मिथिला क्षेत्रमा आज भैयादुज पर्व मनाइँदै छ। दीपावलीको पाँचौँ दिन आज दाजुभाइले दिदीबहिनीको निम्ता मान्दै यो चाड मनाउने परम्परा छ।
यो पर्वमा विवाहित दिदीबहिनीले दाजुभाइलाई आफ्नै घरमा आउन निम्ता गर्छन्। अविवाहित दिदीबहिनी र दाजुभाइको एउटै घर हुने हुँदा स्वनिवासमै यो पर्व मनाउने परम्परा रहँदै आएको छ।
सत्ययुगमा राजा वलिका बहिनी गङ्गा र यमुनाले दाजुको सौर्यवृद्धि, कल्याण र दीर्घजीवनको कामना गर्दै सप्तरङ्गी टीका लगाइदिएका कथा नै यो पर्वको आधार परम्परा रहँदै आएको मिथिलाका प्रसिद्ध साहित्यकार डा राजेन्द्र विमल बताउँछन्।
भैयादुज पर्वमा दिदीबहिनीले दाजुभाइलाई निम्ता गर्छन्। विवाहित दिदीबहिनीको निम्ता मान्न दाजुभाइ कोसेली लिएर दिदीबहिनीले घरमा पुग्छन्। त्यहाँ पिठार (पानीमा घोलिएको अरवा चामलको पिठो)ले अरिपन (चतुष्कोण घेरा) बनाएर त्यो सीमाभित्र काठको पिरामा दाजुभाइलाई बसाइन्छ। दाजुभाइलाई पिठार, पानको पात र सुपारी राखी दिएर दिदीबहिनीले सप्तरङ्गी टीका लगाउने गर्छन्।
