टी-२० विश्वकप अन्तर्गत शनिबारको पहिलो खेलमा अष्ट्रेलियाले वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गरेको छ। अष्ट्रेलियाले ५ खेलबाट ८ अंक जोड्दै सेमिफाइनलको सम्भावनालाई बलियो बनाएको छ।
वेस्ट इन्डिजले दिएको १५८ रनको लक्ष्य अष्ट्रेलियाले २२ बल अगावै दुई विकेटको क्षतिमा पूरा गरेको थियो।
अष्ट्रेलियाका लागि ओपनर डेविड वार्नरले नटआउट ८९ रन बनाए। कप्तान आरोन फिन्च ९ रनमा आउट हुँदा मिचेल मार्सले ५३ रनको योगदान दिए।
यस्तै, पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजका लागि कप्तान किरोन पोलार्डले सर्वाधिक ४४ रन बनाए। ओपनर क्रिस गेलले १५ रन बनाउँदा अर्का ओपनर इभिन लेविसले २९ रन जोडे।
जितपछि अष्ट्रेलियाले सेमिफाइनलको सम्भावना बलियो बनाए पनि औपचारिक टुंगो समूह १ अन्तर्गत आजै भइरहेको इंग्ल्याण्ड र साउथ अफ्रिकाबीचको खेलबाट लाग्नेछ। जारी खेलमा इंग्ल्याण्ड विजयी भएमा अष्ट्रेलिया समूह उपविजेता हुँदै सेमिफाइनल प्रवेश गर्नेछ। यदि दक्षिण अफ्रिका विजयी भएमा रन रेटका आधारमा उपविजेताको टुंगो लाग्नेछ। दक्षिण अफ्रिकाले फराकिलो रुपमा इंग्ल्याण्डमाथि जित हात पारेमा अष्ट्रेलिया सेमफिाइनलमा नपुग्न सक्छ।
चार खेलबाट आठ अंक जोडेको इंग्ल्याण्डको रन रेट ३.१८३ छ। दक्षिण अफ्रिकासँग हार व्यहोरेमा पनि रन रेटका आधारमा इंल्याण्ड समूह विजेताकै रुपमा सेमिफाइनल प्रवेश गर्नेछ। अष्ट्रेलियाको १.२१६ रन रेट छ। दक्षिण अफ्रिकाको ०.७४२ रन रेट छ। नेट रन रेटमा अष्ट्रेलिया मजबुत रहेकाले दक्षिण अफ्रिकाले जिते पनि सेमिफाइनल सम्भावना अष्ट्रेलियाकै बलियो छ।