PahiloPost

Sep 19, 2024 | ३ असोज २०८१

नेवार समुदायले खोकनामा गरे सामूहिक म्हपूजा

नेवार समुदायले खोकनामा गरे सामूहिक म्हपूजा

रोजन श्रेष्ठ/पहिलोपोस्ट


नेवार समुदायले आज म्हपूजा गरेका छन्। नेपाल संवतको पहिलो दिन नेवार समुदायले म्हपूजा (आफ्नो शरीरको पूजा आफैँ गर्ने) गर्ने परम्परा छ। बिहानै न्हूदँ (नयाँ वर्ष) नेपाल संवत् ११४२ को स्वागत गर्दै नेवारहरुले बेलुकी म्हपूजा गरेका हुन्।

आज खोकनामा सामूहिक म्हपूजा आयोजना गरिएको थियो। पूजामा ललितपुर महानगरपालिकाका उपमेयर गीता सत्याल पनि सहभागी थिइन्।

म्हपूजाका लागि सबैभन्दा पहिले मण्डप बनाएर तेलको घेरा, पीठो, अक्षता, लावा, मास र कालो भटमास लगायतले घेरा हालिन्छ। मण्डप तयार भइसकेपछि घरको मूलीदेखि लस्करै मण्डप अघि घरपरिवारका सबै सदस्य बसेर पूजा गर्ने परम्परा रहेको छ।

मण्डपमा बिमिरो, भोगटे, सुन्तला, ओखर, कटुस, स्याउ, अमला, बयर लगायतका फलफूल राख्ने गरिन्छ। म्हपूजामा र भाइटीकामा नेवार समुदायले काँचो धागोले बनाएको जजंका अनिवार्य हुन्छ।

म्हपूजा गर्दा पहिले गणेशलाई पूजा गरिन्छ। यो पूजा घरको नकीं (मूली महिला) ले गर्ने परम्परा छ। नकींले फूलमालासँगै अण्डा, माछा र अयला (रक्सी) सगुन  दिने गर्छिन्। म्हपूजा गर्ने व्यक्तिलाई दिइने सगुनमा अण्डाले आकाश तत्व, माछाले जल तत्व, मासुले स्थल तत्व तथा अयलाले तेज तत्वको प्रतिनिधित्व गर्ने विश्वास गरिन्छ। घरमा प्रयोग हुने कुचो, नाङ्लो, चुलो, गाग्रीलगायतका सामानलाई समेत पूजा गर्ने प्रचलन रहेको छ।

स्वन्ति (तिहार) अन्तर्गतको म्हपूजा गैरनेवार समुदायबीच पनि सुपरिचित हुँदै गएको छ। आजै कीर्तिपुर, बनेपा, पाटन दरबार लगायतका स्थानमा सामूहिक म्हपूजा आयोजना गरिएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell