वातावरण अभियन्ता ग्रेटा टुनबर्गले स्कटल्याण्डको ग्लास्गोमा भएको जलवायु परिवर्तन सम्बन्धी कोप२६ सम्मेलन असफल भएको बताएकी छिन्। ग्लासगोमा आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै ग्रेटाले कोप२६ असफल भएको भन्दै जलवायु परिवर्तनको असर रोक्न तत्काल धेरै काम गर्नुपर्ने आवश्यक्ता रहेको बताएकी हुन्।
जलवायु परिवर्तनका कारण विश्व नै जलिरहेको भन्दै उनले शक्तिमा रहेका मानिसहरु भने आलिशान जीवन बिताइरहेको टिप्पणी गरिन्।
प्रदर्शन अघि विद्यार्थीसहित हजारौंको संख्यामा मानिसहरुले मार्चपास गरेका थिए। थनबर्गबाट प्रेरित भएर खोलिएको फ्राइडे फर फ्युचर स्कटल्याण्डले उक्त सभा आयोजना गरेको थियो।
नोभेम्बर १ र २ मा स्कटल्याण्डको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) आयोजना भएको थियो।उक्त सम्मेलनमा विश्व नेताहरुले शिखर सम्मेलनमा सम्बोधन गरेका थिए। विश्वका नेताहरुबिच सन् २०३० सम्म वनविनाश रोक्ने सहमति भएको थियो। यस्तै, रुख काट्ने क्रिया रोक्न धेरै कम्पनीहरुले सहमति जनाएका थिए।
सम्मेलनकै समयमा ग्रेटा ग्लास्गो पुगेकी थिइन्। सम्मेलनभर उनी विभिन्न प्रदर्शनमा सहभागी भएकी थिइन्। वातावरण संरक्षण र जलवायु परिवर्तनका लागि भन्दै ग्रेटाले विद्यालय बहिष्कार गर्दै स्वीडेन संसद बाहिर प्रदर्शन गरेकी थिइन्। ९ कक्षामा पढ्दै गर्दा ग्रेटाले २० अगस्ट २०१८ बाट सेप्टेम्बर ९ मा हुन लागेको (भएको) स्वीडेनको आम चुनावसम्म स्कूल नजाने निर्णय गरेकी थिइन्। उनले स्कूलको समयमा हरेक दिन संसद बाहिर बसेर 'स्कुल स्ट्राइक फर क्लाइमेट' लेखिएको कार्डबोर्ड प्रदर्शन गरिन्। स्विडिस सरकारले पेरिस सम्झौताअनुसार कार्बन उत्सर्जन घटाओस् भन्ने उनको माग थियो। त्यसपछि उनको अभियानले विश्वभर चर्चा पाएको थियो।
