काठमाडौँः नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा प्रकरणमा चाँडो निर्णय दिन आग्रह गर्दै दलहरुलाई ध्यानकर्षणपत्र बुझाउने भएको छ। मातहतका बार इकाईका अध्यक्ष र सचिवसँगको परामर्शपछि बारले दलहरुलाई विवादमा चाँडो निकास दिन आग्रह गर्ने निर्णय बार पदाधिकारी बैठकले गरेको हो।
‘प्रधानमन्त्री तथा संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई अहिलेको कदमलाई चाँडो निष्कर्षमा पुर्याउन ज्ञापनपत्र बुझाउने निर्णय भएको छ’, बार महासचिव लीलामणि पौडेलले भने।
महासचिव पौडेलका अनुसार इकाईहरुको सुझावका आधारमा प्रधानन्यायाधीशको राजीनामा नआएसम्म आन्दोलन जारी राख्ने पनि निर्णय भएको छ।
यस्तै, आन्दोलनलाई विस्तार गर्दै उपत्यकाबाहिर कात्तिक २८, २९ र ३० गते कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्ने निर्णय बारले गरेको छ। यस्तै, आन्दोलनका विषयमा जनमानसमा स्पष्ट पार्न स्वेतपत्र जारी गर्ने निर्णय पनि बैठकले गरेको छ।
न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको प्रतिवेदन कार्यान्वयनका लागि आ–आफ्नो तर्फबाट लाग्ने निर्णय पनि बारले गरेको छ।
प्रधानन्यायाधीश सम्मिलित इजलासमा नबस्न बारले अन्य न्यायाधीलाई आग्रह पनि गरेको छ। यस्तै, प्रधानन्यायाधीशले बोलाउने न्याय परिषद र न्याय सेवा आयोगको बैठकमा नजान बारले सम्बद्ध पदाधिकारीलाई पनि आग्रह गरेको छ।
बारले उपत्यकाभित्रको जारी आन्दोलनलाई पनि विस्तार गरेको छ। कात्तिक २३ गतेदेखि ३० गतेसम्म कालोपट्टीसहितको विरोधको कार्यक्रम गर्ने निर्णय बारले गरेको छ।
बार बैठकले अदालत परिसरबाट दंगा प्रहरी हटाउन पनि माग गरेको छ।
