PahiloPost

Sep 20, 2024 | ४ असोज २०८१

चीनले बढायो कोइलाको उत्पादन, कोप२६ मा कोइलाको प्रयोग रोक्ने सहमतिमा गरेको थिएन हस्ताक्षर



पहिलोपोस्ट

चीनले बढायो कोइलाको उत्पादन, कोप२६ मा कोइलाको प्रयोग रोक्ने सहमतिमा गरेको थिएन हस्ताक्षर
File Photo : Xinhua

स्कटल्याण्डमा भएको कोप२६ सम्मेलनमा विश्वका १९० राष्ट्र तथा संस्थाहरुले कोइला प्रयोग रोक्ने प्रतिबद्धता व्यक्त गरेका थिए। पोल्याण्ड, भियतनाम चिलीजस्ता कोइलाको धेरै प्रयोग गर्ने राष्ट्र लगायतले कोइलाको प्रयोग घटाउने सहमति जनाएका थिए।

ती राष्ट्रहरुले सन् २०३० सम्म धनी राष्ट्र र २०४० सम्ममा कोइलामा आधारित उर्जाको प्रयोग अन्त्य गर्ने र कोइला प्रयोग हुने उत्पादनमा भइरहेको लगानी अन्त्य गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका  थिए।

तर, कोइलाको प्रमुख प्रयोग गर्ने राष्ट्रमा पर्ने भारत, चीन, अमेरिका र अस्ट्रेलियाले भने सहमति पत्रमा हस्ताक्षर गरेका थिएनन्।

जलवायु परिवर्तनका लागि कोइलाको अत्याधिक प्रयोग मुख्य कारण मध्ये एक हो। कोइलाको सबैभन्दा बढी प्रयोग गर्ने राष्ट्र मध्ये उक्त सहमतिमा हस्ताक्षर नगर्ने चीनले कोइलाको उत्पादन बढाएर रेकर्ड कायम गरेको छ।

चीन विश्वमै सबैभन्दा धेरै कार्बन उत्सर्जन गर्ने देश हो। गत महिना कोइला अभावका कारण ऊर्जा संयन्त्रहरुको काम प्रभावति भएपछि चीनले कोइलाको दैनिक उत्पादनमै रेकर्ड स्तरको वृद्धि गरेको हो।

चीनका शीर्ष आर्थिक योजनाकारहरुका अनुसार कोइलाको दैनिक उत्पादनमा १ करोड २० लाख टनभन्दा बढी वृद्धि भएको छ। यसबाट हिउँद महिनाहरुमा बिजुलीको आपूर्ति सुनिश्चित गर्न सकिने उनीहरुको भनाइ छ।

चीनले विगत चार वर्षदेखि कोइलाको प्रयोगमा कटौती सुरुवात गरेको छ। आगामी सन् २०६० सम्म कार्बन उत्सर्जनबाट पूर्ण रुपमा मुक्त हुने कोसिसमा लागिरहेको चीनले बताउँदै आएको छ। तर ऊर्जा संयन्त्रहरुको काम नै प्रभावित भएपछि हाल चीनले उत्पादन बढाउनुपरेको तर्क गरिरहेको छ। तर चीनको यो कदमलाई विश्वका जलवायु विशेषज्ञहरुले भने आलोचना गरेका छन्।

बेइजिङ कार्बन उत्सर्जनबाट पूर्णरूपमा मुक्त हुन ढिलाइ गरिरहेको भन्दै उनीहरुले नयाँ योजनाले चीनको कार्बन उत्सर्जनबाट मुक्त हुने प्रयासलाई अझ पछि धकेल्ने बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell