PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

मर्मतपछि चल्न थाल्यो वीरगंज घण्टाघरको घडी, मेयर सरावगी भन्छन्, 'अब बन्द हुदैन'



राधेश्याम पटेल

मर्मतपछि चल्न थाल्यो वीरगंज घण्टाघरको घडी, मेयर सरावगी भन्छन्, 'अब बन्द हुदैन'

वीरगंज : वीरगंजको एतिहासिक धरोहरको रुपमा चिनिने घण्टाघरका घडीहरु पुनः सञ्चालनमा आएका छन्। वीरगंजको मुटु मानिने घण्टाघरको चार वटै सिको कम्पनीको घडी मर्मतपछि चल्न थालेको वीरगंजका मेयर विजयकुमार सरावगीले जानकारी गराए। नेपाली यूवा उद्यमी मञ्च वीरगंज च्याप्टरको प्राविधिक सहयोगमा घण्टाघरको घडी सञ्चालनमा आएको हो। पाँच दिनको सफल परीक्षणपछि धनतेरसको दिनदेखि घडी औपचारिक रुपमा सञ्चालनमा आएको जानकारी गराइएको थियो।

घडी सञ्चालनको लागि साढे ३ लाख खर्च गरिएको छ। अगामी दिनमा पनि घण्टाघरको मर्मत सम्भार तथा आकर्षक बनाउन वीरगंज महानगरको योजना रहेको जनाइएको छ। ‘घडी मर्मत गर्ने कम्पनीले नवीकरण शुल्क पाएको थिएन, जसले गर्दा घडी केही वर्षदेखि बन्द थियो,' उनले भने, ‘अब घडी बन्द हुदैन।’ उनले महानगरको कार्यपालिकाको बैठकबाट निर्णय गरेर हरेक वर्ष मर्मत संभार खर्च दिलाउने प्रतिवद्धतासमेत जनाए। एनवाईइएफका वीरगंज अध्यक्ष अनुप अग्रवालका अनुसार हाम्रो समाजमा घडी बन्द हुनुलाई अशुभ मानिने गरेकोले यस विषयमा गम्भीर बनेर घडी सञ्चालन गर्न आफुहरु अग्रसर भएको बताए।

उनले वीरगंजमा जोकसैलाई भेट्न घण्टाघर बोलाउने गरेको, जो आएपनि सेल्फी खिच्ने तथा वीरगंजको घण्टाघर सबैमा प्रख्यात रहेकोले यसलाई संरक्षण र प्रवद्र्धन गरी आकर्षक बनाउनु पर्ने बताए।

२०३३ सालमा तत्कालीन क्षेत्रीय प्रशासक लक्ष्यबहादुर गुरुङ र स्थानीय जनताको सक्रियतामा घण्टाघर बनेको थियो। ४५ वर्ष पुरानो घण्टाघरमा २०७२ सालको भूकम्पमा आंशिक क्षति पुगेको कारण हाल घण्टाघरको टावरमा चढेर वीरगंज नगर अवलोकनको लागि प्रतिबन्ध लगाइएको छ। तीन वर्षमा निर्माण भएको घण्टाघरको लागि जापानको योनागो सहरका विद्यार्थीले खाजा खर्चबाट रकम जम्मा गरी चार वटा सिको कम्पनीको घडी जेसिस संस्थामार्फत वीरगंज जेसिसलाई हस्तनान्तरण गरेका थिए। ‘वीरेन्द्र प्रभात घडी’ नाम दिइएको घण्टाघरको घडीले पहिले समय बताउन आवाज पनि दिइन्थ्यो।

तर अहिले उक्त अवाज फकाउन केही समय लाग्ने घडी मर्मत गर्ने भारतको केरलास्थित टुल एण्ड टाइम इन्जिनियरिङ कम्पनीका नेपाल प्रतिनिधि हृदयराज गौतमले बताए। उनका अनुसार कम्पनीले निश्चित रकम लिएर ग्यारेन्टी पिरियड बढाउने गरेको छ। प्राविधिक र पार्टस् खोज्ने झन्झट कम्पनीले नै बेहोर्छ। स्थानीय तह गठन हुनुअघि घडी मर्मत गरेर चलाउने जिम्मा नेपाल टेलिकमलाई दिइएको थियो। उसले मर्मत गराएर केही समय सञ्चालन गरे पनि निरन्तरता दिन सकेको थिएन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell