बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्याको कारण अझै पत्ता लाग्न सकेको छैन। यसैबिच उनको मृत्यु प्रकरणमा भारतको केन्द्रीय अन्वेषण ब्यूरो (सीबीआई) ले अनुसन्धानका लागि अमेरिकासँग सहयोग मागेको छ।
सुशान्त सिंह राजपूतको सामाजिक सञ्जाल अकाउण्ट र इमेलमा डिलिट गरिएको डाटा पाउनका लागि सीबीआईले अमेरिकी कम्पनी गुगल र फेसबुकसँग सहयोगको लागि आग्रह गरेको हो।
भारतीय अंग्रेजी पत्रिका 'हिन्दुस्तान टाइम्स' ले यस सम्बन्धमा सूचना राख्ने व्यक्तिसँग मिलेको जानकारीको आधारमा यो समाचार दिएको बीबीसी हिन्दीमा उल्लेख छ।
सुशान्त १४ जुन २०२० मा मुम्बईस्थित आफ्नै अपार्टमेन्टमा झुण्डिएको अवस्थामा भेटिएका थिए। मुम्बई प्रहरीले उनको मृत्युलाई आत्महत्या पुष्टि गरिसकेको थियो। अभिनेता सुशान्तको कोठाबाट मानसिक स्वास्थ्य उपचार सम्बन्धी कागजपत्र भेटिएको बताइएको थियो। र, उनको मृत्युको कारण डिप्रेसन भएको चर्चा थियो।
तर सुशान्तका बुवा केके सिंहले विहार प्रहरीमा सुशान्तकी प्रेमिका तथा अभिनेत्री रिया चक्रवर्तीविरुद्ध धोका, पैसा हडपेको र आत्महत्या गर्न उस्काएको लगायत आरोपसहित उजुरी दिए पछि यस घटनाले अर्कै रुप लिएको हो। तर चक्रवर्तीले भने सबै आरोप गलत भएको दाबी गर्दै आएकी छिन्। यो मुद्दा हाल अदालतमा विचारधीन छ।
सीबीआईले पारस्परिक विधिक सहायता सन्धि (एमएलएटी) को माध्यमबाट गुगल र फेसबुकसँग सुशान्त को डिलिट गरिएको च्याट, इमेल या पोस्टको बारेमा जानकारी मागेको हो। जसले राजपूतको मृत्यु केसको अनुसन्धानमा सहयोग पुर्याउने देखिन्छ।
भारत र अमेरिकाबिच भएको यो सन्धिअनुसार दुबै देशहरुले आफ्नो देशको घटनाको जाँचको लागि एकअर्काको सुचना माग्न सक्ने नियम छ।
सुशान्तको परिवारको वकिल विकास सिंहले सीबीआईको यस कदमलाई प्रशंसायोग्य रहेको बताएका छन्। 'म आश्चर्यचकित छैन किनकि सीबीआईले यस मुद्दामा विस्तृत रूपमा अनुसन्धान गर्न चाहन्छ। सुशान्त सिंहको मृत्युको पछाडि धेरै रहस्य छन् तर के भयो भनेर बताउन कुनै प्रत्यक्षदर्शी वा क्यामेरा छैन। मलाई लाग्छ कि सीबीआई एक सहि प्रमाण खोज्न कोसिस गरिरहेको छ।'
पहिले यस घटनाको अनुसन्धान मुम्बई प्रहरीले गरेको थियो। तर अगस्ट २०२० मा सर्वोच्च अदालतको आदेशपछि यो मुद्दा सीबीआई दिइएको हो। प्रवर्तन निर्देशनालय र नार्कोटिक्स कन्ट्रोल ब्युरोले पनि यस प्रकरणमा अलग-अलग पक्षबाट जाँच गरिरहेका छन्।