काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चितवनको माडीमा रहेको राम मन्दिरमा पूजा गरेका छन्। एमाले भरतपुर महानगरपालिकाको प्रथम अधिवेशनका लागि सोमवार चितवन पुगेका ओली मंगलवार माडी पुगेका हुन्।
ओलीले माडीमा रहेको राम लक्ष्मणको मन्दिरमा पुगेर पूजा गरेका हुन्।
ओलीले आफू प्रधानमन्त्री भएका बेलामा भानु जयन्तीमा रामको जन्मभूमि अयोध्या भारतमा नभई नेपालको माडी क्षेत्रको अयोध्यापुरीमा भएको बताएका थिए।
उनको यो अभिव्यक्तिको आलोचना भएको थियो। उनले माडीमा राम मन्दिर बनाउने घोषणा गर्दै राम लक्ष्मण र हनुमानको प्रतिमा बनाएर बालुवाटारमा पूजा गरेर रथयात्रा गरेर माडी पुर्याएका थिए।
ओलीले चितवनको माडीलाई अयोध्या बनाउन योजना अगाडी बढाएका थिए। माडीमा ओलीलाई स्वागतका लागि कार्यक्रमको आयोजना गरिएको छ। ओली पुग्नेवितिकै सबैभन्दा पहिला रामको पुजा गर्न पुगेका थिए।
कम्युनिस्ट पार्टीका अध्यक्ष रहेका ओलीले यसअघि पशुपतिनाथमा जलहरी बनाउन रकम छुट्याएका थिए।
ओली यतिवेला चितवनमा केन्द्रीत भएर नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' विरुद्ध अभियान चलाइरहेका छन्। ओली प्रचण्डको चुनावी क्षेत्रमा केन्द्रीत रहेर उनी विरुद्ध बोल्दै आएका छन्। त्यस्तै चुनाव केन्द्रीत गरेर प्रचण्ड विरुद्ध चितवनमा एमालेले महाधिवेशन गर्दैछ।
