रोहित सेट्टीको निर्देशनमा बनेको फिल्म सूर्यवंशी कस्तो छ? गत साता रिलिज भएको फिल्ममा अक्षय कुमार लिड रोलमा छन्। कोभिड १९ का कारण धरापमा परेको फिल्म उद्योग पुन: सक्रिय गराउने अपेक्षाका कारण सूर्यवंशी बहुप्रतिक्षित सूचीमा सबैभन्दा बलियो स्थानमा रहँदै आएको छ। भारतमा ३ हजार ५ सयभन्दा धेरै स्क्रिनमा एकैसाथ फिल्म रिलिज भएको छ। नेपालमा पनि यो फिल्म मल्टिप्लेक्सहरुमा प्रदर्शन जारी छ। रोहित सेट्टी र अक्षय कुमार दुवै बलिउडमा बलियो ब्रान्ड हुन्। फिल्ममा अजय देवगान र रणवीर कपुर पनि जोडिएका छन्। अजय देवगानको सिंघम र रणवीरको सिम्बा सेट्टी निर्देशित बहुचर्चित र सफल फिल्म हुन्।
एक्सन र कमेडी दुवै जनरामा अब्बल सावित भएका सेट्टीको सूर्यवंशीमाथि समीक्षकको नजर कस्तो छ?
बलिउडका ट्रेड एनलिस्ट तरन आदर्शले फिल्मलाई ४.५ स्टार दिएका छन्। उनले दिवालीमा फिल्मलाई ब्लकबस्टर प्याकेजका रुपमा अर्थ्याएका छन्।
'समग्रमा, सूर्यवंशीसँग सबैकुरा छ, स्टार्स, स्केल, एक्सन र इन्टरटेनमेन्ट,' तरनले लेखेका छन्, 'रोहित सेट्टीले दिवालीमा ब्लकबस्टर प्याकेज पेश गरेका छन् र त्यसले दर्शकलाई फेरि हलतिर फर्काउने निश्चित छ।'
कोभिड १९ का कारण विश्वकै मनोरञ्जन उद्योग धरापमा छ। हलहरु संकटबाट गुज्रिरहेका छन्। स्वास्थ्यको जोखिमका कारण पनि मानिसहरु हलसम्म पुग्न चाहिरहेका छैनन्। यस्तोमा ठूलो लगानीको फिल्मले जोखिम मोलेको छ। फिल्मले दुई दिनमा ५० करोडको आम्दानी गरेको छ।
रकमका हिसाबले रोहित सेट्टीका र अक्षय कुमारका अन्य फिल्मको तुलनामा यो आँकडा कम नै हो। तर, जुन परिस्थितिका बिच फिल्मले आम्दानी गरेको छ, त्यसले प्रष्ट रुपमा थिएटर अब पुरानै अवस्थातिर फर्किँदैछ भन्ने संदेश प्रवाह गरेको छ। सिनेमा हलमा ५० प्रतिशत अकुपेन्सी पाउनु अहिलेको अवस्थामा ठूलो सफलता मान्नुपर्छ।
टाइम्स अफ इन्डियामा समीक्षक अर्चिका खुरानाले फिल्मलाई ३ स्टार दिएकी छिन्। रोहित सेट्टीले प्रहरीको ब्रान्डिङलाई फिल्ममा जसरी स्थापित गरेका छन् त्यसको निरन्तरताका रुपमा उनले फिल्मलाई जनराका हिसाबले सफल ठहर्याएकी छिन्।
खुरानाका अनुसार जसरी सिंघममा अजय देवगान र सिम्बामा रणवीर सिंह जमेका छन् अक्षय कुमार यस फिल्ममा दमदार देखिएको उनको टिप्पणी छ।
'अक्षय कुमारले सिंघम र सिम्बाका लगानीकर्ताको सोचलाई सफल रुपमा अगाडि बढाएका छन्, कार उडाउने र ठोक्काउने विषयले ठाउँ पाएको छ। खासमा सबैका लागि यो दिवाली इन्टरटेनर बनेको छ,' खुरानाले लेखेकी छिन्, 'हाइ भोल्टेज एक्सन फिल्मको फ्यान हो भने, तपाईँका लागि यो फिल्म गजब छ।'
दी हिन्दुमा समीक्षक अनुज कुमारले फिल्ममा थुप्रै कमजोरी देखाएका छन्। तर, फिल्ममा कैटरिना कैफ भने सफल रुपमा उत्रिएको उनको टिप्पणी छ। दुई वटा विशेषखाले गीत र सामान्य भूमिकामा देखिने कैटरिनाको अभिनयलाई उनले मूल्याङ्कन योग्य भन्दै तारिफ गरेका छन्। अक्षय कुमारको अभिनयलाई उनले महत्वका साथ हेरेका छैनन्। यद्यपि, पेन्डामिकका दुई वटा चरणले फिल्म रोकिनुलाई स्वभाविक मान्दै यसलाई सुखद् सुरुवातका रुपमा अर्थ्याएका छन्।
दी हिन्दुस्तान टाइम्समा मोनिका रावल कुक्रिजाले १९ महिनापछि फिल्म रिलिज हुनु आफैँमा एउटा सेलिब्रेसन भएको तर्क गरेकी छिन्। मुलधारे सिनेमा पुन: लयमा आउने आधारमा यसै फिल्मलाई लिएकी छिन् उनले। अक्षयकुमार मार्फत् निर्देशक रोहित सेट्टीले आफ्नो एक्सन ट्रेडमार्कलाई ल्याएको उनको दावी छ।
सूर्यवंशीको पोस्टरमा तीन हिरो देखिन्छन् - अक्षय, अजय र रणवीर। 'सूर्यवंशी पोस्टरमा देखाएजस्तो तीन जना हिरोको फिल्म होइन,' मोनिकाले प्रस्ट्याएकी छिन्, 'यो अक्षय कुमारको फिल्म हो जसमा अजय र रणवीरको स्पेसल अपेरियन्स छ।'
फिल्म हार्डकोर मसलेदार भएकाले समीक्षकले दिमाग घरमा छाडेर हलमा जान र मनोरञ्जन लिनमात्र सुझाएका छन्।