आइतवार अफगानिस्तान न्युजिल्याण्डसँग पराजित भएसँगै भारत टी २० विश्वकप बाट बाहिरियो। सन् १९९२ पछि पहिलो पटक एक खेल बाँकी रहँदै सेमिफाइनल पुग्नबाट भारत चुकेको हो। भलै प्रतिष्ठा को खेल मानिएको नामिबियासँगको अन्तिम खेलमा भारत विजयी भयो।
भारतका लागि विश्वकप त सकियो तर योसँगसँगै भारतीय टोलीमा परिवर्तन भने हुँदैछ। अब भारतीय टोलीमा कप्तानका रुपमा विराट कोहली र प्रशिक्षकका रुपमा रवि शास्त्रीको जोडी देखिने छैन। अब १७ तारिखबाट सुरु हुने गइरहेको भारत र न्युजिल्याण्डबिचको टी २० सिरिजमा भारतीय टोलीको प्रशिक्षक राहुल द्रविड हुनेछन्। टी २० विश्वकप पछि कप्तानी छाड्ने घोषणा गरेका विराटलाई एकदिवसीय टिमको पनि कप्तान छाड्नुपर्ने अवस्था आउन सक्ने चर्चा भारतीय सञ्चारमाध्यमहरुमा छ। हालसम्म उपकप्तान रहेका रोहित शर्मा विराटको उतराधिकारीको होडमा छन्।
नामिबियासँगको खेल अघि कोहली र खेलपछि रवि शास्त्रीले पनि रोहितको प्रशंसा गर्दै उनको कप्तान बन्ने सम्भावनालाई थप उजागर गरेका थिए। न्युजिल्याण्डविरुद्धको सिरिजका लागि बुधबार या विहीबार टिमको घोषणा हुने सम्भावना छ।
भारतीय टोलीको कप्तानीको होडमा शर्मासँगै केएल राहुल पनि अगाडि छन्। यद्यपि, भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) रोहित शर्मालाई कप्तानी दिएर राहुललाई उपकप्तान बनाउने तयारीमा रहेको दैनिक जागरणले लेखेको छ।
हाल बीसीसीआई यस्तो कप्तानको खोजीमा छ जो सन् २०२२ मा अस्ट्रेलियामा हुने टी २० विश्वकप र भारतमा हुने एकदिवसीय विश्वकपमा भारतको कप्तानी गरुन्। यसैको कारण कोहलीले एकदिवसीय टिमको कप्तानी छाड्नुपर्ने अवस्था आउने सम्भावना बढेको बताइन्छ।
विराटको प्रदर्शन र आलोचना
आईसीसीको प्रतियोगितामा कोहलीको कप्तानीमा भारतको प्रदर्शन धेरै राम्रो छैन। सन् २०१७ मा च्यापियन्स ट्रफीको फाइनलमा पाकिस्तानसँग पराजित भएको भारत सन् २०१९ को विश्वकपमा सेमिफाइनलमा न्युजिल्याण्डसँग पराजय ब्यहोर्दै बाहिरिएको थियो।
विश्वकपको सेमिफाइनल पुर्याउन नसकेको भन्दै कोहलीको पछिल्लो समय आलोचना भइरहेको छ। विभिन्न खेलमा भारतलाई यादगार जित दिलाएका कोहलीले आईसीसीको प्रतियोगितामा भने टिमलाई च्याम्पियन बनाउन सकेनन्। यद्यपि, आलोचना हुनुमा एउटा प्रमुख कारण हो पाकिस्तान।
पाकिस्तानसँग पराजय भएपछि मोहम्मद शमीको भारतमा आलोचना हुँदा विराटले शमीको समर्थन गरेका थिए। यस्तै, विराटले गरेको केही विज्ञापन ब्वाइकट गर्नुपर्ने माग भइरहेको बेला उनले दिवालीमा सार्वजनिक गरेको एक भिडियोले पनि उनको हिन्दु कट्टरपन्थीहरुले आलोचना गरे। विराट र अनुष्काको छोरीलाई बलात्कार गर्ने धम्की समेत दिइयो। जसकारण हाल भारतमा क्रिकेटलाई धर्म र पाकिस्तानसँग जोडेको भन्दै सत्तारुढ भारतीय जनतापार्टीको आलोचना भइरहेको छ।
त्यस्तै प्रशिक्षक शास्त्रीले भारतलाई आईसीसीको ट्रफी दिलाउन सकेनन्। उनको प्रशिक्षणमा पनि भारतको नतिजा नराम्रो छैन।
सन् २०१८/१९ मा अस्ट्रेलियासँगको टेस्ट सिरिजमा जित निकालेको भारतले २०२०/२१ मा अर्को सिरिज पनि जितेको थियो। त्यस्तै न्युजिल्याण्डसँगको सिरिजमा ५-० को जित निकालेको थियो। घरेलु मैदानमा खेलको ७ वटा टेस्ट सिरिज पनि भारतले जितेको थियो।
कोहलीको कप्तानीमा भारतले हालसम्म ५० टी २० म्याच खेलेको छ। जसमा ३२ वटामा भारतले जित निकालेको छ भने १६ वटामा पराजय ब्यहोरेको छ। त्यसबाहेकका २ म्याच नतिजाविहीन रहे। कप्तानका रुपमा कोहलीले १४८९ टी २० रन बनाए जुन भारतीय कप्तानले बनाएको सर्वाधिक रन हो।
.@imVkohli signs off as the #TeamIndia T20I captain with a win. 🙌 🙌#T20WorldCup #INDvNAM pic.twitter.com/0YBK69rFhn
— BCCI (@BCCI) November 8, 2021
रोहितको रेकर्ड
कोहली पछिको भारतीय टोलीको कप्तानीलाई लिएर भारतीय टोलीका पूर्व कप्तान सुनिल गावास्कर ठूलो परिवर्तन गर्नु नहुने तर्क राख्छन्।
'मेरो हिसाबले रोहिल शर्मा आगामी दुई विश्वकपका लागि कप्तान बन्न सक्छन्। अर्को टी २० विश्वकप आगामी वर्ष नै हुँदैछ र एकदिवसीय विश्वकप त्यसको अर्को वर्षमा नै हुनेछ। अर्थात प्रतियोगिता लगातार अगाडि आउँदैछन्। यस्तो अवस्थामा कप्तानीमा धेरै परिवर्तन गर्नु उचित हुँदैन। केएल राहुललाई उपकप्तान बनाउन सकिन्छ' उनले एउटा स्पोर्ट्स च्यानलसँगको अन्तर्वार्तामा भनेका छन्।
रोहित शर्माको कप्तानीमा भारतले हालसम्म १० एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेलेको छ जसमा भारतले ८ खेल जितेको थियो भने २ खेलमा पराजय ब्यहोरेको थियो। त्यस्तै टी २० मा शर्माको कप्तानीमा १९ खेल खेलेको छ जसमा १५ खेलमा जित र ४ खेलमा पराजय ब्यहोरेको छ। शर्माको नाम अघि आउनुको अर्को कारण हो इण्डियन प्रिमियर लिग (आईपीएल)। जसमा शर्माको कप्तानीमा रहेको मुम्बइ इण्डियन्सले सर्वाधिक ५ पटक आईपीएलको ट्रफी उचालेको छ।
