PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

रमेश विकलको ९४ औं जन्मजयन्तीको उपलक्ष्यमा बाल प्रतिभाहरू पुरस्कृत 



पहिलोपोस्ट

रमेश विकलको ९४ औं जन्मजयन्तीको उपलक्ष्यमा बाल प्रतिभाहरू पुरस्कृत 

काठमाडौं : आख्यानकार तथा बाल साहित्यकार रमेश विकलको ९४ औं जन्मजयन्तीको उपलक्ष्यमा बिहीवार राजधानीमा बालप्रतिभा पुरस्कार वितरण र सम्मान अर्पण समारोह आयोजना गरिएको छ।

कार्यक्रममा रमेश विकल साहित्य प्रतिष्ठान तथा अभिनव साहित्य समाजले संयुक्त रूपमा केही समय अघि आयोजना गरिएको कविता प्रतियोगिताका विजयीहरूलाई नगद पुरस्कार सहित सम्मान गरेको हो।

प्रतियोगितामा पहिलो स्थान प्रविज्ञा नेपालले हासिल गरेकी थिइन्। विभूति अधिकारी दोस्रो हुँदा तेस्रो स्थान समर्पण न्यौपानेले हासिल गरेका थिए। दिलासा तिवारी र बन्दना जैसवालले संयुक्त रूपमा सान्त्वना पुरस्कार पाए। पुरस्कारको राशी क्रमश : नगद ५ हजार ३ हजार र २ हजार रहेको छ। त्यस्तै, सान्त्वना पुरस्कारको राशी नगद १ हजार रहेको छ।

पुरस्कृत बाल प्रतिभाहरूलाई गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, रमेश विकल साहित्य प्रतिष्ठानका अध्यक्ष वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेसहित प्रतिष्ठानका पदाधिकारीहरूले सम्मान गरेका थिए।

कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष प्राध्यापक डाक्टर हेमनाथ पौडेलले साहित्यकार विकलको बहुआयामीक व्यक्तित्वबारे प्रकाश पारेका थिए। प्रतिष्ठानका अध्यक्ष घिमिरे सहित वरिष्ठ उपाध्यक्ष केके कर्माचार्य, महासचिव विजय चालिसे, वरिष्ठ सदस्य मातृका पोखरेल अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे लगायतले मन्तव्य राखेका थिए। कार्यक्रममा समाजका विभिन्न क्षेत्रमा प्रतिनिधित्व गर्ने साहित्यप्रेमीहरूको उपस्थिति रहेको थियो।

यसअघि आरूबारी चोकमा रहेको विकलको अर्धकद तथा र प्रतिष्ठान प्राङ्गणमा रहेको पूर्णकदको शालिकमा प्रतिष्ठानका पदाधिकारीहरू सहित प्रमुख अतिथि, अतिथि लगायतले माल्यार्पण गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell