ग्लास्गो : स्कटल्याण्डको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप२६) अन्तर्गत दुई दिने विश्व नेताहरुको शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतका रक्षामन्त्री बेन वालेसले साइडलाइन बैठक गरेका छन्।
सम्मेलनको दोस्रो दिन नोभेम्बर २ मा भएको भेटमा रक्षामन्त्री वालेसले प्रधानमन्त्री देउवासँग बेलायती गोर्खा सैनिकको गुनासो र हितका साथै नेपाललाई कोरोना विरुद्धको भ्याक्सिनमा बेलायतको सहयोगका विषयमा पनि छलफल गरेको भेटमा सहभागी परराष्ट्र सचिव भरतराज पौड्यालले जानकारी दिए।
त्यसअघि प्रधानमन्त्री देउवा बेलायती प्रधानमन्त्री बोरिस जोनसन र स्कटल्याण्डका प्रथम मन्त्रीले सीमित राज्य र सरकार प्रमुखहरूको स्वागतमा आयोजना गरेको स्वागत समारोहमा सहभागी भएका थिए। सो अवसरमा प्रधानमन्त्री देउवाले वन तथा भूउपयोग व्यवस्थापनसम्बन्धी उच्चस्तरीय कार्यक्रमलाई प्रतिष्ठित प्यानलका रूपमा सम्बोधन गर्दै स्वैच्छिक कार्बन बजार र उत्सर्जन घटाउने वन औंजारमा नेपालको चासो रहेको धारणा व्यक्त गरेको भेटमा सहभागी वन तथा वातावरण मन्त्रालयका सचिव डा पेमनारायण कँडेलले जानकारी दिए।
प्रधानमन्त्री देउवासँग विश्व बैंक समूहका प्रबन्ध निर्देशक मारी पाङ्गेष्टुले नेपाललाई हरित विकास, जलवायुजन्य असर र कोभिड–१९ रोकथाममा सहयोग गर्नेलगायत विषयमा छलफल गरेको भेटमा सहभागी अर्थ सचिव मधुकुमार मरासिनीले जानकारी दिए।
त्यस्तै मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)की डेपुटी सीईओ एलेक्सिया लाटोर्टुले प्रधानमन्त्री देउवासँग भेट गरी नेपाललाई प्रदान गरेको एमसिसी कम्प्याक्ट अनुदानका विषयमा छलफल गरेका थिए।
प्रधानमन्त्री देउवाले मंगलबार नै आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदी, श्रीलंकाका राष्ट्रपति गोटाबय राजपाक्षे र मंगोलियाका राष्ट्रपति उखना खुरेलसुख्दसँग द्विपक्षीय भेटवार्ता गरेका थिए।
अन्तर्राष्ट्रिय समुद्री संगठनका महासचिव किटैक लिमले पनि प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गरी समुद्री क्षेत्रमा नेपालीलाई रोजगारीका नयाँ अवसर प्रदान गर्न सकिने सम्बन्धमा कुराकानी गरेका थिए।
प्रधानमन्त्री देउवाले आज स्कटल्याडको इडिनवर्गस्थित रोयल बोटानिक गार्डेनको भ्रमण गरी त्यहाँ भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सो अवसरमा उनले नेपाली बगैँचामा बिरुवा पनि रोप्ने कार्यक्रम रहेको बताइएको छ।