PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

बलिउड फिल्म ‘सूर्यवंशी’ले नेपाली सिनेमाहलमा फर्कायो रौनक, हल सञ्चालक दंग



लक्ष्मी बलायर

बलिउड फिल्म ‘सूर्यवंशी’ले नेपाली सिनेमाहलमा फर्कायो रौनक, हल सञ्चालक दंग

काठमाडौं : अहिले नेपाली सिनेमा हलमा दर्शकहरुको खचाखच भिड छ। टिकट पाउन समेत गाह्रो छ। माहोल बनाएको हो रोहित सेट्टी निर्देशित बलिउड फिल्म ‘सूर्यवंशी’ले।

अक्षय कुमारको मुख्य भूमिका रहेको यस फिल्ममा कैटरिना कैफ, अजय देवगन र रणवीर सिंह लगायतका कलाकारहरुको अभिनय छ। देशभरिका सिनेमा हलमा रिलिज भएको फिल्म ‘सूर्यवंशी’ले कोरोना महामारीअघिको रौनक फर्काइदिएको छ।

चावहिलमा रहेको एफ क्युबमा फिल्म हेर्न आउने दर्शकहरुको भिड देख्दा दंग छन् व्यवस्थापक रामहरि कोइराला। सम्पूर्ण शोहरु हाउसफुल रहेको समेत उनले बताए। एक दिनमा १० देखि १२ ओटा शो भइरहेको र सबै शोहरु हाउसफुल रहेको उनले सुनाए।

भन्छन्, ‘यो फिल्म रिलिज भएसँगै दुई वर्षअघिको पुरानै माहोल फर्काइदिएको छ। पहिलो र दोस्रो दिन त यति धेरै दर्शक देख्दा त रिगंटा नै लागेको थियो। सुरुको दिन ७० प्रतिशत दर्शक आएको र टीकाको दिनदेखि हल हाउसफुल छ। अहिले त शत प्रतिशत अकुपेन्सीमा नै दर्शकहरु राखिएको छ।’

आज मंगलवार एफ क्युब सिनेमामा टिकटमा छुट छ। जसकारण आज भिड थामिनसक्नु भएको उनले बताए।

‘पहिलेको जस्तो माहोल बनिसकेको छ। दर्शकहरु ढुक्कले आउनुभएको छ,’ उनले भने।

सलमान खानको बलिउड फिल्म ‘अन्तिम’ र जोन अब्राहमको ‘सत्यमेव जयते २’ लाइनअपमा रहेको उनले बताए।

कमलादीमा रहेको क्यूज सिनेमामा पनि दर्शकहरुको संख्या भरिभराउ रहेको सुनाउँछन् सञ्चालक सुमित मैनाली। कोरोना महामारीपछिको सिनेमाहल पुरानै लयमा फर्किन लागेको मैनालीले बताए।

‘सिनेमाहलमा दर्शकहरुको संख्या निकै राम्रो छ। पहिलेजस्तै माहोल फर्किसकेको छ। अब कोरोनाको डर हराउँदै गइरहेको छ। दुईवटा स्क्रिनमा नै दर्शकहरु हाउसफुल छन्,’ उनले भने।  

यो साता एउटा हलिउड फिल्म रिलिज हुने र केही हिन्दी फिल्म पनि लाइनअपमा रहेको उनले बताए। तर, माहोल बनिसक्दा पनि नेपाली फिल्मले भने अहिलेसम्म रिलिज मिति तय गर्न नसक्नु दु:खद कुरा रहेको उनको भनाइ छ।

काठमाडौं उपत्यकाभित्र र उपत्यकाबाहिरका हलहरुमा दर्शकको उपस्थिति बाक्लो रहेको बताउँछन् क्युएफएक्सका सीइओ रोशन अडिगा। भन्छन्, ‘क्युएफएक्सका देशैभरि १० ‍वटा हलहरु छन्। सबै हलहरु हाउसफुल नै छन्। मानिसहरु आइरहेका छन्। जसकारण फिल्म हेर्ने माहोल बनिसकेको छ। राम्रो फिल्म छ भने दर्शकहरु फिल्म हेर्न आइहाल्छन् नि।’

फिल्म ‘सूर्यवंशी’लाई चलचित्र वितरक मनोज राठीले नेपाल ल्याएका हुन्। फिल्म रिलिजको पाँचौ दिनमा पनि राम्रै दर्शकहरु आइरहेको र अब दर्शक हलमा फर्किने माहोल बनिसकेको उनले बताए। साथै, केही बलिउड फिल्महरु पनि लाइनअपमा रहेको उनको भनाइ छ।

यसरी बलिउड फिल्मले माहोल बनाइरहेको अवस्थामा नेपाली सिनेमाले रिलिज हुनु पर्ने उनको तर्क छ।

‘सुरुमा माहोल बन्नु नै ठुलो कुरा हो। दर्शक आउँछन् कि नाई भनेर यस फिल्मले प्रमाणित गरेको छ। दर्शक आउन फिल्म पनि राम्रो हुनुपर्छ। हामीले व्यक्तिगत रुपमा नै जोखिम लिएका हौँ। तर दर्शकहरुको उपस्थितिले माहोल बनाएको छ। नेपाली सिनेमा पनि रिलिज भएको खण्डमा सिनेमाको आउने दिन राम्रै हुने देखिन्छ,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell