PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

तोकेभन्दा बढी रक्सी ल्याउन नपाउँदा कर्मचारी कुट्ने पर्यटन बोर्डका सीईओलाई मन्त्रीले डाके, रेग्मी भन्छन् : मलाई फसाइयो



सविन ढकाल

तोकेभन्दा बढी रक्सी ल्याउन नपाउँदा कर्मचारी कुट्ने पर्यटन बोर्डका सीईओलाई मन्त्रीले डाके, रेग्मी भन्छन् : मलाई फसाइयो

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपासमा खटिएका भन्सारका नायव सुब्बालाई कुटपिट गर्ने पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनन्जय रेग्मीलाई घटनाबारे जानकारी गराउन मन्त्रालय डाकिएको छ।

सीईओ रेग्मीले कर्मचारीलाई कुटपिट गरेको समाचार बाहिरिएपछि उनीमाथि सोधपुछका लागि मन्त्रालय डाकिएको संस्कृति पर्यटन तथा नागरिक उड्यानमन्त्री प्रेम आले पुष्टि गरे।

'मैले समचार पढेर थाहा पाएँ। अहिले नै उहाँलाई सोधपुछका लागि बोलाउन लगाएको छु,' मन्त्री आलेले पहिलोपोस्टसँग भने, 'घटना के हो बुझ्दैछु।'

शनिवार ९ बजे सीईओ रेग्मीले विदेशबाट फर्किदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा कर्मचारीलाई दुर्व्यवहार गरेका थिए। उनले नियम विपरीत ६ वटा रक्सीका बोतल ल्याएका थिए। ड्युटी फ्रीबाट रक्सी तोकेभन्दा धेरै ल्याएको भेटिएपछि विमानस्थलमा कार्यरत भन्सारका नायव सुब्बा सुमन थापाले रोकेका थिए।

ड्युटीमा खटिएका कर्मचारी थापाले सोधखोज गर्न खोजेपछि सीईओ उनीप्रति आक्रामक बनेका थिए। रेग्मीले थापालाई झापड समेत हानेपछि कर्मचारीहरु सबै उनलाई रोक्न पुगेका थिए। उनी रक्सी पिएकै अवस्थामा विमानस्थलबाट बाहिरिँदै थिए।

कर्मचारीमाथि भएको हातपातको विषय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार प्रमुख महेश भट्टराईसम्म पुग्यो। भट्टराईले यो घटना भन्सार विभागका महानिर्देशक नारायण सापकोटालाई ब्रिफ्रिङ गरे। ब्रिफ्रिङपछि जतिसुकै ठूलो मान्छे भए पनि भन्सार ऐन अनुसार कारवाही गर्ने निर्णय भयो।

भन्सार ऐन अनुसार विदेशबाट फर्किनेले प्रतिव्यक्ति १ लिटर मदिरा ल्याउन पाउँछ। तर, ५ बोतल बढी भएपछि रेग्मीलाई ५ हजार रुपैयाँ जरिवाना गरिएको थियो। कर्मचारीलाई दुर्व्यवहार गरेकोले रेग्मीलाई पाँच हजार जरिवाना गरिएको हो। जरिवानाको यो अधिकतम रकम हो।

रेग्मीको स्वास्थ्य जाँच समेत गराइएको थियो। मापासे परीक्षण गर्दा रेग्मीले मदिरा सेवन गरेको पुष्टि भएको विमानस्थल प्रहरी स्रोतले जनाएको छ। लामो समयदेखिस विवादमा रहँदै आएका सीईओ रेग्मीको यो पछिल्लो प्रकरणले उनलाई संकटमा धकेलेको छ।

मन्त्री आलेले कर्मचारीमाथि दुर्व्यवहार गरिएको ठहरिएमा कारबाही हुने बताए।

'सोधपुछका लागि बोलाएको छु। गम्भीर विषय भएकाले अहिले नै यही भन्न मिलेन। गल्ती देखिए जो कोही भए पनि कारबाही हुन्छ,' मन्त्री आलेले भने।

रेग्मी लन्डनमा गत सोमवारदेखि भएको तीनदिने वर्ल्ड ट्राभल मार्टमा सहभागी भएर फर्केका थिए। मार्टमा नेपाली टोलीको नेतृत्व पर्यटन मन्त्री प्रेम आले र सचिव यादवप्रसाद कोइरालाले गरेका थिए। फर्किँदा मन्त्री, सचिव विमानस्थलको भीआइपी लाउन्जबाट निस्किएका थिए भने रेग्मी अन्य यात्रु आउने ठाउँबाट जाँचपासमा आइपुगेका थिए।

मलाई फसाउन खोजियो : सीईओ रेग्मी

विमानस्थलमा अस्तव्यस्त रहेको विषयका बारेमा आफूले पटक पटक कुरा उठाउने गरेको कारण फसाउने प्रयास भएको आरोप लगाएका छन्। 'विमानस्थलमा शौचालयदेखि सबैतिर अस्तव्यस्त छ। जनताको विषयलाई उठाएकाले मलाई फसाउन खोजेको हो,' सीईओ रेग्मीले पहिलोपोस्टसँग भने।

उनले विमानस्थलमा आफूविरुद्ध भएको कदमबारे मन्त्रीहरुलाई बताउन खोजेको तर कसैले पनि फोन नउठाएको पनि बताए। 'अर्थमन्त्रीले फोन उठाएको भए त्यतिखेर नै सर्ट आउट गर्थेँ,' उनले भने, 'चार घन्टा म विमानस्थलमा अडिनु पर्‍यो यसैका कारण।'

उनले भन्सारका कर्मचारी युनियनले भनेको कुरा त्यहाँका हाकिमहरुले अस्वीकार गर्न नसक्दा ५ हजार रुपैयाँ तिर्न परेको बताए। 'मैले तिरेको पैसा राज्य कोषमै जाने भएकाले इमान्दार नागरिकको कर्तव्य पूरा गरेर तिरेको हुँ,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell