PahiloPost

Apr 9, 2026 | २६ चैत्र २०८२

सर्वोच्चको आदेशपछि चितवनमा निजी हात्ती दर्ता प्रक्रिया सुरु



पहिलोपोस्ट

सर्वोच्चको आदेशपछि चितवनमा निजी हात्ती दर्ता प्रक्रिया सुरु
FILE PHOTO

काठमाडौं : सर्वोच्च अदालतले निजी हात्तीलाई दर्ता गर्न निर्देशन दिएपछि चितवनमा हात्ती दर्ता प्रक्रिया सुरु भएको छ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा रामचन्द्र कँडेलले निजी हात्ती दर्ता प्रक्रियाका लागि काम अघि बढेको जानकारी दिए। सम्बन्धित क्षेत्रका राष्ट्रिय निकुञ्जमार्फत दर्ता प्रक्रिया अघि बढाइएको उनले बताए। निजी हात्ती धनीमार्फत फाराम भराएर संकलन कार्य भइरहेको छ। उनका अनुसार नियमावली बनेको एक वर्षभित्रमा दर्ता हुनुपर्नेमा कोभिड १९का कारण हुन नसकेको हो ।

विसं २०७६ को मंसिरमा नियमावली बनेको थियो। नियमावलीले तोकेका समयमा दर्ता नभएका कारण संशोधनका लागि विभागले मन्त्रालयमा पठाएको छ। यसै समयमा जनहित संरक्षण मञ्चका तर्फबाट अधिवक्ता सञ्जय अधिकारीले प्रधानमन्त्री कार्यालय र मन्त्रिपरिषद्को कार्यालयलाई समेत विपक्षी बनाएर हात्ती बिक्री रोक्न अन्तरिम आदेश माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।

सर्वोच्चले गत भदौ ३० मा अन्तरिम आदेश दिँदै हात्तीको अन्तरदेशीय तस्करी, बिक्री, हस्तान्तरण तत्काल रोक्न भनेको थियो । दर्ता अभिलेखीकरण नभएका हात्ती आदेशको मितिले एक महिनाभित्र दर्ता गर्न र दर्ता नभए जफत गर्न सर्वोच्चले निर्देशन दिएको थियो।

व्यवसायीले गत असोज १४ गते सर्वोच्चको पत्र बुझेसँगै दर्ता प्रक्रिया सुरु गरेका हुन्। सोहीपश्चात सर्वोच्चको आदेशलाई आधार मानेर विभागले दर्ता प्रक्रिया अघि बढाएको हो। नियमावली संशोधन गरेर दर्ता प्रक्रिया अघि बढाइने महानिर्देशक कँडेलले जानकारी दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell