PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

ओली प्रचण्ड बिच 'तुच्छ' आरोप प्रत्यारोपमा चर्को प्रतिस्पर्धा



प्रकाश भण्डारी

ओली प्रचण्ड बिच 'तुच्छ' आरोप प्रत्यारोपमा चर्को प्रतिस्पर्धा

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सोमवार काठमाडौंको कीर्तिपुरमा आयोजित एउटा कार्यक्रमलाई सम्बोधन गरे। कार्यक्रम शुभकामना आदानप्रदानको भए पनि प्रचण्डको भाषण राजनीति केन्द्रित रह्यो। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई निशानामा राखेर चर्को अभिव्यक्ति प्रचण्डका लागि शुभकामना वहाना बन्यो।

'गणतन्त्र उल्ट्याउन ओलीले तानाबाना बुनिरहेको छन्' भन्ने गम्भीर आरोप लगाए प्रचण्डले। पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटेर ओलीले मौका पाएमा गणतन्त्रलाई उल्टाउन सकिन्छ भनेको सूचना आएको दाबी गरेका थिए उनले।

त्यसो त ओली र प्रचण्डले एक अर्कालाई सकेसम्मको गालीको वर्षा गर्नु नौलो विषय भने होइन।

ओलीको गाली गर्ने शैली प्रचण्डको भन्दा झन् चर्को छ। उनले आफ्ना विरोधीको आलोचना गर्न उखान टुक्कादेखि हास्यव्यांग्यको समेत सहारा लिन्छन्। सोमवार प्रचण्ड कीर्तिपुरबाट गर्जिँदा ओलीले चितवनको भरतपुरलाई आधार बनाएर आफू विरोधीमाथि निसाना साँधेका थिए। प्रचण्डको चुनावी क्षेत्रमै पुगेर उनीबारे ओलीले लगाउने आरोपको विशेष अर्थ थियो। त्यसैले ओलीले त्यहाँ प्रचण्डपुत्री रेणु दाहाललाई चुनावमा मतपत्र च्यातेर जिताएको आरोप लगाए।

माओवादीको औचित्य सकिसकेको दाबी गरिरहेका ओलीले चितवनमा पनि त्यही दाबीलाई दोहोर्‍याए। प्रचण्डको आलोचना गर्न छोरी रेणु दाहालको ओलीले सुरुमै आलोचना गरे। आफू निकट नेता देवी ज्ञवालीको हारमा बदला लिने ओली नीति नै देखिन्थ्यो त्यहाँ। उनका भाषण सुन्दा लाग्थ्यो - चुनाव दैलोमै छ।

ओली र प्रचण्डबिच एकअर्काप्रतिको विष वमन् सुन्दा पत्याउन कठिन हुन्छ - यी दुवै एकै दल हाँक्ने नेता थिए, एउटै जेट नेकपाका सहचालक। एक अर्काको आलोचनामात्र होइन कतिसम्म तुच्छ शैलीमा उत्रन सक्छन् नेताहरु भन्ने बुझ्न पनि यी दुईका अभिव्यक्ति केलाउँदा पर्याप्त हुन्छ।

पाण्डव हुने होडबाजी

एमालेका अध्यक्ष ओलीले गत साताको सोमवार र मंगलवार दुई दिन चितवनमा बिताए। चितवनमा हुन लागेको १० औं महाधिवेशन केन्द्रित गरेर एमालेले पार्टीका गतिविधि अगाडि बढाइरहेको छ। त्यसका लागि शक्ति प्रदर्शनको तयारी स्वरुप ओलीले सम्बोधन गरेका थिए। सोमवार भरतपुर महानगरको एमाले अधिवेशनलाई सम्बोधन गरेका ओलीले आफ्नो पुरानै शैलीमा विरोधीको खिसिट्याउरी गरे। उनले चुनावमा अहिलेको सत्ता गठबन्धनलाई धोवीले लुगा पछारेजस्तै पछार्नुपर्ने रणनीति सुनाए।

'हामी यो सरकार फेरबदलतिर छैनौँ। चुनावबाट कहिलेसम्म भाग्लान्? स्थानीय तहको चुनाव त चैतमा घोषणा भयो। स्थानीय तहको चुनावमा यिनीहरुलाई धोबीले लुगा पछारेझै पछार्नुपर्छ,' ओलीको चुनाव लक्षित भाषण थियो।

मंगलवार माडी पुगेका ओलीले महाभारतको प्रसंग निकाल्दै प्रचण्डमाथि प्रहार गर्दै उनलाई कौरवको संज्ञा दिन पछि परेनन्। प्रचण्डले चितवनलाई कुरुक्षेत्र बनाउन खोजेको भन्दै आफू पाण्डव भएको ओलीको दाबी थियो।

'कुरुक्षेत्रै बनाउन खोजेको हो भने कौरवहरुले जितेका थिएनन् पाण्डवहरुले युद्ध जितेका थिए। जसले युद्ध चाहेका थिए उनले जितेका थिएनन्,' ओलीको भनाइ सोझै प्रचण्डतिर थियो।

कात्तिक १२ गते भरतपुरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा प्रचण्डले पनि चितवनमा आउने चुनावमा हुनसक्ने प्रतिस्पर्धालाई कौरव र पाण्डवको युद्धसँग तुलना गरेका थिए। ओलीले त्यसैको जवाफ फर्काएका थिए।

चितवनलाई प्रचण्डले महाभारतका रुपमा हेर्न कार्यकर्तालाई निर्देशन दिएका थिए। उनले आफू पाण्डव भएको दाबी गर्दै ओलीलाई कौरव भएको आरोप लगाए। 'यो महाभारत, यो कुरुक्षेत्र हुन लागेको चितवनमा कल्ले जित्ने हो? कौरवले कि पाण्डवले? हेर्नुछ,’ प्रचण्डले भनेका थिए।

गणतन्त्रवादी को हुने?

ओलीले पुस ५ र जेठ ८ गते प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्डले ओलीलाई कमजोर पार्ने सबैभन्दा बलियो शब्दको हतियार बनाएका थिए - गणतन्त्र। पछिल्ला राजनीतिक उपलब्धिलाई ओलीले मास्न खोजेको प्रचण्डको आरोप थियो। ओलीले २०६२/६३ को आन्दोलनबाट गणतन्त्र ल्याउनु भनेको 'बयलगाडा चढेर अमेरिका पुग्नु' भन्दै दिएको अभिव्यक्तिलाई जोडेर गणतन्त्रविरोधी नेताका रुपमा चित्रण गरेका थिए प्रचण्डले।

दुई नेताबिच आरोप प्रत्यारोपको खेल प्रतिनिधिसभा पुनर्स्थापन पछि पनि रोकिएको छैन।

ओलीले आफू गणतन्त्रका लागि लडेको नेता हुँ भनेर देखाउन जेल बसेको घटनालाई बारम्बार सुनाउने गर्छन्।  प्रचण्डले कीर्तिपुर पुगेर ओलीले राजावादीसँग साँठगाँठ गरेको भन्दै लगाएको आरोपको जवाफ ओलीले ३ दिन पछि बिहीवार भक्तपुर पुगेर दिए।

'गणतन्त्रको कुरा गर्नुभन्दा २२ वर्ष अगाडि गणणन्त्रको आन्दोलन लिएर म जेलमा परेको थिएँ। र, मतदानको बाटोबाट वामपन्थी सरकार बनाएर देखाइसकेका थियौं,' प्रचण्डलाई ओलीको जवाफ थियो।

भाँडाकुँडाबारे पनि आरोप र खण्डन

ओली प्रचण्डको सवालजवाफ उनीहरुको राजनीतिक विषयमा मात्रै अट्दैन। त्यसको दायरा राजनीतिभन्दा धेरै परसम्म देख्न पाइन्छ। बालुवाटारमा बस्दा कसले के गर्‍यो भन्नेमा समेत उनीहरुको जुहारी चलिरहेको छ। कात्तिक १२ मा चितवन पुगेका प्रचण्डले एक अन्तर्क्रियाका क्रममा ओलीलाई बालुवाटारमा रोमबाट भाडाकुडा ल्याएर थुपारेको आरोप लगाएका थिए। आफूलाई डेढ लाखको खाटमा सुत्यो भनेर ओलीका मान्छेले आरोप लगाउने गरेको भन्दै प्रचण्डले भनेका थिए, 'प्रचण्ड डेढ लाखको खाटमा सुत्यो भनियो। बाबा त्यो होइन भने पनि भएन। बाहिर ल्याएर भाँचदिउँ भने पनि भएन। अहिले बालुवाटारमा प्रम बस्ने घर झण्डै दरबार जस्तो बन्दै छ। केपीले त यो दरबार मैले जिन्दगीभरी छोड्नु पर्दैन भन्ने परेछ। इटाली रोम लगायतबाट यति महँगा महँगा सामान ल्याएर थुपारेको रहेछ हेर्नुस्।' प्रचण्डले उक्त आरोप लगाउँदा देउवालाई साथमा लिन खोजेका थिए।

उनले भनेका थिए, 'अरु त अरु ओलीले त्यसो गरेको देख्दा शेरबहादुरले पनि जिब्रो टोक्नुभएको छ। बाफरे केपी ओलीको दम्भ! उनले के ठानेको रहेछन्? राजा भएँ भन्ने ठानेका रहेछन्? राजा भए अब यो दरबार छोड्न पर्दैन भनेजस्तो गरे। यो जनताले थाहा पाउनुपर्‍यो।'

सधैं प्रचण्डले के बोले भन्नेमा चासो दिइरहने ओलीले बालुवाटारमा भाँडाँकुडा राखेकोबारे लागेको आरोपको जवाफ नदिने कुरै थिएन। उनले कात्तिक १३ मा काठमाडौंमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा उक्त आरोपको खण्डन गरे।

'केको सरकारी पैसामा किन्नु? प्रधानमन्त्री निवासमा सेना पनि बस्छ। उसलाई खाना खानुपर्‍यो होला। श्रीमतीले पकाएको खाना खाएर बस्ने मलाई किन करोडौंका भाँडाकुँडा चाहियो?,' ओलीले जवाफी प्रश्न गरेका थिए।

तुच्छ शैलीको परिणाम

ओली-प्रचण्डका पछिल्ला अभिव्यक्तिमात्रै होइन, तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद सुरु भएयताका एक अर्का लक्षित भाषणहरु कम्युनिस्ट आचारण बाहिरका छन्। कसले बढी गाली गर्नसक्ने भन्नेमा उनीहरु बिच होडबाजी नै छ। प्रचण्डलाई पार्टी एकताका बेला भएका सहमति अनुसार प्रधानमन्त्री हुन नपाएको झोक र ओलीलाई आफूलाई प्रधानमन्त्रीबाट हटाउन प्रचण्डले गरेको मोर्चाबन्दीको रिस उनीहरुको दैनिक अभिव्यक्तिमा रिले हुनेगर्छ।

यतिसम्म कि सार्वजनिक कार्यक्रममा उनीहरुले एक अर्कालाई लगाउने लाञ्छना उनीहरुले नै आफ्नो पार्टी कमिटीमा तयार पारेको अनुशासनभित्र अटाउँदैन। नेकपामा विवाद उत्कर्षमा पुगेका बेला ओलीले २०७७ पुस १९ गते प्रचण्डलाई 'शहीद भएको भए श्रद्धान्जली दिन हुने थियो' भन्दै तल्लो स्तरमा गाली गरेका थिए। जसले ओली नजिकका नेताहरुले त्यसलाई आलोचनात्मक रुपमा भन्दा बढी वाहवाहीका रुपमा लिए। यसले एमालेभित्रको हार्दिकता बिस्तारै कम हुँदै गएको देखाउँछ।

त्यतिबेला ओलीका यस्तै टिप्पणीका कारण नेकपाका ओलीइतर नेताहरुले ओलीलाई सकेसम्म प्रहार गर्ने रणनीति बनाएका थिए। प्रचण्डले एमालेकै तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालसँग मिलेर देशव्यापी आन्दोलन चर्काएका थिए। ओलीको गाली गलौचका कारण नेकपाका नेताहरुले उनलाई घेराबन्दीमा पार्थे नै, अदालतले ब्युँताएको एमालेमा समेत आफ्नै बोली अप्ठेरो बन्ने गरेको थियो ओलीको। दोस्रो तहका नेताहरुले नेपाल समूहसँग हार्दिकताका सँग कुरा गरिरहेका बेला ओलीले तल्लो स्तरमा गालीगलौच गर्न थालेपछि बेलाबेलामा सहमति भाडिएको एमालेका दोस्रो तहका नेताहरु बताउँछन्। अझ ओलीले आफ्ना विरोधीको खिसी गर्ने शैलीले कति सम्मको परिणाम आयो भन्ने कुरा उनी नेतृत्वको सरकारको बहिर्गमन र नेकपा एमालेको हालको अवस्थाले प्रष्ट्याउँछ।

एमाले संसदको सबैभन्दा ठूलो पार्टी भएर पनि सत्ता बाहिर पुगेको छ। प्रदेशमा पनि लगालग एमालेले सत्ता गुमाउनुपर्ने बाध्यता आइलाग्यो। अब एमालेसँग केन्द्र र प्रदेशमा आफ्नो पार्टीको सरकार बनाउन कम्तिमा पनि निर्वाचन कुर्नुपर्ने छ। यसरी सत्ता र शक्तिबाट बाहिरिनुमा ओलीको शैली कारक रहेको एमालेमा उनी इतर पक्षका नेताहरु बताउँछन् भने अनौपचारिक कुराकानीमा उनी पक्षधर पनि स्वीकार्छन्।  

एमालेका उपाध्यक्ष भीम रावलले १० बुँदे कार्यान्वयन कार्यदलबाट राजीनामा दिँदा ओलीका अभिव्यक्तिलाई कारण ठहर्‍याएका थिए। ओलीको शैलीका कारण १० बुँदे कार्यान्वयनमा समस्या भएको उनले उल्लेख गरेका छन्। उनको उक्त राजीनामा पत्रमा १० बुँदे सहमति गर्दा माधव नेपाललाई अध्यक्ष बनाउने समझदारी बनेको दाबी गरिएको छ। तर, ओलीको तिक्त अभिव्यक्तका कारण सहमति भाँडिएको रावलको दावी छ।

'सार्वजनिक रुपमा भएका कटु शब्दवाणका कारण स्थिति बिथोलियो। तर, त्यसपछि पनि सहमतिको वातावरण बनाउन स्थायी कमिटीका सदस्यहरुको भरमग्दुर प्रयास भएको थियो,' रावलको राजीनामापत्रमा भनिएको छ।

दुवैको चिडचिडाहट र छटपटाहट उस्तै

अहिले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा सत्ता साझेदारी गरिरहेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको बोली पनि ओलीको भन्दा धेरै फरक छैन। जसरी ओलीले पार्टी र संगठन निर्माणमा भन्दा आफू विरोधीलाई खुइल्याउने रणनीति बनाएर अघि बढिरहेका छन्, त्यस्तै शैलीमा प्रचण्डले पनि आफ्ना विरोधीलाई प्रहार गर्ने रणनीति अघि सारेका छन्। पार्टीको संगठन बिस्तार र चुनावनको तयारीमा भन्दा पनि ‌ओली र प्रचण्डको ध्यान आफ्ना विरोधीलाई कमजोर बनाउन गर्न सके चुनाव जित्न सकिन्छ भन्नेमा छ। अहिले मुख्यगरी प्रचण्डले ओलीलाई कमजोर देखाउन राजावादीहरुसँग ओलीको गठबन्धन बनिरहेको आरोप लगाइरहेका छन्। उनले बेलाबेलामा ओली एक्लै नभएर पूर्व राजा ज्ञानेन्द्र शाह, राप्रपाका नेता कमल थापा र लोकतन्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर उनको पक्षमा भएको दाबी गरिरहेका छन्। प्रचण्डले उनीहरुलाई कमजोर पार्न आफू एक्लै होइन गठबन्धनका नेताहरुको समेत साहारा लिइरहेको देखिन्छ।

यता ओली एकातिर आउने चुनावमा सबैभन्दा ठूलो पार्टी हुने दाबी त गरिरहेका छन् तर उनी गठबन्धनसँग एमाले पराजीत हुनसक्ने भन्दै पराजयको मानसिकतका कारण गठबन्धनमा आवद्ध दलहरुलाई एक्लै चुनावमा लडेर देखाउन चुनौती पनि दिइरहेका छन्। ओलीका अभिव्यक्तिमा अलमल धेरै देखिन्छ।

किन ओली प्रचण्ड भए आरोप प्रत्यारोपमा केन्द्रित?

एमाले र माओवादी केन्द्रबिच एकता गराएर तत्कालीन नेकपाको पाइलटद्वय भएको दाबी गरेका ओली र प्रचण्डको भनाई टिकेन। हुन त उनीहरुको सम्बन्ध यसअघि पनि समधुर थिएन। कमजोर बनेको माओवादी केन्द्रलाई आफ्नो अस्तित्व जोगाउनुपर्ने बाध्यता र ओलीलाई बहुमतको सरकार चलाउने लोभका कारण २०७५ जेठ ३ गते माओवादी र एमाले एकीकरण घोषणा भएको थियो। तर, उक्त घोषणा सैद्धान्तिक भन्दा बढी लेनदेनमा आधारित भएकाले ओली - प्रचण्ड बिच जेठ २ गते सत्ता साझेदारीको गोप्य सहमति भएको थियो। सहमति पालना नभएपछि प्रचण्डले ओलीलाई सत्तामा टिकिरहने अवस्था हुन दिएनन् भने एकतालाई भंग गर्ने पक्षमा थिए, ओली। ओलीलाई सजिलो २०७७ फागुन २८ गते अदालतको एमाले माओवादी ब्युँताउने फैसलाले गराइदिएको थियो। 

ओली र प्रचण्डको आरोप प्रत्यारोपको शैलीलाई लिएर केही एमाले र माओवादीका नेताहरुले प्रश्न उठाउने गरेका छन्। तर, प्रश्न उठाउने नेताहरुलाई पनि उनीहरुले कालन्तरमा कमजोर बनाउँदै लगेको भेटिन्छ। राजधानीमा भएको एक जमघटमा एमालेका उपमहासचिव घनश्याम भुसालले ओलीको शैलीको बेलिबिस्तार लगाएका थिए। उनले ओलीको शैलीका कारण नै अहिलेको अवस्था आएको बताएका थिए। अझै ओलीले शक्ति केन्द्रित गर्न लागेकाले झनै अप्ठेरोमा एमाले पर्न लागेको भनेका थिए।

 ‘दलाल पुँजीवादलाई हामीले सत्ताको भर्‍याङ मात्र बनायौँ। एमाले लोकतान्त्रिक परिपाटी भएको पार्टी हो। विधान महाधिवेशनका हिसाबले जाने हो भने हामी ध्वस्त भइसक्यौँ। व्यक्तिदेखि व्यक्तिसम्म गएको किन भने संस्थागत जीवन ध्वस्त भइसक्यो,' भुसालले भनेका थिए।

राजनीतिक विश्लेषक डा. पुरुषोत्तम महरठ्ठा नेताहरुसँग ऐजेण्डा नभएर आरोप प्रत्यारोपमा लागेको तर्क गर्छन्। 'अहिले उनीहरुसँग खासै ऐजेण्डा छैन। त्यसैले आफ्नो विरोधी को हो, उसैलाई आरोप लगाइयो भने ताली पाइन्छ भन्ने मानसिकता छ,' उनले भने। यस्तो आरोप प्रत्यारोपको शैलीले राजनीतिक संस्कारलाई भाड्ने उनको टिप्पणी छ। संस्कारको राजनीति घट्नुमा ओली-प्रचण्डको शब्दवाणले काम गरिरहेको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell