काठमाडौं : गल्ली, चोक, बहा:, बही सबै कथाले भरिएका छन्। तब न कथै कथाको शहर बन्यो काठमाडौं। जसै काठमाडौं कुनै उत्सवमा रम्छ, कथा तिनमा पनि भेटिन्छ। तिनै कथाले जात्रा र पर्वलाई जीवन्त बनाउँछ। यस्ता कतिपय कथा त जात्राको बाजा बिचै हराउँछन्। तिनै कथामध्ये एक हो - पचली भैरव र नई अजिमाको।
दशैंको पाचौं दिन पचिमह्रमा टेकुस्थित पचली भैरवको जात्रा हुन्छ। पचली भैरव (तेप आजु द्य) को मूर्तिलाई खटमा राखी टेकुबाट नगर परिक्रमा गराइन्छ। त्यसको भोलिपल्ट खोकनाको सिकालीमा रुद्रयाणी देवगणहरुको नृत्य प्रदर्शन हुन्छ। हरेक वर्ष हुने यी जात्राको पछाडिको कथा चाहिँ के छ?
रंगमञ्चमार्फत् बज्रकला कुञ्जले यही कथालाई प्रस्तुत गर्ने प्रयास गरेको छ। टेकुस्थित कथाघेरासँग समवन्य गरेर कौसी थिएटरमा नाटकको तयारी जारी छ। चन्द्रमान मुनिकारले संकलन गरेको कथाको निर्देशन पनि उनैले गरेका छन्। कथाको नाट्य रुपान्तरण र सह-निर्देशन इँगिहोपो कोंइच सुनुवारले गरेका छन्। नाटकको सम्पूर्ण व्यवस्थापन सुदन मुनिकारले गरिरहेका छन्। सुदन नै नाटकमा पचली भैरवको अवतारमा देखिँदैछन्।
सुदन यसलाई सांस्कृतिक नाटक मात्रै नभइ श्रुती परम्परामा सीमित कथा सबैलाई सुनाउने र देखाउने प्रयासका रुपमा व्याख्या गर्छन्।
'यो नाचमात्र होइन। त्यससँग लुकेर बसेका कथा प्रस्तुत गर्न खोजेका हौं। ती कथाले हाम्रो सभ्यताको प्रतिनिधित्व हुन्छ। ती कथाहरुलाई बाहिर ल्याउनपर्छ भनेर हामी अघि बढेका हौं,' उनले भने।
धार्मिक र सांस्कृतिक कथनहरु ठाउँ र समुदायपिच्छे फरकफरक हुने गरेको स्वीकार्छन् उनी। त्यसैले यस नाटकमा पनि अझै धेरै कथाहरु रहेकोले अरुले त्यसलाई रुपान्तरण गरेर प्रदर्शन गरे सुनमा सुगन्ध हुने उनको अपेक्षा छ।
कौसी थिएटरमा कात्तिक २५ गतेदेखि मंसिर ४ गतेसम्म नाटक मञ्चन हुँदैछ। नाटकमा ११ जना कलाकार सहभागी हुनेछन् जसमा गैर नेवार समेत छन्। नाटकमा नेपाल भाषा र नेपाली भाषामै संवाद छ। गैर नेवारहरुले प्रशिक्षणका क्रममा नेपालभाषाका संवाद र त्यससँगैको हाउभाउ राम्रोसँग बुझेर निभाइरहेको सुदनले सुनाए।
'फरकफरक समुदायका मानिसहरु एकसाथ आएर नाटक मञ्चन हुँदैछ। यसले थप अपनत्व बढाउँछ,' उनले भने, 'विदेशी नाटकलाई हामी जसरी महत्व दिएर प्रदर्शन गरिरहेका छौं। त्यसैगरी हामीभित्र लुकेर बसेका नाटकलाई बाहिर ल्याउने हाम्रो प्रयास हो।'
कथा पचली भैरवको
पहिलो किराँत राजाका रुपमा मानिँदै आएका यलम्बरलाई आकाश भैरवका रुपमा नेवार समुदायले पुज्दै आएको छ। टेकुस्थित पचली भैरवलाई भने किराँत वंशको दोस्रो राजा पलम्बरका रुपमा समेत लिइन्छ। कसैले पलम्बरलाई तेस्रो राजा पनि भन्ने गर्छन्। नाटक त्यही पलम्बर अर्थात् पचली भैरवमाथि हो।
यलम्बर जत्तिकै तन्त्र साधना र शक्ति भएका राजा थिए पलम्बर पनि। फर्पिङसँगै भोत (बनेपा)का राजा रहेका उनी एकै दिनमा काशीमा गएर स्नान गरेर फर्पिङमा आएर राज गर्थे भनिन्छ। दिनभर राज गरेर थकान मेटाउन उनी वाग्मती नदी किनारमा रहेको पंचलिंगेश्वर क्षेत्र (पाँचवटा लिंग आफै उत्पत्ति भएको ठाउँ, हाल पचली)मा आराम गर्न आउँथे। ध्यान र तन्त्र साधना गर्थे मनुष्यको भेषमा। त्यहीँ घुम्दैगर्दा पचली भैरवको भेट त्यहाँकी एक राम्री युवतीसँग हुन्छ। ती युवतीको नाम हुन्छ रुक्मणी। पछि उनलाई नै नई अजिमाका रुपमा पूज्न थालियो।
उनीहरु बिच भेट हुन्छ। दुवैजना एक अर्काप्रति आकर्षित पनि हुन्छ्न्। माया बस्छ। तर, रुक्मणीलाई पचली भैरवको वास्तविक स्वरुप थाहा कहिलै भएन।
'तिमी को हौं' भनेर रुक्मिणीले पचली भैरवलाई बारम्बार सोध्थिन्। पचली भैरवले रुक्मिणीको प्रश्नलाई कुरैकुरामा टाल्दिन्थे। प्रेम सम्बन्ध प्रगाढ भएसँगै दुवै बिच शारीरीक सम्बन्ध हुन्छ। रुक्मिणी गर्भवती हुन्छिन्। बिहे नगरी पेटमा बच्चा भएपछि टोलभरी हल्ला हुन्छ। परिवारका सदस्यले पनि केटो को हो बुझ्न रुक्मिणीलाई दवाव दिन्छन्।
त्यसपछि रुक्मिणीले पचली भैरवलाई बोलाउँछिन्।
'म गर्भवती भइसकेँ। तिमी को हौ? आफ्नो वास्तविक रुप भन। नत्र म जान दिन्नँ,' रुक्मिणीले पचली भैरवलाई भन्छिन्। त्यसपछि पचली भैरव आफ्नो रुप देखाउन बाध्य हुन्छन्। तर, त्यसका लागि शर्त राख्छन् उनले।
'म मन्त्र फुकेर अक्षता दिन्छु। त्यसले मलाई हान। म आफ्नो रुपमा आउँछु। र, त्यसपछि फेरि मनुष्यको रुपमा फर्काउन मलाई त्यही अक्षताले हान्नुपर्छ,' पचली भैरवले रुक्मिणीलाई भन्छिन्।
रुक्मिणीले पचली भैरवले भने झैं अक्षताले हान्छिन्। पचली भैरव मानिसबाट आफ्नो असली रुपमा आउँछन्। रुक्मिणी उनको असली रुप देखेर केही बेर अचेत नै हुन्छिन् र पछि डराएर भाग्छिन्। त्यही भागदौडमा अक्षता पनि हराउँछ। भैरव रुक्मिणी खोज्दै हिँड्छन् - आफ्नो मानिस रुपमा फर्किन।
रात बित्दै जान्छ। बिहान सूर्योदयको समय नजिकिएको हुन्छ। पचली भैरवलाई मनुष्यको रुपमा आउन अक्षता चाहिएको हुन्छ। तर, उनले कतै पनि अक्षता भेटाउँदैनन्। उनी अक्षता खोज्दै जाँदा पचली पीठ क्षेत्रमा पुग्छन्। घाम लाग्नै लाग्दा लुक्ने ठाउँ खोज्छन् उनी। तर, भेट्टाउँदैनन्। त्यहाँ उनले मान्द्रो देख्छन्। त्यही ओड्छन्। मान्द्रोले पचली भैरवको शरीरको सबै भाग छेकिए पनि पिठ्युँ छोपिन्न। घाम लागेपछि पिठ्युँ पत्थर बन्छ। पचली भैरव सिद्ध हुन्छन्। मानिसहरु पचली भैरव हेर्न र पूजा गर्न पुग्छन्। हाल पिठ्युको त्यही भाग पचलीमा देख्न सकिन्छ।
पचली भैरव त सिद्ध हुन्छन् तर रुक्मिणीको के हुन्छ?
पचली भैरवबाट गर्भवती भएकी रुक्मिणीले बच्चा पाउँछिन्। समाजले उनलाई हेर्ने दृष्टिकोण नै नकारात्मक हुन्छ। बिना बुवाको छोरा भनेर बच्चालाई सुनाउँछन्। छोराले आफ्नी आमालाई आफूले भोग्नु परेको पीडा र तिरस्कार बारे सुनाउँछन्।
छोराको कुरा सुनेर दु:खी हुन्छिन्, रुक्मिणी। त्यसपछि पचली भैरवलाई आह्वान गर्ने निर्णयमा पुग्छिन्। रुक्मिणीको आह्वान सुनेर पचली भैरव आउँछन्। छोरा आफ्नो बुवा देखेर खुशी हुन्छन् र मुसुक्क हाँस्छन्। त्यसैले रुक्मिणी र पचली भैरवको छोरालाई मुस्का गणेशका रुपमा पहिमह्रका दिन जात्रा समेत गरिन्छ।
लामो समयपछि रुक्मिणीले पचली भैरवलाई भेटेकी हुन्छिन्। समाजबाट पीडा भोगेकी उनले पचली भैरवलाई आफू र छोरालाई उनीसँगै लैजान अनुरोध गर्छिन्। पचली भैरवले उनको आग्रह स्वीकार्छन्।
रुक्मिणी र छोरा दरबार पुग्छन्। तर, समाजको विभेद र कुरा काट्ने प्रवृत्ति रोकिँदैन। अन्तत: दरबार छाड्ने निर्णय गरेर उनी गन्तव्यहीन यात्रामा निस्किन्छिन्।
केन्द्रविन्दुमा रुक्मिणी
कथाले पचली भैरवको कथा भन्ने भए पनि यसमा महिलाले समाजमा भोग्नुपर्ने पीडालाई दर्साउन खोजिएको छ। पचली भैरवको दरबारबाट निस्किएपछि रुक्मिणीले बाटोमा भोग्ने पीडा र अन्तमा पाउने सिद्धीकै वरिपरि नाटक तयार गरिएको छ। नाटकको सम्बन्ध खोकनामा हुने रुद्रायणी जात्रा र पचली भैरवको बाह्र १२ वर्षे जात्रासँग पनि जोडिएको छ।
एक साधारण महिला र राजाबिचको प्रेमको अन्त्य सुखद् पक्कै हुँदैन। त्यसैले यसमा सबैभन्दा शक्तिशाली भनिएका र संसार जितेका राजा पनि प्रेमसामु पारजित भएको देखाउन खोजिएको छ।
त्यही प्रेमका कारण रुक्मिणीले भोग्नु परेको पीडालाई नाटकमा उठाइएको छ। रुक्मिणीलाई राजादेखि प्रजासम्मले गर्ने व्यवहार र तिरस्कार, समाजले महिलालाई हेर्ने दृष्टिकोण र अपहेलित हुँदै गर्नुपर्ने पीडादायी संघर्षलाई यस नाटकबाट देखाउन खोजिएको छ। त्यसैले नाटकमा महिला पात्रले गर्नुपर्ने संघर्षलाई एउटा वाक्यले चरितार्थ गर्ने प्रयास गरिएको छ, रुक्मिणीले पचली भैरवलाई सोध्छिन् -
‘नारीले जे भोग्छ त्यो पुरुषले भोग्नै पर्दैन, भोग्नै सक्दैन। अनि भोग्दै नभोगेको कुरा कसरी बुझ्नुहुन्छ?’