PahiloPost

Jan 1, 2025 | १७ पुष २०८१

वाग्मती प्रदेशका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत



निशा गुरुङ

वाग्मती प्रदेशका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत
फाइल फोटो।

हेटौँडा : वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेलाई विश्वासको मत प्राप्त भएको छ। सोमवारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाएका हुन्।

विश्वासको मतका लागि ५५ मत आवश्यक पर्नेमा प्रदेशसभामा भएको मत विभाजनमा पाण्डेले ५९ मत प्राप्त गरेका छन् भने विपक्षमा ४३ मत प्राप्त खसेको छ। नेमकिपाको २ मत तटस्थमा परेको छ।

कात्तिक ११ गते पद तथा गोपनीयताको सपथ ग्रहण गरेका पाण्डेले विश्वासको मत लिन कात्तिक १४ गते नै प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए। नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री बनेका उनले ३० दिनभित्र संसद्मा विश्वासको मत लिनुपर्ने प्रावधान रहेको छ।

प्रदेशसभामा एउटा मात्रै दलको बहुमत नपुगी दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री बनेको एक महिनाभित्र संसद्मा विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्थाबमोजिम पाण्डेले विश्वासको मत लिएका हुन्। १०९ प्रदेशसभा सदस्य रहेकोमा बहुमतको सरकार टिकाउन ५५ मत भए पुग्नेछ।

मुख्यमन्त्री राजेन्द्र पाण्डेले सदनबाट विश्वासको मत लिएलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने जनाइएको छ। उनले मुख्यमन्त्री नियुक्त भएकै दिन ३ जना मन्त्री नियुक्त गरी प्रदेश सरकार गठन गरेका थिए। पहिलो चरणमा उनले नेपाली कांग्रेस संसदीय दलका उपनेता कृष्णलाल भँडेल, नेकपा (माओवादी केन्द्र) संसदीय दलका उपनेता कुमारी मोक्तान र नेकपा (एकीकृत समाजवादी) संसदीय दलका उपनेता कृष्णप्रसाद खनाललाई मन्त्री नियुक्त गरेका थिए।

मुख्यमन्त्री पाण्डेले भँडेललाई भौतिक पूर्वाधार विकास मन्त्रालय, मोक्तानलाई सामाजिक विकास मन्त्रालय र खनाललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिएका छन्। कांग्रेस वाग्मती प्रदेशका सचेतक छिरिङ दोर्जे लामाका अनुसार सरकारले थोरै समयमा धेरै काम गर्नुपर्ने भएकाले आगामी एक साताभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने छ।

‘हामीसँग समय धेरै कम छ। प्रदेश र जनताको पक्षमा धेरै काम गर्न बाँकी छ। हिजोका दिनमा सरकारको नेतृत्व गर्नेहरु जनताको पक्षमा जिम्मेवार नबन्दा थुप्रै काम अधुरा छन्’, उनले भने, ‘जनताको काम पूरा गर्न पनि र सरकारलाई सफल बनाउन पनि हामीले मन्त्रालय थप गर्नै पर्छ। सोही अनुसार वाग्मती प्रदेशमा १३ वटासम्म मन्त्रालय हुन सक्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell