PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

'माउण्टेन स्याडो' : लखनउमा नेपाली कलाकृतिको प्रदर्शनी



पहिलोपोस्ट

'माउण्टेन स्याडो' : लखनउमा नेपाली कलाकृतिको प्रदर्शनी

लखनउ : भारतको लखनउमा नेपाली प्रकृति, संस्कृति तथा सामाजिक जनजीवन झल्किने कलाकृतिको प्रदर्शनी भइरहेको छ। मंगलबारदेखि लखनउको अलिगञ्जस्थित कला स्रोत आर्ट ग्यालरीमा आठ जना नेपाली कलाकारको कला प्रदर्शनी सुरु भएको हो।

‘माउण्टेन स्याडो’शीर्षकमा भएको उक्त प्रदर्शनीको भारतका प्रसिद्ध कलाकार प्रा.जयकृष्ण अग्रवालले उद्घाटन गरेका थिए। उनले नेपाली कलामा मौलिक परम्परासँगै सामाजिक सांस्कृतिक विषय रहेको बताउँदै सांस्कृतिक पहिचान तथा प्रकृतिलाई चिनाउन कलाकृतिहरुले मद्दत गरेको धारणा राखे।

चार दिनसम्म चल्ने प्रदर्शनीको नेपालबाट कलाकार केशव राज खनालको उक्त संयोजन गरेका हुन्।

उनले भने, ‘कोरोना कहरपछि सुस्ताएको नेपालको पर्यटनलाई यो कला प्रदर्शनीले सहयोग गर्ने आशा राखेका छौं।’

चार दर्जन कलाकृति राखिएको उक्त प्रदर्शनीमा नेपालका कलाकार केशव राज खनाल, देवेन्द्र थुम्केली, कृष्णगोपाल श्रेष्ठ, चन्द्रश्याम डंगोल, रवीन्द्र मानन्धर, रवी मिश्र, मनोज तामाङ योञ्जन र रिक गुरुङका कलाकृति रहेका छन्।

आर्ट क्युरेटर रवी सोनीले प्रदर्शनीमा राखिएका नेपालका दृश्यचित्रले कलामा यसको महत्व र आवश्यकता अझै विशिष्ट रहेको बताए।

प्रदर्शनीको भारततर्फ संयोजन गरेका भारतीय कलाकार अमित कुमारले गरेका हुन्। उनले यो प्रदर्शनीबाट नेपाल र भारतका कलाकारको कलालाई नजिक ल्याउन सफल भएको बताए। उनले नेपाल र भारतबीच कलामार्फत सांस्कृतिक सम्बन्धलाई मजबुत बनाउनुपर्ने भन्दै दुई देशका कलाकारबीच कला कार्यशाला तथा बहस गर्नुपर्ने बताए।

कला स्रोत आर्ट ग्यालरीका डाइरेक्टर मानुषी डीडवानियाले नेपालको प्राकृतिक सौन्दर्य र संस्कृति झक्लिने कलाकृतिले सम्बन्धलाई मजबुत बनाउन सकेको बताइन्। उनले भनिन्, ‘कला र कलाकारमार्फत दुई देशबीच रहेको कलालाई बुझ्न सघाउ पुगेको छ ।’

प्रदर्शनीमा नेपाल ललितकला पत्रकार समाजका अध्यक्षसमेत रहेका कलाकार खनालले सगरमाथा, अन्नपूणर्, माछापुच्छ्रे लगायतका हिमाल तथा काठमाडौं उपत्यकाका सांस्कृतिक विषय झक्लिने कलाकृति राखेका छन्। कलाकार चन्द्रश्याम डंगोलले नेपालका परम्परागत ढुंगेधारा, चैत्य तथा बुद्ध मूर्ति राखेका छन्।

कलाकार रवीन्द्र मानन्धरले काठमाडौं उपत्यकाका सांस्कृतिक सम्पदा तथा दृश्यचित्र राखेका छन् भने कलाकार कृष्णगोपाल श्रेष्ठले नेवार संस्कृति, ढुंगेधारा तथा पुरातात्विक सम्पदा झल्किने विषयका कलाकृति राखेका छन्। कलाकार तथा कलालेखक देवेन्द्र थुम्केलीले माछापुच्छ्रे, अन्नपूणर् हिमाल तथा सांस्कृतिक सम्पदाका विषयका चित्र राखेका छन्। पोखरेली कलाकार रिक गुरुङ तथा मनोज तामाङ योञ्जनले माछापुच्छ्रे, अन्नपूणर्, आमादब्लाम, सगरमाथा लगायतका हिमालका चित्र र सांस्कृतिक सम्पदा झल्किने कलाकृति राखेका छन्।

यस्तै, कलाकार तथा कार्टुनिस्ट रवि मिश्रले दैनिक जनजीवन, सांस्कृतिक तथा सम्पदाका विषयका चित्र प्रदर्शनीमा राखेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell