आईसीसी टी २० विश्वकप अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा भारतले स्कटल्याण्डमाथि सहज जित निकालेको छ। दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा सम्पन्न खेलमा भारतले ८ विकेटको सहज जित निकालेको हो।
टस हारेर ब्याटिङमा उत्रिएको स्कटल्याण्डले १७.४ ओभरमा सबै विकेट गुमाउँदै ८५ रन बनाएको थियो। ८६ रनको लक्ष्य पछ्याएको भारतले ६.३ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो।
सुरुवाती ब्याटिङमा उत्रिएको स्कटल्याण्डका लागि ओपनर जर्ज मुन्सेले सर्वाधिक २४ रन बनाउँदा मिचेल लिएस्कले २१ रन बनाए। त्यस्तै कलुम म्याकलियोडले १६ रन बनाउँदा म्याक वाटले १४ रन बनाए। त्यसबाहेका ब्याट्सम्यानहरुले दोहोरो अंकको रन जोड्न सकेनन्।
बलिङतर्फ भारतका मोहम्मद शमी र रवीन्द्र जडेजाले समान ३/३ विकेट लिँदा जसप्रीत बुमराहले २ विकेट र रविचन्द्रन अश्विनले १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको भारतले केएल राहुलले सर्वाधिक ५० रन र रोहित शर्माले ३० रन बनाउँदा लक्ष्य पुरा गर्यो।
जितसँगै भारत ४ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ। आजै सम्पन्न अर्को खेलमा नामिबियामाथि ५२ रनको जित निकालेको न्युजिल्याण्ड ६ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ भने शीर्षस्थानमा ८ अंक जोडेको पाकिस्तान छ।
