टेलिफोन सेवा अवरुद्ध हुँदा उपभोक्ताहरुले क्षणभरमा लाखौँ गुमाउन सक्छन्। अत्यावश्यक सेवाभित्र रहेको सञ्चार सेवा अवरुद्ध हुँदा नेपालमा त्यसको क्षतिपूर्ति दिएको सुनिँदैन्। तर, कोरियाको एक सेवा प्रदायक कम्पनीले आफ्नो सेवा प्रभावित हुँदा ग्राहकलाई परेको घाटाको भरपाई स्वरुप ४० बिलियन वन अर्थात ३४ मिलियन डलर बढी क्षतिपूर्ति दिने भएको छ। जुन नेपाली चार अर्ब ७ करोड २९ लाख बढी हुन आउँछ।
अक्टोवर २५ मा त्यहाँको कोरिया टेलिकम (केटी कर्पोरेसन)को सेवा देशव्यापी रुपमा अवरुद्ध भएको थियो।
सोमवार कम्पनीको तर्फबाट नेटवर्क अवरुद्ध हुँदा प्रभावितहरुलाई क्षतिपूर्ति दिने घोषणा भएको हो। सो दिन १५ घण्टामा १० पटक ८९ मिनेट सेवा अवरुद्ध भएको थियो।
सेवा अवरुद्ध भए वापत क्षतिको रकम त्यहाँका साना व्यावसायीहरुले १० दिनभित्र पाउने कोरिया टाइम्सले जनाएको छ। त्यसका लागि सेवाग्राहीको सो मोवाइल नम्बर इन्टरनेट कनेक्ट भई कार्ड पेमेन्ट सिस्टममा जोडिएको हुनुपर्नेछ।
कम्पनीले क्षतिपूर्ति सेवाग्राहीलाई डिसेम्बरमा तिर्नुपर्ने मासिक विल भुक्तानीमा छुट दिएर गर्नेछ। कम्पनीले क्षतिपूर्ति दिनका लागि वेवसाइट र कल सेन्टर खडा गरी दुई हप्ता सम्म सेवाग्राहीको लगत संकलन गर्नेसमेत भएको छ। यो क्षतिपूर्ति वापत हरेक व्यक्तिले कम्तिमा एक हजार वन र साना व्यावासयीले ८ हजार वनसम्म क्षतिपूर्ति पाउने उल्लेख छ।
नेटवर्क अवरुद्ध हुँदा त्यहाँको व्यक्तिगत तवरबाट हुने स्टक ट्रेडिङ, रेष्टुरेन्टमा कार्ड पेमेन्ट, विभिन्न प्लेटफर्मबाट सामान खरिद, ट्याक्सी चालकहरुले नेभिगेसन सेवामा समस्या व्यहोर्नुका साथै आगमन कलमा समस्या भएको थियो।
केटी कर्पोरेसनले यसरी दिइने क्षतिपूर्ति प्रयोगकर्ताहरु अनुसार फरक फरक हुने जनाएको छ। केटीको कन्ट्र्याक्टमा भने लगातार तीन घण्टा भन्दा कम समय सेवा अवरुद्ध भए क्षतिपूर्ति दिन नपर्ने उल्लेख भए पनि केटीले सेवाग्राहीको सुविधालाई ध्यानमा राखेर क्षतिपूर्ति दिन लागेको हो। कम्पनीले यसअघि २०१८ मा पनि सोलमा सेवा अवरुद्ध हुँदा क्षतिपूर्ति दिएको थियो।
यसपटकको क्षतिपूर्ति अघिल्लो भन्दा बढी हुने जनाइएको छ। २०१८ को नोभेम्वरमा कम्पनीको सोल शाखामा आगलागी हुँदा लामो समय सेवा अवरुद्ध भएको थियो। त्यतिवेला सेवा सोल क्षेत्रमा मात्र अवरुद्ध भएको थियो।
त्यहाँका एनटीटी डोकोमो, एटी एण्ड एटी, भेरिजोन तथा टी मोवाइलको सेवा पनि पछिल्लो समय अवरुद्ध भएका थिए। उनीहरूले भने क्षतिपूर्तिको घोषणा गरेका छैनन्।
'हामीले स्थानीय तथा विदेशी कम्पनीले भन्दा उच्च स्तरको क्षतिपूर्तिको घोषणा गरेका छौँ,' केटी कर्पोरेसनका अधिकारीले भनेका छन्।
त्यहाँको विज्ञान तथा आइसीटी मन्त्रालयले केम्पनीको सवकन्ट्र्याक्टरका एक कर्मचारीको गल्तीले देशव्यापी रुपमा सेवा अवरुद्ध भएको जनाएको छ। नियमिति परीक्षणको काम रातको समयमा गर्नुपर्ने भए पनि ति कर्मचारीले दिनको समयमा काम गर्दा सेवा अवरुद्ध भएको थियो। कम्पनीले यस्तो निगरानीको जिम्मेवारी आफ्नो कम्पनीको भएको र त्यसमा कमजोरी भएको भन्दै माफीसमेत मागेको छ।
