PahiloPost

Apr 9, 2026 | २६ चैत्र २०८२

प्रदेश १ मा सम्भावित विपद् जोखिम क्षेत्रको ‘म्यापिङ’ गर्ने निर्णय



पहिलोपोस्ट

प्रदेश १ मा सम्भावित विपद् जोखिम क्षेत्रको ‘म्यापिङ’ गर्ने निर्णय

विराटनगर : प्रदेश नम्बर १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयअन्तर्गत विपद् कार्यकारी समितिको बैठकले यही कात्तिक २ गते आएको वर्षा र बाढीपहिरोबाट प्रदेशमा भएको क्षतिको समीक्षा गरेको छ। समितिका अध्यक्ष तथा आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीको अध्यक्षतामा बसेको बैठकले बाढीपहिरोबाट भएको क्षति तथा प्रभावको समीक्षा गरेको हो।

मन्त्री कार्कीले क्षतिमा परेका नागरिकको समस्यालाई सरकारले सम्बोधन गर्ने बताए।

मन्त्रालयले वर्षा र त्यसपछिको डुबान, कटान अनि पहिरोबाट भएको क्षतिका विषयमा समग्र समीक्षा गर्दै पाँचथरको मिक्लाजुङ जोड्ने सडक संचालन गर्न समन्वय गर्ने निणर्य भएको जनाएको छ।

उक्त सडक अवरुद्ध हुँदा खाद्यान्न, नुनलगायतका अत्यावश्यक सामग्रीको अभाव भन्ने गुनासो आएकाले संघीय भौतिक पूर्वाधार मन्त्रालय र सडक डिभिजनसँग समन्वय गरेर तत्काल सडक मर्मत गर्दै संचालन गर्ने निणर्य पनि गरिएको छ।

साथै वर्षा र बाढीबाट भएको मृत्युको विवरण प्राप्त भए पनि अन्य क्षतिको विवरण पूर्ण रुपमा आउन बाँकी रहेकाले जिल्लास्थित दैवी प्रकोप उद्धार समितिबाट चाँडै विवरण लिने, १४ जिल्लामा विपद्जन्य के-के घटना हुन सक्छन् भन्ने जोखिम क्षेत्रको ‘म्यापिङ’ गरेर यकिन विवरण जिल्ला विपद् व्यवस्थापन समितिले १५ दिनभित्र मन्त्रालयमा पठाई सक्ने निणर्य गरिएको मन्त्रालयका सचिव कालीप्रसाद पराजुलीले जानकारी दिए।

सचिव पराजुलीका अनुसार प्रदेशका १४ वटै जिल्लास्थित विपद् व्यवस्थापन समितिलाई सम्भावित विपद्का कारण उत्पन्न परिस्थितिमा उद्धारका लागि आवश्यक पर्ने सामग्री आवश्यक भए मन्त्रालयमा माग गरेर पठाउने निणर्य गरिएको छ।

साथै बाढी पहिरोबाट भएको भौतिक संरचना आदिको क्षतिको एकीकृत विवरण प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयबाट तयार गरी मर्मत गर्नुपर्ने सडक भए मर्मत गर्ने र पहिरोको दीर्घकालीन समाधान गर्नुपर्ने भए सोसमेत गर्ने निणर्य गरिएको छ।

बैठकमा मन्त्री कार्कीले बाढीबाट प्रभावित क्षेत्रका नागरिकलाई सहज हुने गरी काम गर्न विपद् व्यवस्थापन समिति सक्रिय हुन निर्देशन दिएका थिए।

यसैबिच मन्त्रालयअन्तर्गत प्रदेश सुरक्षा समन्वय समितिको बैठक सम्पन्न भएको छ। बैठकमा नेपाली सेना, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान र सशस्त्र प्रहरीका प्रदेशस्तरीय प्रमुखको सहभागिता थियो।

बैठकमा प्रदेशको सुरक्षा, अपराध नियन्त्रण र लागूऔषध नियन्त्रणका विषयमा निकायगत रुपमा प्रस्तुति गरिएको थियो।

बैठकमा मन्त्री कार्कीले अपराध अनि सीमामा हुने चोरी तस्करी नियन्त्रण गर्दै समग्र सुरक्षा व्यवस्था चुस्त बनाउन जोड दिएका थिए।

बैठकले सुरक्षा अवस्था, सीमापार अपराध, चोरी तस्करी नियन्त्रण जस्ता विषयमा जिल्ला सुरक्षा समितिलाई आवश्यक निर्देशन दिने र रिपोर्टिङको प्रभावकारी कार्यान्वयन गर्ने निणर्य गरेको सचिव पराजुलीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell