PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

पर्यटन बोर्डका सीईओ रेग्मीले ६ बोतल रक्सी नछुटाएको भन्दै भन्सारका कर्मचारी कुटे



पहिलोपोस्ट

पर्यटन बोर्डका सीईओ रेग्मीले ६ बोतल रक्सी नछुटाएको भन्दै भन्सारका कर्मचारी कुटे

काठमाडौं : भाइटीकाको दिन बिहान लन्डनबाट नेपाल आएका यात्रु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन जाँच कक्षमा थिए। एक जना यात्रु केही मातेका मात्रै थिएनन्, उनले ब्यागेजमा ६ बोतल ड्युटी फ्रीमा किनेको मदिरा पनि सँगै ल्याएका थिए।

भन्सार जाँचपासमा खटिएका विमानस्थल भन्सारका नायव सुब्बा सुमन थापाले ६ बोतल मदिरा देखेपछि ती यात्रुलाई सोधे- 'साथमा कतिजना हुनुहुन्छ?'

प्रश्न सुन्नेबित्तिकै ती यात्रुले थापाको गालामा एक थप्पड लगाए र भने, 'म को हो चिनेको छस्? म देश चलाउने मान्छे हुँ।'

यसरी रक्सी सजिलै भित्र्याउन नपाउँदा हातपातमा उत्रिने व्यक्ति अरु कोही थिएनन्, थिए त नेपाल पर्यटन बोर्डका सीईओ धनन्जय रेग्मी।

'तपाईँको कुटाईबाट म धन्य भएँ। अब म तपाईलाई छोडौं?,' भन्सारका कर्मचारी थापाले उनलाई सोधे।

यस घटनापछि भन्सार जाँचमा खटिएका अन्य कर्मचारी पनि भेला भए। रेग्मीलाई तुरुन्तै भन्सार अधिकृतले नियन्त्रणमा लिए।

विस्तारै यात्रु र विमानस्थल तथा भन्सार कर्मचारीको भीड बढ्यो। हल्लीखल्ली नै भयो। कुटाइको विषय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार प्रमुख महेश भट्टराईसम्म पुग्यो। भट्टराईले यो घटना भन्सार विभागका महानिर्देशक नारायण सापकोटालाई ब्रिफ्रिङ गरे। ब्रिफ्रिङपछि जतिसुकै ठूलो मान्छे भएपनि भन्सार ऐन अनुसार कारवाही गर्ने निर्णय भयो।

भन्सार ऐन अनुसार विदेशबाट फर्किनेले प्रतिव्यक्ति १ लिटर मदिरा ल्याउन पाउँछ। तर, ५ बोतल बढी भएपछि रेग्मीलाई ५ हजार जरिवाना गरियो। रेग्मीलाई दुर्व्यवहार गरेकोले पाँच हजार जरिवाना गरिएको हो। यो अधिकतम जरिवाना हो।

त्यही रेग्मीको स्वास्थ्य जाँच गराइयो। उनले मदिरा सेवन गरेको पुष्टि भएको विमानस्थल प्रहरी स्रोतले जनाएको छ। तर, 'भीआइपी' भन्दै उनलाई त्रिभुवन विमानस्थल कार्यालयले छाडिदियो। घटना पनि गुपचुप राख्न कर्मचारी बृत्तमा सर्कुलर जारी भयो।

एकजना यात्रुले बढी मदिरा ल्याएको र भन्सार कर्मचारीलाई दुर्व्यवहार गरेकाले कानुन अनुसार कारवाही गरेर छाडिएको त्रिभुवन भन्सार कार्यालयका प्रमुख महेश भट्टराईले बताए।

'तिहारको दिनमा एक जना यात्रुले हाम्रो कर्मचारीलाई दुर्व्यवहार गरेको हाम्रो अभिलेखमा छ,' उनले भने, 'तर उनी को हुन् भन्ने मलाई जानकारी छैन।'

भट्टराईले दुर्व्यवहार गरेकाले भन्सार ऐन अनुसार ती व्यक्तिलाई अधिकतम पाँच हजार जरिवाना गरिएको बताए।

रेग्मी लन्डनमा गत सोमवारदेखि भएको तीनदिने वर्ल्ड ट्राभल मार्टमा सहभागी भएर फर्केका थिए। मार्टमा नेपाली टोलीको नेतृत्व पर्यटन मन्त्री प्रेम आले र सचिव यादवप्रसाद कोइरालाले गरेका थिए। फर्किँदा मन्त्री, सचिव विमानस्थलको भीआइपी लाउन्जबाट निस्किएका थिए भने रेग्मी अन्य यात्रु आउने ठाउँबाट जाँचपासमा आइपुगेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell