PahiloPost

Apr 9, 2026 | २६ चैत्र २०८२

बेलायतबाट फर्केपछि विमानस्थलमा नेपालसम्बन्धी प्रश्न नगर्न प्रम देउवाको आग्रह : 'फ्रेन्डली क्वेसन' गरेको भन्दै पत्रकारलाई दिए धन्यवाद



पहिलोपोस्ट

बेलायतबाट फर्केपछि विमानस्थलमा नेपालसम्बन्धी प्रश्न नगर्न प्रम देउवाको आग्रह : 'फ्रेन्डली क्वेसन' गरेको भन्दै पत्रकारलाई दिए धन्यवाद
फोटोहरु : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धन पुरै समय रहने बताएका छन्। बेलायतबाट आज स्वादेश फर्कने क्रममा त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्।

प्रधानमन्त्री देउवाको ग्लास्गो भ्रमणको फेहरिस्त प्रस्तुत भएपछि प्रश्नोउत्तरको सेसन शुरु भएको थियो। पत्रकारले प्रश्न राख्न शुरु गर्नु अघि नै देउवाले कोप २६ सम्बन्धीमात्र प्रश्न राख्न आग्रह गरेका थिए।

'यो कोप २६ सम्बन्धीमात्र क्वेसन गर्नुहोला,' शुरुमै देउवाले भने।

तर शुरुमै सत्तारुढ गठबन्धन कति समयसम्म रहन्छ भन्ने सञ्चारकर्मीको जिज्ञासा आयो। त्यसैगरी प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको विवाद प्रकरणमा शीर्ष नेताले कुनै भनाई नराखेको प्रश्न पनि खप्टियो। त्यसपछि देउवाले भने, 'मैले नेपालको विषयमा कुरा गर्न चाहन्न भनेकै हो। एउटैमात्र जवाफ दिन्छु। गठबन्धन पुरै समय रहन्छ। कुनै शंका नगरे हुन्छ।' प्रधानन्यायाधीश जबराको विवाद प्रकरणमा देउवाले कुनै भनाई राखेनन्।

देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको प्रष्ट पारे। दुई पक्षीय भेटमा भारतबाट सद्भाव प्राप्त भएको देउवाको भनाई थियो।

त्यसैगरी उनले गैरआवासीय नेपाली संघ(एनआरएन)को महाधिवेशनमामा सत्ताले कुनै हस्ताक्षेप नगरेको दाबी गरे।

उनले पत्रकारहरुलाई अन्तिममा मैत्री प्रश्न गरेको भन्दै धन्यवादसमेत दिए। देउवाले भने, 'फ्रेन्डली क्वेसन गर्नुभएकोमा धन्यवाद।'

प्रधानमन्त्रीको टोलीलाई स्वागत गर्न गृहमन्त्री बालकृष्ण खाण, परराष्ट्रमन्त्री डा नारायण खड्का, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, रक्षामन्त्री डा मीनेन्द्र रिजाललगायत विमानस्थलमा पुगेका थिए।

प्रधानमन्त्री देउवा यही कात्तिक १५ र १६ गते संयुक्त अधिराज्यको ग्लास्गो नगरमा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) मा भाग लिन शुक्रवार त्यसतर्फ प्रस्थान गरेका थिए।    

प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डलमा वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, वन तथा वातावरण मन्त्रालयका सचिव डा प्रेमनारायण कँडेल, अर्थमन्त्रालयका सचिव मधुकुमार मरासिनी, गृहमन्त्रालयका सचिव टेकनारायण पाण्डे, राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी, राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष डा माधवबहादुर कार्की सहभागी थिए। वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव कोप–२६ मा सहभागी रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell