विशेषगरी मिथिलाञ्चल क्षेत्रमा मनाइने छठ पर्वको रौनकले काठमाडौंलाई पनि छोएको छ। छठलाई विशेष बनाउन काठमाडौंको गुहेश्वरी क्षेत्रमा छठ पूजा समिति कार्यालय स्थापना गरिएको छ।
यही समितिले छठ घाट निर्माण कार्यलाई तीव्रता दिइएको हो। जलाशयमा पूजा गर्न र सूर्यलाई अर्घ्य दिन सहज हुने किसिमले पूर्वतयारी गरिएको छ। पूजा समितिले उक्त क्षेत्र रात्रिकालिन समयमा झकिझकाउ र आकर्षण देखिने किसिमले निर्माण गरिरहेको छ।
गत वर्ष कोरोना संक्रमणका कारण छठ पर्व भएको थिएन। यस वर्ष भने पहिला झैं छठ मनाउन गुहेश्वरी क्षेत्रमा तयारी भइरहेको छ। छठमा ब्रत बस्नेहरुका लागि नम्बर तोकिसकिएको छ। गुहेश्वरीमा बास बस्न र पूजा गर्नका लाथि बस्नेका लागि एकजनाको ११०० रुपैयाँ तोकिएको छ। यस वर्षको छठ पूजामा राष्ट्रपति विद्यादेवी भण्डारी उपस्थित हुने तय भइसकेको छठ पूजा समितिका सचिव नवल किशोर यादवले बताए। उनले कोरोना संक्रमणलाई मध्यनजर गर्दै रातभर हुने भजनकीर्तन भने नहुने जानकारी दिए।
४ दिनसम्म विशेष रुपमा मनाइने यो पर्वको पहिलो दिन ‘नहाय–खाय’ विधिबाट सुरु हुन्छ। ब्रतालुहरुले पर्व सुरु हुन एक दिनअघि नै उसिनिएका धानको चामल, कोदो, माछामासु, मुसुरोसहितका धार्मिक अनुष्ठानका लागि अशुद्ध मानिएका खाद्य वस्तुहरु नखाने चलन छ। यो विधिलाई ‘अरबा–अरबाइन’ भनिन्छ।
आइतवार ‘अरबा–अरबाईन’ गरेका ब्रतालुहरुले सोमवार चौंथी तिथिमा ‘नहाय–खाय’ र पञ्चमी तिथिका दिन राति एक छाकमात्र अलिनो खानेकुरा खाएर खरना विधि सम्पन्न गर्दछ। पर्वको मुख्य दिन षष्ठी तिथिमा निराहार ब्रत बसेर साँझपख पवित्र जलाशयमा गई अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ। सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व समापन हुन्छ।