PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कुइरेनी मिस (कथा)



पहिलोपोस्ट

कुइरेनी मिस (कथा)

  • तेजेन भट्टराई –  

स्कूलमा कुइरेनी मिस आउने गाँइगुँइ हल्ला चल्यो। हाम्रो स्कूलमा पहिले कहिल्यै विदेशी सर मिस नभएकोले पूरा विश्वास चाँहि लागेको थिएन। तर, सत्य रहेछ। हेडसरले नै कक्षामा आएर अमेरिकाकी नयाँ मिस आउने जानकारी दिँदै स्वागतको लागि विद्यार्थीहरुले फूल ल्याउन सूचना गर्नुभयो। सरको सूचनाले हामी विद्यार्थीहरु बिचमा झनै खैलावैला मच्चायो।

कस्ती हुनुहोला कुइरेनी मिस? कसरी पढाउनुहोला? नेपाली बोल्न आँउछ कि आउँदैन होला? आदि इत्यादि मनमा खेल्दै रहे।

घरमा गएर बुवालाई सुनाएँ।

'केटा अब सेता फिला हेर्ने भइस्,” बुवाले सधैं झै गिल्ल्याउन बाँकी राख्नुभएन।

भोलिपल्ट स्कुल हिँड्नु अघि घरमाथिको फूलबारीबाट तिहारमा उव्रेका सयपत्रीका दुई–चार थुँगाहरु टिपेर झोलामा हालेँ।

प्रार्थनासभा हुँदैगर्दा कुइरेनी मिस स्कुल आइपुग्नु भयो। हाम्रा भलिबलमा सट हान्ने सुइरे सरभन्दा पनि अग्ली हुनुहुँदो रहेछ मिस त! टाउकोमा छत्रे टोपी, आखाँमा डोरी सहितका कालो चस्मा, खुट्टामा जुत्ता–मोजा, गोरी न गोरी – त्यसै भन्नुभएको हैन रहेछ बुवाले।

अंग्रेजी सरले अंग्रेजीमा के के भन्नुभयो, सबैले ताली पड्काए। विद्यार्थीले आफूले लगेको फूलको गुच्छा दिए। मैले पनि हात कमाउँदै झोलाबाट सयपत्रीका थुँगाहरु झिकेँ र दौडदै गएर मिसको हातमा थमाएँ र अझ छिटो दौडदै फर्किएँ। मिसको अनुहार हेर्ने साहस आएन।

मिस कतिबेला कक्षामा आउनुहोला र पढाउनुहोला भन्ने आशमा मेरा आँखा ढोकातिर सोझिइरहे। बाहिर निस्केका बेला सरहरुको अफिसतिर पनि आँखा लगाउन छुटाइन। तर, मिसको कुनै गतिविधि देखिएन। त्यस दिन मिस पढाउन आउनु भएन। सायद, कतै गइसक्नु भएको थियो, हामीले पत्तै नपाई।

कुइरेनी मिसको नजिक जाने, उनको बोली सुन्ने र उनको कक्षामा बस्ने मेरो चाहना पूरा हुने छाँट देखिएन।

कत्रो उत्साह बोकेर स्कुल गएको म निराश हुँदै घर फर्किएँ। खाजालाई भुटेको मकै भटमास राखिदिनु भएको रहेछ ममीले। लात्तीले दलिन छुने प्रयास गर्दै मकै – भटमास खाइरहेको थिएँ, यसो हेर्छु त कुइरेनी मिस र हेडसर त हामै घर पो आइपग्नु भएछ। एक छिन त अत्ताल्लिएर के गर्ने, कसो गर्ने भएँ।

'नमस्ते सर'

मेरो हात आफैँ जोडिए।

'नमस्ते बाबु। बुवा खै त?,' सरले सोध्नुभयो।

बुवा हुलाकमा काम गर्नुहुन्थ्यो। घर आइपुगिसक्नु भएको थिएन।

'घर आइपुग्नु भएको छैन। आउनेबेला भयो।'

सर र मिस म बसेकै खाटमा बस्नु भयो। म थालको मकै–भटमास लुकाउन भित्र गएँ।

केही छिनमै कुइरेनी मिसलाई हेर्न धेरै केटाकेटी र केही ठूला मान्छे पनि भेला भइसकेका थिए।

कुइरेनी मिस 'नमस्टे' भन्दै हात जोडिरहनु भएको थियो। गाउँलेहरु लाज मान्दै नमस्ते फर्काइ रहेका थिए। मिसलाई अलिअलि नेपाली भाषा पनि आउँदो रहेछ।

एकै छिनपछि मेरो बुवा आइपुग्नुभो। र, त्यसको केही समयछि ममी पनि।

'जाउँ बावु घाँस काट्न' ममीले अह्राउनुभयो।

मलाई जान मन त थिएन तर त्यो मेरो सधैंको काम थियो। र, नगई सुख थिएन। भित्र गएर लुकाएको मकै–भटमास आस्कोटको गोजीमा हालेर जस्केलाबाट निस्केँ।

हेडसर र कुइरेनी मिस किन हाम्रो घरमा आएका होलान् भनेर सोच्दै घाँस काट्न थालेँ। घाँस काटेर गोठमा पुर्‍याएर आराम गर्दै थिएँ, बुवा पनि त्यहीँ पुग्नुभएछ।

 'बुवा, हेडसर र कुइरेनी मिस किन आ’का?

‘अब, सधै सेता तिघ्रा हेर्नपाउने भइस् केटा,’ बुवाले फेरि जिस्क्याउनु भयो।

कुरा के रहेछ भने हेडसर कुइरेनी मिसका लागि बस्ने ठाउँको जोहो गर्न आउनुभएको रहेछ। हाम्रो मतान घर रितै थियो। मिस त्यहीँ बस्ने हुनुभएछ। मेरो खुशीको सीमा रहेन। किनकि कुइरेनी मिस बस्ने घरको मान्छे म! कुइरेनी मिससँग आउने जाने म! कुइरेनी मिसलाई यताउति घुमाउँने म! सम्झँदा नै गर्वले मेरो छाती फुल्यो। 

कुद्दैकुद्दै घर पुगेँ। यसो चियाएर हेरेको – कुइरेनी मिसको लागि सुत्ने खाट र बिछ्यौनाको ब्यवस्था भइसकेको रहेछ। खाटमा चेन भएको ज्याकेट जस्तै लामो सिरक लमतन्न थियो। पछि थाहा भयो यसलाई स्लिपिङ ब्याग भन्दा रहेछन्।

अर्को दिन बिहानै मिसका लागि हाम्रो बुवा, कान्छा काका र अरु दुई–तीन जना मिलेर खाल्डो खनी बाँस र चित्राले बारेको ट्वाइलेट बनाउन थाल्नुभयो। 'मिसको सेतो तिघ्रा केटाकेटीले देख्छौ भनेर बनाएको यो बुझिस्,' बुवाले बाँस फुटाउँदै जिस्काउनु भयो।

'चियाएर हेर्लास् नि,' काकाले थप्नुभयो।

कुइरेनी मिस बसेपछि एक दुई दिन त हाम्रो घरमा केटाकेटीको भिड नै लाग्यो। मिसले हामी केटाकेटीलाई चक्लेट बाँड्नु हुन्थ्यो। हाम्रोतिर पाइनेभन्दा ठूला – कमला खालका चक्लेट। चक्लेटको लोभले होला तल्ला घरकी मन्दिरा र चेतना नाकमा सिँगानको मूठो निकाल्दै हाम्रै घरमा आइपुग्थे। एकदिन त रिसले एक/एक झापड पनि लगाइदिएँ।  केटाकेटी मात्र होइन ठूला मान्छे पनि निकै आउन थाले हाम्रो घरमा। मिससँग विभिन्न औषधी थिए। त्यो थाहा पाएपछि गाउँलेहरु कसैको चोट लाग्यो भने पट्टि लगाइमाग्न वा कोही बिरामी भयो भने औषधीको लागि पनि आउँथे।

पहिले पहिले त मिसको बोलीका कारण पढाएको बुझ्न गाह्रो। तर, चित्रहरु र अन्य सामानहरु पनि ल्याउनुहुने भएकाले मिसको कक्षा धेरै चाखलाग्दो हुन्थ्यो। अरु सर मिसको कक्षामा हल्ला गर्ने विद्यार्थी पनि कुइरेनी मिसको कक्षामा ध्यान दिन्थे। मिसको साथमा जहिले पनि पानीको बोतल हुन्थ्यो। पानी धेर खायो भने अग्लो भइन्छ कि भनेर कहिलेकाहीँ हामी जिस्किने गर्थ्यौं।

मिससँगै स्कुल जाने, आउने र मलाई प्यारो गर्ने भएकोले म आफू भित्रै निकै दंग थिए।

कुइरेनी मिस आफैँ खाना बनाएर खानु हुन्थ्यो। उहाँसँग मट्टितेलले चल्ने स्टोभ थियो। कहिलेकाहीँ कफी बनाएर हामीलाई पनि खुवाउनु हुन्थ्यो। मैले पहिलो पल्ट कफी त्यति बेलै देखेको हो। 

मिस आएको केही दिनपछि मिसलाई हामीसँग खाना खुवाउन बोलाउने निधो भयो। मैले पसलबाट मसला र नरिवल किनेर ल्याएँ। ममीले खिर पकाउनु भयो। मिसलाई बोलाइयो। तर, उहाँले त्यति मिठो खीर पनि मैले जति पनि खानु भएन।

स्कुल बिदा भएको बेला मिस ममीसँग काम गर्न जानुहुन्थ्यो। ममीलाई मिस भाउजु भन्नुहुन्थ्यो। मिसलाई काम गर्न त खासै आउदैनथ्यो तर रहर भने धेरै थियो। सायद ममीको काम देखेर दया लाग्थ्यो मिसलाई।

'नेपालमा केटी मान्छेहरु धेरै काम गर्ने तर अमेरिकामा केटाकेटी दुवै बराबरी काम गर्ने,' मिस भन्नुहुन्थ्यो। .

जे होस् मिस र ममीको दोस्ती खुवै जमेको थियो।

+++

कुइरेनी मिसको संगतले कमाएको मेरो सान धेरै लामो समय टिकेन। आएको पाँच छ महिनापछि एक दिन बिहानै मिसले आफ्नो झोला ठिक पारेर मलाई बोलाउनु भयो। र, आफ्नो देश फर्कन लागेको कुरा बताउनु भयो। ममी मामाघर जानु भएको थियो,  बुवा पनि खै कता जानु भएछ बिहानै उठेर।

'विजय, म अब अमेरिका फर्कने, आफ्नो आमासँग बस्ने, तिमी राम्ररी पढ्ने। ममीलाई भन्ने, ठीक छ?,' मिसले भन्नुभयो।

मैले 'ठिक छ' भनें।

मिस जाने कुरा सुनेर मलाई नराम्रो लाग्यो। आँखाभरी आँशु भरियो। मिसलाई किन अचानक घर जानु पर्‍यो भनेर सोध्न पनि सकिनँ।

उहाँ बिहानै हिँड्नु भयो। बुवा केही समय पछि घर आउनुभयो।

'बुवा, मिस त जानुभयो,' मैले निन्याउरो मुख लगाएर सुनाएँ।

बुवा केही बोल्नु भएन।

'किन एक्कासि जानु भाको होला नि मिस?,' मैले जिज्ञासा राखेँ।

'बुढाको याद आयो हाला नि,' बुवाले भन्नुभयो।

बुवाको यो अनुमानमा सत्यता थिएन। मिसले बिहे नभएको कुरा पहिले नै बताउनु भएको थियो।

'अमेरिकामा ढिलो म्यारिज फोटी इअर्समा', मिसले आधा अंग्रेजी र आधा नेपालीमा भनेको मैले बिर्सेको थिइन।

मिस गएपछि मलाई स्कुल जान पनि मन लागेन। मैले अलमल गरेको बुवाले ख्याल गर्नुभएछ।

'ओइ! स्कूल जादैनस् आज? कि कुइरेनीको पाद सुङ्न नपाँउदा स्कूल नै नजाने भइसकिस्?'

बुवालाई पनि कहिलेकाहीँ त कति छिटो रिस उठेको बा।

'लुगा लगाएर जा' बुवाले रिसाउँदै भन्नुभयो।

बुवाको कुरा सुन्दा मलाई बुवाको भन्दा पनि बढी रिस उठेर आयो। तर, केही नबोली ड्रेस लगाई झोला बोकेर हिँडे। बाटोमा एक्लै देखेपछि केही साथीहरुले मिसको बारेमा सोधे। केहीले झोला बोकेर गएको देखेका पनि रहेछन्।

त्यसदिन स्कूलमा पनि मिस एक्कासी हिँडेको बारे चर्चा भयो। हेडसरलाई जाने बेलामा आमा बिरामी भएकाले नफर्कने गरी गएको जानकारी गराएर नै हिँड्नु भएछ मिस। सायद हेडसरलाई भेटेर फर्किनुभयो होला।  हेडसरको घर बाटैमा पर्छ।

त्यस दिन घर फर्कँदा पनि एक्लो महसुस भयो। मिससँग हिँड्ने रहरमा अरु साथीहरुबाट निकै टाढिइसकेको रहेछु म। घर पुगेर लुगा फेर्दै थिएँ। कोठा बाहिरबाट बुवाको आवाज आयो।

'ओई, तेरी मिस स्कूल आइन? हिँडेकै रै'छे कि के हो? कि कता गइछे?'

'मिस त फर्कनु भएछ। अब नआउने नै रे। हेडसरलाई भनेर जानु'भाको रे,  मिसको आमा बिरामी हुनुभो रे'

'जाओस् जाओस्, कि पिर लागेको छ सेता तिघ्रा हेर्न नपाइने भइयो भनेर? तिघ्रा त राम्रै थे होइन? अलेली पढ्ने पनि भाको थिस्। तँलाई अमेरिका लान्छे कि भनेको त गइछे पो साच्चिकै। पिर नगर्, नगाकी भा पनि त्यही एक दुई वर्ष त बस्ने थि त्यो,' बुवाले मलाई सम्झाउने प्रयास गर्नुभयो।

दुई दिनपछि ममी पनि फिर्नुभयो माइतीबाट। मिस अचानक जानु भा'कोमा ममी पनि दु:खी हुनुभयो। 

मिस गएको केही दिनसम्म न्यास्रो लागिरह्यो। स्कूलमा पनि मिसको कुरा भइरह्यो। तर बिस्तारै सबैले बिर्सिंदै गए।

+++

एक महिना अगाडिको कुरा हो। मिस हिँडेको पाँच छ महिना भएको हुँदो हो। म आफ्नो होमवर्क सिध्याएर ओछ्यानमा निदाउन लागेको थिएँ। भित्र बुवा र बुवाका साथीहरुको जलपान चल्दै थियो। ममी नभएको मौकामा हाम्रो घरमा यस्तो जलपान धेरै चल्छ। म राई मितबाको घर गएर ग्यालेनमा कोदोको जल ल्याइदिन्छु। बुवा गाउँघरतिर गएर भालेको जोहो गर्नुहुन्छ। बुवाका साथीहरु पनि आउँछन्। मलाई पनि रमाइलै लाग्छ– मासु खान पाइने, त्यसमाथि जल ल्याइदिए बापत् बुवाबाट बीस/तीस रुपैयाँ पनि झर्ने। कहिलेकाहीं बुवाका साथीहरुले पनि दश बीस रुपैयाँ दिएर जाने।

सधैंको जलपानमा झैं भित्र खुब गफ भइरहेको थियो। जति जति ग्यालेनको जल कम हुँदै गयो, त्यतित्यति चर्को आवाज। चर्को हाँसो। गफका विषय विभिन्न। तर मलाई खासै चासो थिएन। जब गफमा कुइरेनी मिसको प्रसंग आयो, मेरा कान ठाडा भए।

'ए लक्ष्मण दाजु, यो धुर्वेलाई त्यो कुइरेनी मिस कान्ड सुनाइदिनु न।'

'हा.....हा....हा'

लक्ष्मण मेरो बुवाको नाम।

'कसरी पस्नुभयो अरे कुइरेनीको कोठामा?'

'हा.....हा....हा। ढोका खोलेरै पसेँ नि।'

'हा.....हा....हा'

'झ्यालबाट त होइन नि?'

'हा.....हा....हा'

'ढोकाको चुकुल लगा'को रै'नछ नि।'

'हा.....हा....हा'

प्रत्येक वाक्यपिच्छे हाँसोको फोहोरा।

'के हो दाजु? भाउजूले नाइनास्ती गर्नुहुन्छ कि क्या हो?'

'कुइरेनीहरु त माल हातमै राखेर बसेका हुन्छन् भन्थे। उस्को पनि धित् मर्ने। मैले पनि पनि मुख फेर्ने भनेर नि।'

'हा.....हा....हा ....हा.....हा....हा'

यसपालि सबैभन्दा लामो र चर्को हाँसो छुट्यो।

'अनि मानी कि मानिन् त दाजु?' तेस्रो स्वरले सोध्यो।

 'मान्नु त परै जावस्, टसले हानेर लक्ष्मण दाजुको निधारमा यत्रो टुटुल्को नै उठायदि'छे नि।'

 'हा.....हा....हा'

'मानेकी भा त लक्ष्मण दाजु यसबेला अम्रिका पुगेर डलर कमाउँदै गरेको हुनुहुन्थ्यो होला।'

फेरि हाँसो गुन्जियो।

'भोलिपल्ट त बिहानै हिँडी। हेडमास्टरलाई भन्न गा कि हो कि, थानातिर पो जाने हो कि, त्राही त्राही भयो।'

'बचेछौ दाजु, बचेछौ। सेता तिघ्राले कसो डुबाएन।'

त्यसपछि के गफ भयो मलाई याद भएन। निदाउनु अगाडिसम्म दिमागमा एक्कासी घर हिँड्न लागेकी कुइरेनी मिसको तस्विर आइरह्यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell