
जब उनको मुखमा पुलुक्क देख्थे अनि ग्राहक अचम्मित हुन्थे। अनि अधिकांशको मुखबाट एउटै शब्द निस्किन्थ्यो - तपाईँ त टिभीमा देखिने कलाकार होइन र?
उनीहरूले नचिनेर प्रश्न गरेका हुँदैन थिए। एउटा कलाकारलाई जुत्ता बेच्दै गरेको देख्दा उनीहरुको अनुहारमा आश्चर्यको भाव झल्किन्थ्यो। उनीहरूको आशय कलाकारले पनि जुत्ता बेचिरहेको अवस्था भन्ने बुझिन्थ्यो।
झन्डै २७ वर्षअघिको सन्दर्भ। अहिले जस्तो सामाजिक सञ्जाल कहाँ हुनु? न अहिले झै च्याउसरी च्यानल। धेरैका घरमा टेलिभिजनको नाममा नेपाल टेलिभिजनमात्र चल्ने। धेरैजसो त श्यामश्वेत नै। हप्तामा केही मिनेटमात्रै काँचको पर्दामा झुलुक्क देखिने अनुहार पनि धेरैका लागि परिचित। साह्रै थोरै संख्यामा मात्र थिए जो नाटक हेर्न नाटकघरसम्म पुग्थे। यसरी धाउनेहरुले नचिन्ने त कुरै रहेन।
कलाकारितामा बनाएको त्यही परिचयले उनलाई पसलमा बस्दा कहिले काहीँ सताउँथ्यो पनि। कहिले रमाइलो पनि लाग्थ्यो त कहिले दिक्दारी। पसलमा आउनेहरुको कुराले हाँसो पनि लाग्थ्यो। त्यही अफ्ठ्यारो महसुस गरेका क्षणहरू पनि उनीसँग धेरै नै छन्।
पसलमा आउनेहरु त्यहाँका लागि ग्राहक भए पनि उनका लागि सधैँका दर्शक हुन्थे। पसलमा सामान किन्न पुग्नेहरू उनको अनुहार देखेपछि आफ्नैजस्तो ठान्थे र डिस्काउन्ट माग्न हिच्किचाउँदैन थिए। तर, उनी दर्शक आए भन्दै न त सामान सित्तैमा दिन सक्थिन् न त चर्कोगरी भाऊ घटाउन नै। उनका 'दर्शक' अर्थात् ग्राहकहरु विभिन्न बहानामा सस्तोमा सामान खोज्थे। तर, उनी त्यहाँ थिइन् जहाँ दर्शक र कलाकारको सम्बन्धले काम गर्थेन। एउटा व्यापारी र ग्राहकबिच जेजस्तो चल्थ्यो त्यही हुन्थ्यो।
उनलाई पसलमा नबसेर सुखै थिएन। जब दशैं तिहार जस्ता चाडपर्व लाग्थ्यो पसलमा मानिसको थामिनसक्नु भिड। त्यसैले पनि उनी पसलमा बस्न पुग्थिन्। सुरु सुरुमा त काउन्टरमा बस्थिन्। तर, दर्शकले ग्राहक बनेर आउँदा सामीप्यता चाहन्थे। त्यसलाई नकार्न नसक्दा उनले काउन्टरबाटै आफूलाई हटाउन थालिन्।
'म बस्दा प्रायजसो चिनेको हुने। आफ्नो कष्ट भन्दा लो कस्टमा डिस्काउन्टमा माग्नु हुन्थ्यो। त्यो दिन सम्भव पनि छैन। म सित्तैमा दर्शकलाई अभिनय पो दिन्छु, जुत्ता त दिन सक्दिन,' उनले मुस्काउँदै भनिन्।
दशैं र तिहारको यो मेलोमा हामीसँगै पुरान कुरा साट्न बसिरहेको पात्र अरु कोही होइनन्, सूर्यमाला खनाल। अर्थात् कलाकार सूर्यमाला शर्मा खनाल। कुनै बेलाको सक्रिय कलाकार र पछिल्लो समय जोडिएको उनको अर्को परिचय 'बेन्टलेकी दिदी'।
+++
सूर्यमालाका पाँच दिदीबहिनी र एक भाइ। उनी चाहिँ माइली छोरी। साइँली बहिनी चन्द्रमाला शर्मा भने साथीजस्तै थिइन्। चन्द्रमाला पहिलेदेखि नै बिजनेसमा थिइन्। दरबारमार्गमा उनको दरबार ज्वेलरी पसल थियो।
बहिनीको योजनामा नै दरबारमार्गमा छालाको जुत्ता लगायतका सामग्रीको पसल खोल्ने योजनाले आकार लियो जसमा एउटा साझेदार बनिन् सूर्यमाला। पसल त खुल्ने भयो तर नाम के राख्ने? छलफल चल्यो। अन्ततः एउटा नाम निस्कियो बेन्टले। लन्डनमा उत्पादन भएको कारको नाम थियो बेन्टले। अहिले बेन्टले नेपालमा स्थापित जुत्ताको ब्रान्ड बनेको छ।
सन् १९८८ तिर खुलेको बेन्टलेमा सूर्यमालालाई उनै चन्द्रमालाले पार्टनर बनाइन्। उनले नै सूर्यमालालाई कलाकारितामा पनि जोडेकी थिइन्। अब व्यवसायको इनिङ्समा बहिनीले नै डोर्याउँदै थिइन् सूर्यमालालाई। चन्द्रमाला पनि कलाकारितासँग जोडिएकी। उनले पनि केही नाटकमा अभिनय गरिसकेकी थिइन्।
सूर्यमाला अहिले पनि हाँस्दै बहिनीले लगानीविना नै पार्टनर बनाएको सुनाउन पछि पर्दिनन्। सूर्यमालाले दुई वर्ष बेन्टलेको मार्केटिङ हेरिन्। कलाकार भएर जुत्ता बेच्ने? केहीले प्रश्न नगरेको होइन। तर, सूर्यमालालाई कलाकार भएर व्यापार नै गर्न हुन्न भन्ने कहिले पनि लागेन। काँचको पर्दाले धेरैबिच एककिसिमको छवि बनाए पनि ग्राहकले लगाएको जुत्ता टिपेर साइज खोज्न यताउतासम्म दौडिँदा उनलाई असहज महसुस भएन। जुत्ता पुछेर टल्काउँदै ग्राहकलाई दिँदा उनमा चिनिएको कलाकारको दम्भ देखिएन।
'त्यो त हाम्रो आफ्नो बिजनेस हो नि । ग्राहकले जुत्ता ट्राई गर्थे। किनकि हामी दुइटा पियर राख्दैनौँ। एउटामात्र राख्थ्यौँ। एउटा जुत्ता लगाएर अर्को यसको पियर ल्याइदिनु भन्थे। उनीहरूले लगाएको जुत्ता बोकेर जान र ट्राई गराउन मलाई केही पनि लाग्दैन थियो,' सूर्यमालाले भनिन्।
कलाकारिताकै दौरान उनको बिहे भयो सरोज खनालसँग। सरोज खनाल चर्चित कलाकार। काँचको देखि सिनेमाघरका ठूला पर्दामा पनि सरोज स्थापित 'हिरो'।
सरोज खनालको पुर्खौली व्यवसाय चितवनमा थियो। सरोजका दाजुहरु मिलेर पोल्टी फार्म सञ्चालन गरेका थिए। तर, सूर्यमालालाई आफ्नो घरतिरको पुर्खौली व्यापार भन्दा आफ्नै दिदीबहिनीसँग मिलेर व्यापार गर्न मन थियो। त्यसैले महिलाहरुको मात्र सहभागितामा बेन्टले खुल्यो जुन ब्रान्डका रूपमा स्थापित नै भयो।
'विशुद्ध महिलाले चलाएको हो बेन्टले। मेरो बहिनीको ठूलो हात छ यसलाई ब्रान्डिङ गर्न। मलाई त खासै कुन जुत्ता चलेको वा रिपिट हुन्छ भनेर याद हुँदैन। मत अगाडि बस्नेमात्र हो,' सूर्यमालाले भनिन्।
दुई वर्षसम्म सूर्यमालाको कलाकारितामा भन्दा धेरै समय पसलमा नै बित्यो। तर, दुई वर्षपछि श्रीमान् सरोज खनालले देश नै छाडे। कलाकारितामा राम्रो हुँदाहुँदै उनी अमेरिका हान्निए। एक किसिमको ट्रान्जिटको अवस्था थियो त्यतिखेर। उनी पनि सरोजसँग उतै लागिन्। एकाएक यता कलाकारिता मात्र होइन, बेन्टलेसँगको सामीप्यता दुर बन्यो।
तर, जब दशैं तिहारजस्ता चाडपर्व आउँथ्यो बेन्टलेमा देखिएको भिडभाडले उनको मन दरबारमार्गतिर नै तानिन्थ्यो। उनलाई बेन्टलेमा बढेको भिड देखेपछि दशैं तिहार आएको अनुभूति हुन्थ्यो। जब दशैं लाग्थ्यो पसलमा भिडभाड हुन्थ्यो। यतिसम्म कि उनीहरुका ८० वर्षीया आमासमेत सघाउन पसल पुग्थिन्। अरू पाँच जना बहिनी पनि काममा जुट्थे त्यहीँ।
'पहिलाको बिजी समय एकदमै सम्झन्छु। धेरै कस्टुमरहरु आउनुहुन्थ्यो। एकदम बिजी हुन्थ्यो। दशैंमा दरबारमार्गको चहलपहल बेन्टलेबाट नै सुरु हुन्थ्यो,' सूर्यमालाले भनिन्।
झन्डै १७ वर्ष उनले अमेरिकामा बिताइन् उनले। बिचबिचमा नेपाल आउनेजाने क्रम भइरहेको थियो। नेपाल आएको समयमा बेन्टलेमा बस्न पुग्थिन्। कलाकारिता बिस्तारै ओझेलमा पर्दै गइरहेको थियो। उनी अहिले सरोजसँगै नेपालमा नै छिन्। कलाकारिता टाढिएको छ। बेन्टले नै उनलाई पछिल्लो परिचय र व्यवसाय बनेको छ।
+++
तीन दशकअघि सूर्यमालाले जति अभिनयमा नाम कमाइन, त्यसपछि यस क्षेत्रमा देखिएकी छैनन्। त्यसैले अहिलेका पुस्ताले उनलाई चिन्न छोडेका छन्। नयाँ पुस्ताले उनलाई कलाकार होइन बेल्टलेकी दिदी नै भनेर चिनिरहेका छन्। सन्तानसहित बेन्टलेमा पुग्नेहरूले आफ्ना सन्तानलाई उहाँ कलाकार भनेर चिनाउँदा उनलाई खुशी लाग्छ।
'आमाहरूले चिनाउनुहुन्छ। सानो हुँदाखेरी टिभीमा हेरेको भन्दै। उहाँ यस्तो उस्तो नमस्कार गर भन्नुहुन्छ,' लामो हाँसोमा उनले सुनाइन्। यसरी ग्राहकहरू पुग्दा कहिले काहीँ उनीसँग फोटो खिचाउनेहरु पनि हुन्छन्।
बेन्टलेका नियमित ५ सय भन्दा बढी ग्राहक रहेको सूर्यमालाले सुनाइन्। धरानदेखि पोखरासम्मका ग्राहकले उनलाई कुनै सामान आयो कि आएन भनेर फोनमा सोध्ने गरेका छन्। धेरैलाई त उनले बेन्टलेमा बस्दाबस्दै साथी नै बनाइन्।
'कलाकारिताले मात्र बेल्टलेलाई ब्रान्ड बनाएको होइन। केही सहयोग भयो होला तर यसको गुणस्तर नै आजको अवस्था हो,' सूर्यमालाले भनिन्।
दशैं तिहार आएसँगै अहिले प्रत्येक पसलमा अफर र 'सेल'का बोर्डहरू झुन्डिएका भेटिन्छन्। तर, दरबारमार्गमा 'सेल'को ट्रेन्ड चलाउन बेन्टलेले नै सुरुवात गरेको उनले बताइन्। किनकि उनले यसअघि नेपालमा 'सेल' भनेर लगाएको कही कतै देखेकी रहिनछिन्। त्यसैले सुरुसुरुमा मानिसहरूले 'सेल' भनेर सामान राख्दा पसल बेच्न लागेको वा बन्द गरेको भन्दै प्रश्न गर्थे। जब छुटमा बिक्री भनेको बुझेपछि मानिसको भिड लाग्ने गरेको ताजै छ उनको स्मृतिमा।
अझै पनि धेरैले 'सेल' भन्ने बित्तिकै मूल्य बढाएर घटाउने गरेको बुझ्ने गरेका उनले सुनाइन्। बिक्री गर्ने वस्तुको मूल्य पुराना कस्टुमरलाई थाहा हुने उनको तर्क छ।
'जुत्ताहरू भनेको धेरै समय स्टक गरेर बक्समा राख्यो भने उक्किएर जान्छ। स्टकमा भएका कट साइजहरू नै सेल्समा राख्ने हो,' उनले बुझाइन्।
२०३९ सालमा प्रतिभा आकाश माग्छ नाटकबाट अभिनय थालेकी सूर्यमालाले त्यसपछि थुप्रै नाटक, टेलिचलचित्रमा अभिनय गरिन्। तर, अमेरिकाबाट फर्किएपछि उनको अभिनय यात्रा खासै अगाडि बढ्न सकेन। तर, व्यवसायले भने उनलाई स्थापित गरेको छ। कलाकार भनेर चिनिनु पनि छैन उनलाई। पछिल्लो पुस्ताले त्यसरी पनि चिन्दैन। फेरिएको परिचयमा उनी रमाएकी छिन्। अहिले बेन्टलेले ४० जनालाई रोजगारी दिएको छ। यसका दुईवटा शाखा छन्।
'पसल वरपरका केही भाइहरूले बेन्टलेको दिदी भनेर चिन्छन्। त्यो नामले चिन्दा पनि आनन्द आउँछ। त्यो बेन्टले पनि हामीले नै जन्माएको न हो,' सूर्यमालाले भनिन्।