त्री, विश्व बैंक र आइएमओका पदाधिकारीले पनि प्रधानमन्त्री देउवासँग साइडलाइन बैठक गर्नेछन्। रासस
