उहिले जेल बस्दा जेलभित्र नसिब लाल नामका एक खलिफा थिए। साह्रै बलिया, जिउ पनि हेर्दै अजङ्गको। उनलाई देख्नेबित्तिकै जेलभित्रका सबै थुर्थुर हुन्थे। त्यसपछि जेल प्रशासनले यी नसिब लाललाई तह लगाउन पर्यो भन्ने सोचेछ। जेलभित्र आफ्नै प्रकारको प्रशासन हुन्छ। अनि जेल प्रशासनका तर्फबाट नसिब लाललाई कुटपिट गरेर मुर्छा पारेर तह लगाउन मान्छे खटिए। नसिब लाल त के तह लाग्थ्यो, उल्टै ३८ जना अस्पताल भर्ना हुनुपर्यो।
यसपछि जेल प्रशासनले नसिब लाललाई टाढाबाट ढुङ्गा र इँटाले हिर्काएर घाइते बनायो। नसिब लाल मुर्छा परे। जेलभित्रै बासु भन्ने होचा, ख्याउटे, दुब्ला मान्छे पनि थिए। तौल नाप्ने हो भने ३० किलोग्राम थियो होला।
अनि ती बासु के गर्न थाले भने नसिब लाल नेर जाने अनि लात्तीले हान्ने र लौ खा भनेर मजा लिने।
अहिले हामीलाई हेरेर मजा लिन खोज्ने बासुहरूको नाम मैले भनिरहनु पर्दैन। तपाईंहरू चिन्नु हुन्छ। नसिब लालको एउटा पाखुरा जतिको पनि तौल छैन बासुको, लौ खा भनेर लात्तीले हानेर मजा लिन्छन्। कथम् कदाचित् नसिब लाल उठिहाले भने बासुको अस्तित्व कहाँ हुन्छ भन्न सकिन्न।
चोइटिएर गएका ती नेता भनाउँदाहरू सढेर झरेका फल हुन्। अब तिनलाई भेट्नामा टाँस्न सकिँदैन । त्यसैले तपाईंहरू ती नेता भनिनेहरू फेरि फर्केलान् भन्ने आशा नगर्नुस्। अँ, कार्यकर्तालाई सम्झाएर फर्काउन सकिन्छ। नेताको काम छैन।
खै त, आज हामीसित प्रचण्ड छैनन्। माधव नेपाल छैनन्। अरू त नाम भन्न पनि लायक छैनन्, उनीहरू गए। केही फरक परेको छ? भोगटे, कागती, मुन्तला जत्रो पार्टी भए पनि माधव नेपाललाई अध्यक्ष चाहिएको थियो। अध्यक्ष हुन गए। यही मोरङ जिल्लामा उनीहरू साथै हुँदा जम्मा २९ हजार हाम्रा पार्टी सदस्य थिए। अहिले ५ हजार थपिएर ३४ हजार पुगेका छन्। अरू ६ हजार छानबिनको प्रक्रियामा छन्। यसरी मोरङमा मात्रै पार्टी सदस्य ४० हजार पुग्दैछन् ।आउने निर्वाचनमा समानुपातिकतर्फ गत निर्वाचनको भन्दा बढी मत आउने छ। यसरी सदस्य सङ्ख्या देशैभरि बढिरहेको छ। विचरा प्रचण्ड, मसित हुँदा उनका ८ जना मन्त्री थिए। १२ जना पुर्याइदिनु पर्यो भनेको भए म बनाइदिन्थेँ। आज चारवटा कि पाँचोटा छन्। देउन, देउन भनेर बिन्ती गरिराख्या छन्।
लाजसरम छैन, आफ्नो झन्डै दुई तिहाइको प्रधानमन्त्री हटाएर एउटा दक्षिणपन्थी नेतालाई प्रधानमन्त्री बनाउन चिठी बोकेर कहिले राष्ट्रपति र कहिले अदालत धाइरहे।
हामीले चाह्यौँ भने यो सरकार हप्ता दिन पनि टिक्दैन। तर, हामी अहिलेलाई छाडिदिन्छौँ। किनभने यिनलाई लुतो लागेको छ। कन्याऊन्। कन्याउँदा–कन्याउँदा यिनका रौँ आफैँ झर्नुपर्छ। हामीले ढालेको अपजस किन बोक्नु?
सरकार प्राण त्याग गर्न खोज्दैछ। हामीले छोइदियौँ भने पनि सकिन्छ। तर त्यो हत्ते किन बोक्नु भनेर छोडिदिएको मात्रै हो। सरकार बेसरी चले १३ महिना चल्ने हो। त्यसपछि चुनाव त गर्नैपर्छ। चुनावपछि हामी नै आउने हो। नेपालमा जबजब चुनावमा वामपन्थी पार्टीले बहुमत ल्याउन खोज्छ अनि त्यो पार्टी फुटाइन्छ। यसअघि २०५४ सालमा पनि फुटाइयो। अहिले पनि त्यसै गरियो।
तर अर्काले टाँसिदिएका जुँगामा ताउ लगाउने विखण्डनकारीहरूले यो कुरा बुझुन्– उनीहरूले आगामी चुनावमा जित्ने त कुनै गुन्जायस नै छैन। जमानतसम्म जोगाएर हेरून्। उनीहरू भनिरहेका छन्– आगामी चुनावसम्म यो गठबन्धन रहनुपर्छ रे। खै, कांग्रेस यसमा बोलेको छ त?
उनीहरू पाँच वटा छन् र पञ्चमुखी छन्। एउटाले एक थोक बोल्छ, अर्काले अर्को थोक। देउवाले एमसीसीको चिठी पठाएको कुरा गर्नुभयो। प्रचण्डले होइन भने। कसको कुरा पत्याउनु?
त्यसैले कमरेडहरू आगामी तीन तहकै चुनावमा हाम्रो विजय सुनिश्चित छ। एमाले नेपालव्यापी होइन, नेपालीव्यापी पार्टी हो।
अस्ति १६ गते म राम जन्मभूमि अयोध्यापुरी गएँ। त्यो ठाउँ आज फरक भइसकेको छ। कतै बाटा बनिरहेका छन्, कतै बनिसकेका छन्। अब त्यहाँ राम मन्दिर बनाइसकेपछि त्यो ठाउँ विश्वका समस्त हिन्दुहरूका लागि महान् तीर्थस्थल हुनेछ। विश्वको जुनसुकै भूभागमा बसेको हिन्दु धर्मावलम्बी जीवनमा एक पटक त्यहाँ आइपुग्न खोज्नेछ। म त्यहाँ जाँदा सँगसँगै अर्को कुरा पनि पत्ता लाग्यो। शालिग्राम कालीगण्डकीमा मात्र पाइँदो रहेनछ। नेपालभित्रकै अयोध्या नजिकैको सरयू नदीमा पनि पाइँदो रहेछ। मैले पनि पाएँ। त्यहाँबाट मैले चार–पाँच वटा शालिग्राम भेटेर ल्याएको छु।
म जहाँ पुग्छु, त्यहाँको एउटा ढुङ्गो भए पनि लिएर आउँछु। मैले अमेरिका, चीन, जापान, अफ्रिका सबै ठाउँबाट ढुङ्गाहरू बटुलेर लिएर आएको छु। मेरा घरमा विभिन्न ठाउँबाट ल्याएका ढुङ्गाको थुप्रो नै छ। तर, अहिले सबै हेर्यो उस्तै छन्। कुन ढुङ्गा कहाँको भनेर छुट्याउनै सक्दिनँ। त्यतिबेलै ढुङ्गामा देशको नाम लेखेर राख्नुपर्ने रहेछ। तर सरयूबाट निकालेका चार–पाँच वटा ती शालिग्राम भने टाढैबाट चिनिन्छन्।
(एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले मोरङले विराटनगरमा २०७८ कात्तिक २२ गते गरेको चियापान समारोहमा गरेको सम्बोधनको सम्पादित अंश।)
