PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

'साथी' मा कुकुरलाई कसरी दिइयो मुख्य भूमिका?



लक्ष्मी बलायर

'साथी' मा कुकुरलाई कसरी दिइयो मुख्य भूमिका?

'अर्जुन, बाबुलाई बचा!'

'अर्जुन छिटो गर, बाबुलाई छिटो लिएर आइजा…'

ठूलो नदीमा बगिरहेको सानो बच्चातिर कुकुर दौडिरहेको हुन्छ। ती बच्चा जसलाई उनकै बुवा र सौतेनी आमाले खोलामा फालेका थिए। तिनै बच्चालाई बचाउन बसुन्धरा भुषालले कुकुरसँग गरेको अनुनय हो माथिको संवाद।

बच्चालाई खोलामा फालेको देख्ने बित्तिकै बसुन्धराको भरोसा हुन्छ - कुकुर। आत्तिएकी उनी कुकुरसँगै दौडिएर नदीमा पुग्छिन्। अनि बाकसलाई तान्दै खोला छेउमा ल्याउँछ कुकुरले। बसुन्धराले बाकसबाट बच्चालाई निकालेर रुदैँ अँगालोमा च्याप्छिन्।

अनि कुकुरलाई भन्छिन्, 'स्याबास् अर्जुन। आज त पशु भएर पनि मान्छेको जस्तो काम गरिस्। तर ती मान्छे भएर पनि तिनीहरुले पशुको जस्तो व्यवहार गरे। हे भगवान! अर्को जन्ममा मेरो अर्जुनलाई मान्छे भएर जन्माइदेउ।'

***

फिल्मको यो दृश्यले कुकुरको बफादारिता र इमान्दारितालाई झल्काएको छ। जुन फिल्म हो लक्ष्मीनाथ शर्मा निर्देशित 'साथी'। यही नै शुरुवाती भागले फिल्मलाई रोचक बनाएको छ। फिल्ममा राजेश हमाल, करिश्मा मानन्धर, गौरी मल्ल, निर शाह, बसुन्धरा भुषाल, मिथिला शर्मालगायतका कलाकारको भूमिका रहेको छ।

नेपाली फिल्ममा कुकुरलाई भूमिका दिएका अन्य उदाहरण पनि छन्। दयाराम दाहालको 'ढुकढुकी', दिनेश शर्माको फिल्म 'अन्त्य' र दिपक श्रेष्ठको निर्देशन रहेको फिल्म 'भाई' र  'पापी मान्छे' लगायतका फिल्ममा कुकुर प्रयोग गरेको पाइन्छ।

'साथी'मा कुकुर प्रयोग कसरी?

विसं २०५४ ताका। निर्देशक शर्माले 'साथी' कथाको स्क्रिप्ट लेख्न थाले। त्यसैबखत उनले कथामा कुकुर पनि राख्ने सोचे। मुख्य भूमिका रहने कुकुरको नाम राखे 'जंगे'। एउटा त्यस्तो कुकुर जसले बालकदेखि जवान हुँदासम्म साथीको जसरी साथ दियोस्।

विदेशमा पनि यसरी फिल्ममा कुकुर प्रयोग गरिन्थ्यो। शर्माकै शब्दमा नेपालमा भने खासै कुकुरलाई हिरोको जसरी नै प्रयोग गरिएको थिएन। नेपालमा खासै प्रयोग नगरेको देखेपछि आफूले प्रयोग गरेको बताउँछन् उनी।

खासै कुकुर र बिरालो मन नपराउने शर्माले कुकुरलाई नै मुख्य भूमिकामा राखेको कारणबारे खुलाए। 'व्यक्तिगत रुपमा खासै कुकुर मन पर्दैन। तर कुकुर बफादार घरपालुवा जनावर हो। मानिससँग पनि घनिष्ट सम्बन्ध भएको कारण मैले कुकुरलाई फिल्ममा मुख्य भूमिकामा राखेको हुँ।'

राजेशको 'साथी' को रुपमा प्रस्तुत हुने कुकुरको खोजी गर्न थालियो। तर नेपालमा सिनेमाको लागि कुकुर भेटाउन गाह्रो भएछ। किनकी ‘साथी’ मा सिनेमाको भाषा बुझेर सिनेम्याटिक तरिकाले काम गर्ने कुकुर चाहिएको थियो। जसले एक्सन र कटको भाषा बुझेर अभिनय गर्न सकोस्। अनि हिरोले दुस्मनहरुसँग झगडा गर्दा सहयोग गर्न सक्ने पनि।

‘नेपालमा खोजेजस्तो कुकुर पाउन गाह्रो भयो। नेपालमा अपराधिक कार्यमा तालिम दिइएको कुकुर मात्रै भेटायौँ। जसलाई चोरहरुलाई समात्न, लागूऔषध थाहा पाउन र गाडेको लास पत्ता लगाउनमात्रै प्रयोग गरिन्थ्यो। मैले प्रोड्युसरलाई कुकुर खोज्न आग्रह गरे,’ उनले भने।

खोज्दै जाँदा भारतको मदरासमा सिनेमाको तालिम दिइएको कुकुर भएको थाह भएछ। त्यसपछि मदरासबाट नै कुकुर ल्याइयो। साथमा मास्टर र परिचालकसहित। त्यो बेला नै ७०/ ८० हजार पारिश्रमिक दिएर कुकुर ल्याएको लक्ष्मीनाथ सम्झन्छन्।

कुकुरको नाम कसरी रह्यो अर्जुन?

कुकुरको नामसँग जोडिएको प्रसंग पनि रमाइलै रहेछ। 'फिल्मको स्क्रिप्ट अनुसार कुकुरको नाम थियो 'जंगे'। तर जंगे भनेर बोलाउदा टेर्दै टेरेन। बुझ्दै जाँदा त त्यो कुकुरको नाम त अर्जुन पो रहेछ,' भन्छन् 'तर मलाई कुकुरको नाम अर्जुन राख्ने कि नराख्ने दुविधा भयो। किनकी मेरा दुईजना मिल्ने साथीको नाम पनि अर्जुन थियो। अर्जुन श्रेष्ठ अनि अर्जुनजंग शाही। उहाँहरुको अपमान पो हुन्छ कि भन्ने लाग्यो।'

तर पछि समस्या समाधान नहुँदा उनले दुबै साथीलाई यो कुरा सुनाए। अर्जुन नाम राख्दा आफूलाई केही फरक नपर्ने भनेपछि अन्तत: कुकुरको नाम अर्जुन नै फिक्स भयो।

'अर्जुन' फिल्मको खोजेजस्तो नै पात्र भएको र काम गर्न निकै सजिलो भएको उनले अनुभव सुनाए। छायाङ्कनमा तीन महिना जति बसेको कुकुर परिवारजस्तै भएको उनी सुनाउँछन्।

फिल्ममा कुकुरको प्रयोग गर्दा फिल्मको व्यापारमा पनि सहयोग पुगेको उनी बताउँछन्। साथै फिल्ममा नौलो कुराको प्रयोग हुँदा दर्शकहरुले फिल्म निकै मन पराएको उनको भनाई छ। तर फिल्म रिलिज हुँदा उनलाई राजेश हमालभन्दा कुकुरलाई बढी पैसा दिएको आरोप लागेको रहेछ। तर त्यो कुरा झुटो भएको उनले प्रस्ट पारे।

बसुन्धरा भुषालले पनि फिल्म साथीलगायत अन्य फिल्ममा कुकुरसँग अभिनय गरिसकेकी छिन्। कुकुरदेखि निकै डर लाग्ने बताउने बसुन्धरा तालिम लिएको कुकुरसँग काम गर्न भने सजिलो भएको बताउँछिन्।

नेपालमा कुकुरलाई लिएर धेरै फिल्म बने तापनि 'साथी' फिल्ममा कुकुरको प्रयोग निकै राम्रो भएको उनको तर्क छ। कुकुर प्रयोग गर्नु नै फिल्मको लागि प्लस प्वाइन्ट भएको उनले बताइन्। तर कुकुरले अंग्रेजी बुझ्ने भएकाले सुरुमा भने केही समस्या भने भएको रहेछ।

तर फिल्म छायाँकन गर्दा एउटा घटना भने उनी सम्झिन्छिन्। छायाँकनकै बेला बाकसमा राखिएको कुकुरलाई बिर्तामोडको माई खोलामा बगाइयो। बाकससँगै डोरी पनि थियो। तर त्यो डोरी नदीमा डुबेछ। जसकारण कुकुरले डोरी भेटाउन सक्दैन। कुकुरले खुट्टाले बाकस तान्दा बाकस नै पल्टिएछ। बच्चा नदीमा डुब्यो।

जुन घटना सम्झदा बसुन्धरालाई अझै पनि रुन मन लाग्छ। भन्छिन्, ' बच्चा नदिमा डुब्दा छायाङ्कन टिम नै नदीमा गयौँ। उता बच्चाको आमा रुदैँ थिइन्। सबैले खोज्दा बच्चा नै भेटिएन। निकै डर लाग्यो। पछि खोज्दा बच्चा सकुसल नै भेटियो। त्यो त बच्चाको दोस्रो जन्म हो।'

बच्चा त भेटियो तर आमाले सुटिङको लागि बच्चा दिन मानिनन्। सबैले सम्झाएर बल्ल बच्चा दिन मानेको र सुटिङ सम्भव भएको भुसालले बताइन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell