PahiloPost

May 26, 2025 | १३ जेठ २०८२

बैंकिङ कसुर मुद्दामा फरार रहेका भारतीय नागरिक पक्राउ



रासस

बैंकिङ कसुर मुद्दामा फरार रहेका भारतीय नागरिक पक्राउ

काठमाडौं : नेपाल प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार भारतीय नागरिकलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले नौ लाख ५० हजार रुपैयाँ जरिवाना गरेपछि फरार रहेका भारत मोतिहारीका ४५ वर्षीय राजहरण साहलाई आज दिउँसो पक्राउ गरेको हो।

ब्यूरोका प्रहरी उपरीक्षक कमल थापाले उच्च अदालत पाटनको विसं २०७७ माघ २६ को फैसलाअनुसार सात दिन कैद र बिगोबमोजिम नौ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर गरेपछि फरार रहेका साहलाई आज दिउँसो काठमाडौंको कमलपोखरीबाट पक्राउ गरिएको जानकारी दिए। पक्राउ परेका साहले ग्लोबल आइएमई बैंक लिमिटेडको ज्ञानेश्वरको खातामा पर्याप्त मौज्दात नहुँदा नहुँदै झुक्यानमा पारी चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेका थिए।

उच्च अदालतले साहलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ उल्लिखित सजाय हुने गरी फैसला सुनाएको थियो। साहलाई फैसला कार्यान्वयनका लागि आजै ललितपुर जिल्ला अदालत पेस गरिएको प्रहरी उपरीक्षक थापाले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell