PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

दशकको अथक प्रयासपछि शिरमा 'मिस युनिभर्स नेपाल'को ताज : यस्तो छ मेरिल्यान्डमा जन्मेकी सुजिताको संघर्षको कथा



लक्ष्मी बलायर

दशकको अथक प्रयासपछि शिरमा 'मिस युनिभर्स नेपाल'को ताज : यस्तो छ मेरिल्यान्डमा जन्मेकी सुजिताको संघर्षको कथा

'मिस युनिभर्स नेपाल २०२१' को फिनालेमा विजेता घोषित हुनुअघि। दुई जना प्रतिस्पर्धी थिए बाँकी। एक निनाकान्त मण्डल, अर्को सुजिता बस्नेत। दुबै परिचित प्रतिस्पर्धी। किनकि दुबै जना गत वर्ष नै यो ताजका लागि आमनेसामने भएका थिए। जसले सुजिताको धड्कन तेज बनाइरहेको थियो - कतै निनाकान्तले पहिरिने त हैन?

परिणाम जेसुकै होस् - निनाकान्तको हालत पनि त्यस्तै थियो। त्यसैले होला रक्षा उप्रेती सेकेन्ड रनर अप घोषित भएसँगै निनाकान्त सुजितासँगै हेलिन आइन्। आँगलो हालिन्। दुबै अगाडि बढे। दुबैले एक अर्काको हात छाडेनन्।

जब विजेताको नाम घोषणा भयो। एकछिन निकै भावुक बनिन् सुजिता। उनलाई त्यो पल सपनाजस्तै लागिरहेको थियो। भन्छिन्, 'नाम घोषणापछि त मेरो दिमाग नै खाली भएको थियो। एकछिन म निकै भावुक बनेकी थिए। आँशु त्यसै खस्न थाले। कतै सपना त देखिरहेको छैन भएको थियो।'

त्यो दिनमात्र हैन, केही दिनसम्मै आफू 'मिस युनिभर्स नेपाल' बनेको कुरा उनलाई पत्यार लागिरहेको थिएन। जब मिस युनिसभर्स नेपालको विकिपिडिया पेजमा नेपालको झन्डाको छेउमा आफ्नो नाम देखिन्। त्यतिखेर बल्ल निकै खुसी लाग्यो उनलाई। र, मिस युनिभर्स नेपाल भएको भन्ने लागेको उनले बताइन्।

सौन्दर्य प्रतियोगितामा कसरी रुचि जाग्यो?

अमेरिकाको मेरील्यान्डमा जन्मेकी हुन् सुजिता। गैर आवासीय नेपाली सुजिता आमा र बहिनीसँग मेरील्यान्डमै बस्छिन्। उनी सानै हुँदा उनका बुवा र आमा अलग्गिए।

अमेरिकामा जन्मिए पनि नेपाल आउनेजाने गर्थिन् सुजिता। हजुरआमा झम्सीखेलमा बस्छिन्। हजुरआमाकै संगतका कारण सुजितालाई स्पष्ट नेपाली बोल्न आउँछ।

सन् २०११ मा अमेरिकामा पहिलोपटक 'मिस नेपाल युएस' आयोजना हुने तय भयो। त्यतिखेर सुजिताको कलेज बिदा थियो। फुर्सदको समयमा उनले 'मिस नेपाल युएस' भाग लिने सोचिन्। छनोट भएपछि न्युयोर्कमा जान पाइन्छ भन्ने लोभले फर्म भरिन्। छनोट भएर न्युयोर्क पनि पुगिन्। रहरले प्रतिस्पर्धामा होमिएकी सुजिता पहिलो 'मिस नेपाल युएस २०११' को विजेता नै बनिन्।

त्यसैपछि मात्रै हो सुजिताले यस्ता सौन्दर्य प्रतियोगिताबारे बुझ्न थालेको। आखिर के रहेछ त ब्युटी पेजेन्ट? थप ज्ञान बढाउँदै लगिन्। यही यात्राकै क्रममा सन् २०१६ मा उनी 'मिस मेरील्यान्ड वर्ल्ड' मा विजेतासमेत बनिन्। मेरिल्यान्डको प्रतिनिधित्व गर्दै उनी 'मिस वर्ल्ड अमेरिका'मा प्रतिस्पर्थामा उत्रिइन्। सन् २०१६ मा भएको उक्त प्रतिस्पर्धामा उनी टप १२ सम्म पनि पुगिन्।

उनलाई यस्ता प्रतियोगिताहरुको नशा नै लागिसकेको थियो। अमेरिकामा हुने विभिन्न प्रतियोगितामा सफल भएकी सुजितालाई नेपालको प्रतिनिधित्व हुने प्रतियोगितामा भाग लिने इच्छा भने सधैँ खड्किरह्यो। विदेशमा बसे पनि आफ्नो पृष्ठभुमि त नेपाली हो भन्ने महसुस हुँदो रहेछ उनलाई।

‘मिस नेपाल यूएसए विजेता बनेपछि मैले विभिन्न प्रतियोगितामा भाग लिए। धेरैमा सफल पनि भए। तर एकपटक नेपाल गएर प्रतियोगितामा सहभागी हुन्छु भन्ने धोको नै थियो। किनकी मलाई अन्तर्राष्ट्रिय स्तरमा नै नेपालको प्रतिनिधित्व गर्ने निकै चाहना थियो। अमेरिकाको प्रतियोगितामा भाग लिँदा पनि म आफूलाई नेपाली भन्थेँ। अवसर मिले नेपालको प्रतिनिधित्व गर्छु भन्ने थियो,' उनले सुनाइन्।

'मिस युनिभर्स नेपाल' ले दिएको अवसर

गत वर्ष नेपालमा पहिलोपटक 'मिस युनिभर्स नेपाल २०२०' घोषणा गरियो। प्रतियोगिताको फ्रेन्चाइज नेपालमा उमंग क्रिएशन प्रा. लीले भित्र्याएको हो। सन् २०१७ मा पहिलो पटक मिस युनिभर्समा नेपालको प्रतिनिधित्व नग्मा श्रेष्ठले गरेकी थिइन्।

'मिस युनिभर्स नेपाल' गैर आवासीय नेपाली(एनआरएन)ले भाग लिन पाउने नियम थियो। उनले मिस नेपालमा पनि भाग लिन खोजेकी थिइन्। तर एनआरएनलाई सहभागी हुन पाउने नियम नभएकाले सहभागी हुन् पाइनन्। 'मिस युनिभर्स नेपाल' एनआरएन पनि सहभागी हुन सक्छन् भन्ने थाहा पाएपछि निकै खुसी भइन् सुजिता। सहभागी भएर उनी गतवर्ष फस्ट रनरअप बनेकी थिइन्।

२८ वर्षीया सुजिताले 'मिस युनिभर्स नेपाल' मा भाग लिन पाउने अन्तिम मौका थियो। किनकी यो प्रतियोगितामा १८ देखि २८ वर्षसम्मकाले युवतीहरुले मात्रै सहभागी हुन पाउने नियम छ। दोस्रो संस्करणको आवेदन खुल्ने बित्तिकै सुजिताले फर्म भरिन्।

टप १६ मा छनोट भएपछि कामबाट एक वर्षको बिदा लिएर अमेरिकादेखि उनी नेपाल आइन्। जितिएन भने पनि एक वर्ष नेपालमा घुम्छु भन्ने योजना थियो उनको।

तर यसपाली निकै मिहिनेत गरेर आएको बताउँछिन् सुजिता। तयारी पहिलेदेखि नै थियो। ऐना अगाडि उभिएर उनी आफूलाई युनिभर्स नेपाल भएको परिकल्पना गर्थिन्। आफूलाई निर्खाथिन्, अनि आत्मविश्वास बढाउँथिन्। अन्तत: सुजितालाई मिहिनेतको फल मिलेको छ। उनको १० वर्षदेखिको सपना पुरा भएको छ। मिस युनिभर्स नेपाल बनेसँगै नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने इच्छा पुरा भएको उनको भनाई छ।

सामाजिक सेवामा पहिलेबाटै

सन् २०१३ ताका। बायोमेडिकल इन्जिनियरिङ पढ्ने सुजिता फेलोसिप गर्न तीन महिनाको लागि दाङ पुगेकी थिइन्। 'पिस फेलो' संस्थासँग जोडिएर दाङ पुगेकी उनले त्यहाँका स्थानीय समुदायलाई नजिकबाट नियाल्न पाइन्। जहाँका कतिपय मुक्त कमलरी समुदायका छात्राहरु विद्यालय जान पाइरहेका थिएनन्। उच्च शिक्षा त परको कुरा। जुन कुराले उनको मन निकै छोएछ। उनले त्यहाँको समुदायको लागि केही गर्ने सपना लिएर अमेरिका उडिन्।

अमेरिका पुगेपछि के गर्ने, कसरी गर्ने भनेर उनी योजना बनाउन थालिन्। तर त्यतिखेर नै फन्ड जुटाउन सकिनन्। जसकारण इच्छा भएपनि केही गर्न नसकेको बताउँछिन् उनी। सन् २०१६ मा उनले 'न्याय हेल्थ'सँग सहकार्य गरेर ‘लिभरेटेड इडी स्कलरसिप’ प्रोजेक्ट सुरु गरिन्। जुन प्रोजेक्टले पिछडिएका र तल्लो जातका नेपाली महिलाहरूलाई उच्च शिक्षा, नेतृत्व तालिम र जागिरको व्यवस्था गरिदिन्छ।

यो प्रोजेक्टको पहिलो छात्रवृत्ति निर्मला विकले पाएकी हुन्। उनलाई नर्सिङ पढ्ने निकै इच्छा रहेछ। विभिन्न ठाउँमा स्वयमसेवकको रुपमा उनले काम गरिसकेकी थिइन्। तर उनलाई डिग्री चाहिन्छ भन्ने सोच रहेछ।

उनी भन्छिन् ‘ठ्याक्कैः हामीलाई पनि निर्मलाजस्तै सहभागी चाहिएको थियो। त्यसैले हामीले उनलाई रोज्यौँ। ओम नर्सिङमा उनको कोर्स पनि पुरा भएको छ। एक वर्ष काम गरेर उनको छात्रवृत्ति समाप्त हुन्छ। त्यसपछि मात्रै हामी अर्को जनालाई दिन्छौँ। किनकी वर्षौ पिच्छे दिन निकै गाह्रो छ।’

सुजिताको बुझाइमा सौन्दर्य प्रतियोगिता

यस्ता ब्युटी पेजेन्टलाई लिएर नेपालभन्दा अमेरिकामा बुझाइ राम्रो रहेको उनको तर्क छ। ‘विदेशमा यस्ता प्रतियोगिताको प्रचार बढी हुन्छ। उता सानैदेखि तालिमहरु दिइन्छ। यस्तो प्रतियोगितामा जान उनीहरु हिड्नेदेखि बोल्नेसम्म तालिम लिइरहेका हुन्छन्। जो नेपालमा चाँहि छैन। नेपालमा अझै यस्तो प्रतियोगितामा भाग लिन् केटीहरु लजाउँछन्।’

नेपालमा मात्रै नभएर संसारभरि नै यस्तो प्रतियोगितालाई सौन्दर्यताको रुपमा हेर्ने उनको दाबी छ। तर यो क्षेत्र ग्ल्यामर र सौन्दर्यमात्रै नभएर एउटा नेतृत्व गर्ने सक्ने प्रतियोगिता भएको उनको भनाई छ।

‘अहिलेसम्म ब्युटी पेजेन्ट के हो भनेर सबैले बुझ्नु भएको छैन। तर बिस्तारै बुझिरहेको अवस्था छ। विस्तारै ज्ञान बढिरहेको छ। यस्तो प्रतियोगीतामा भाग लिन सुन्दर भएर मात्रै हुँदैन। नेतृत्व गर्ने सक्ने, वकालत गर्न सक्ने र बलियो सञ्चार गर्ने सक्ने क्षमता हुनुपर्छ भनेर बिस्तारै सबैलाई थाहा हुँदैछ,’ उनले सुनाइन्।

आउँदो १२ डिसेम्बरमा इजरायलमा हुने ‘मिस युनिभर्स’मा सुजिताले नेपाललाई प्रतिनिधित्व गदैछिन्। अब सुजिता मिस युनिभर्स प्रतिस्पर्धाको तयारीमा छिन्। ‘यसपाली निकै कम समय छ। १२ डिसेम्बरमा फिनाले छ। तर तालिमको लागि छिटो नै जानुपर्छ। नेपाललाई मज्जाले चिनाउने र प्रतिनिधित्व गर्ने सोच छ। मिस युनिभर्सको क्राउन नै नेपाल ल्याउने सपना छ,’ उनले खुसी हुँदै सुनाइन्।

प्रोजेक्टलाई पनि अघि बढाउने योजना छ उनको। यो भन्दा पनि कुनाकन्दरा पुगेर वास्तविक नेपाल हेर्ने धोको छ सुजिताको।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell