तालिवानले अफगानिस्तानमा विदेशी मुद्राको प्रयोगमा रोक लगाएको छ। तालिवानले आर्थिक अवस्था र राष्ट्रिय हितलाई मध्यनजर गर्दै सबैलाई अफगानी मुद्रा प्रयोग गर्न निर्देशन दिएको हो।
अफगानिस्तानमा धेरै संख्यामा अमेरिकी डलरको प्रयोग हुँदै आएको थियो। पाकिस्तानसहित सीमावर्ती क्षेत्रमा समेत अफगानीहरुले डलरको प्रयोग गर्थे। विदेशी मुद्राको प्रयोग गर्नेलाई कारवाही गर्ने चेतावनी तालिवानले दिएको छ।
तालिवानको उक्त कदमले अफगानिस्तानमा थप आर्थिक संकट आउन सक्ने बताइएको छ। तालिवानले शासन आफ्नो हातमा लिएपछि विदेशी सहयोग रोकिनुका साथै विदेशमा रहेको रकम समेत 'फ्रिज' गरिएको छ। जसकारण अफगानिस्तान आर्थिक संकटसँग गुज्रिरहेको छ। त्यहाँ खाद्यान्नको मूल्यमा अत्याधिक वृद्धि भएको छ। सामान किन्न मानिसहरुले बालबालिकाहरुलाई बेच्न समेत थालेका छन्।
