PahiloPost

Apr 9, 2026 | २६ चैत्र २०८२

कोप२६ : सम्मेलन केन्द्र ह्वीलचेयर मैत्री नहुँदा इजरायली मन्त्री सभाहल भित्र जान पाइनन्



पहिलोपोस्ट

कोप२६ : सम्मेलन केन्द्र ह्वीलचेयर मैत्री नहुँदा इजरायली मन्त्री सभाहल भित्र जान पाइनन्
Photo : Reuters

इजरायली मन्त्री केरिन एलहररारले कोप२६ सम्मेलन केन्द्र अपांग मैत्री नहुँदा आफू सहभागी हुन नसकेको बताएकी छिन्। सम्मेलन केन्द्रभित्र ह्विलचेयर लग्न नमिल्दा आफू सोमबारको बैठक सहभागी हुन नसकेको उनले ट्वीट गर्दै जानकारी दिएकी छिन्।

स्कटल्याण्डको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप२६) अन्तर्गत को दुई दिने विश्व नेताहरुको शिखर सम्मेलनमा नेताहरुले सम्बोधन गरिरहेका छन्।

इजरायली प्रधानमन्त्री नाफ्ताली बेन्नेटको प्रतिनिधिमण्डलमा रहेकी केरिनले यस विषयमा आयोजकसँग गुनासो समेत गरेकी छिन्। प्रधानमन्त्री बेन्नेटले मंगलवार केरिनले सम्मेलन केन्द्रमा प्रवेश नपाए आफू पनि सम्मेलनमा सहभागी नहुने बताएका छन्।

सोमवारको कार्यक्रममा केरिनले सम्मेलन केन्द्र बाहिर दुई घण्टा कुरेकी थिइन्। सम्मेलन स्थल भित्र जान हिँडेर जानु पर्थ्यो। अरु विकल्पहरु ह्वीलचेयर मैत्री थिएनन्। भित्र जाने उपाय ननिस्किएपछि उनी ८० किलोमिटर टाढा रहेको होटल फर्केकी थिइन्।

केरिनको गुनासोसँगै इजरायलका लागि बेलायती राजदूत नेल विगनले सम्मेलन समावेशी हुनुपर्ने र सबैले प्रवेश पाउने वातावरण हुनुपर्ने भन्दै माफी मागेका छन्।

बेलायतका विदेश मन्त्री जेम्स क्लेभर्लीले मन्त्री केरिनले सम्मेलन केन्द्र प्रवेश गर्न नसक्नु निकै दु:खद् रहेको प्रतिक्रिया दिएका छन्। उनले कोप २६ सबैको प्रवेशको लागि रहेको भन्दै केरिनसँग भेटेर कुरा गर्ने बताएका छन्।  

उक्त घटनाबारेमा इजरायली प्रधानमन्त्रीले बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई पनि जानकारी गराएका छन्। दुई प्रधानमन्त्रीबिचको भेटमा केरिनलाई पनि निमन्त्रणा दिइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell