PahiloPost

Apr 9, 2026 | २६ चैत्र २०८२

एन्फासँग सन् २०२४ सम्मको करारमा अलमुताइरी, 'कम्फर्टेबल महसुस गरिनँ भने बस्दिनँ'



पहिलोपोस्ट

एन्फासँग सन् २०२४ सम्मको करारमा अलमुताइरी, 'कम्फर्टेबल महसुस गरिनँ भने बस्दिनँ'

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) र प्रशिक्षक अब्दुल्लाह अलमुताइरीबिच सन् २०२४ को अन्त्यसम्मको लागि सम्झौता भएको छ। नोभेम्बर १ बाट लागू हुने गरी सम्झौता भएको प्रशिक्षक अलमुताइरीले पत्रकार सम्मेलन गर्दै जानकारी दिएका छन्। 

यसअघि पनि पटकपटक राजीनामा दिने घोषणा गरेका अलमुताइरीले तीन वर्षका लागि सम्झौता भएपनि नेपालमा बस्दा काम गर्ने क्रममा सुबिस्ता महसुस नगरे नेपाल छाड्ने समेत बताए। 

'यदि मैले कम्फर्टेबल महसुस गरिन भने बस्दिन' प्रशिक्षक अलमुताइरीले भने।

उनले नेपाली फुटबलमा गर्ने आगामी योजनासमेत सार्वजनिक गरेका छन्। उनले यसपटकको एसियन कपमा क्वालिफाइ हुने भनेर झुटा आश्वासन दिन नसक्ने भन्दै अन्तिम चरणको शीर्ष १० टोलीमा नेपाललाई पनि उभ्याउने बताए। उनले योजनामा यस दौरान पर्न आउने मैत्रीपूर्ण खेलहरुदेखि अभ्याससम्मका सेड्युललाई समावेश गरेका छन्।

उनले यसअघि 'सेट' गरेका आफ्ना तीनवटा लक्ष्य पूरा गरेको दाबी गरे। जसमा साफ च्याम्पियनसिपको फाइनल पुग्ने, एसियन कप क्वालिफायर्सको अर्को चरणमा प्रवेश गराउने र टिमलाई बलियो बनाउने रहेको थियो।

नजिकिँदै गरेको शहीद स्मारक ए डिभिजन लिगमा कुनै खेलाडीमा इन्ज्युरी नहोस भन्ने आफ्नो प्रार्थना रहेको समेत उनले बताए।

बेलाबेला विवादमा परिरहने उनले आफ्नो व्यक्तिगत जीवनबारे नबोल्न आग्रह गरेका छन्।

'कोचले किन कपाल काटे? कोचले किन जिन्स लगाए? ... यहाँ मेरो काम फुटबल प्रशिक्षकको हो' आफ्नो कामलाई सम्मान गर्न आग्रह गर्दै उनले भने।

स्पष्ट बोल्ने शैली र नेपाली फुटबलमा राम्रो छाप छाडेका अलमुताइरीले यसअघि पटकपटक राजीनामा दिने नेपाल छाड्ने घोषणा गरेका थिए।

पछिल्लो पटक साफ च्याम्पियनसिपका क्रममा पनि उनले अब नेपाल नफर्कने टिप्पणी गरेका थिए। यद्यपि, एन्फा र कतार फुटबल एसोसिएसनबिचको समन्वयमा उनी नेपाल फर्कन तयार भएका हुन्।

नेपाल फर्कन फेरि तयार हुनुको पछाडि समर्थकहरुको माया र खेलाडीसँगको सम्बन्ध रहेको अलमुताइरीले दाबी गरे। त्यस्तै पहिलो करारमा भन्दा तलब वृद्धि गरिएको अलमुताइरीले स्वीकार गरे।

तर कति तलव भन्ने प्रश्नमा उनले भने : म मेरो तलबबारे श्रीमतीलाई पनि भन्दिन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell