काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजाविरुद्ध आक्रोश व्यक्त गर्नुभन्दा सुशासन दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनौती दिएका छन्। थापाले न्यायालय हड्तालमा रहेको, संसद् अवरुद्ध रहेको अवस्थामा राजालाई चुनौती दिनुभन्दा सुशासन दिन चुनौती दिएका हुन्।
ट्वीटरमा उनले भनेका छन् - राजाविरुद्ध आक्रोश होइन, सुशासन दिनुहोस्। न्यायालय हड्तालमा छ, संसद अवरुद्ध छ, सरकार भ्रष्टाचार र सर्वसत्तावादमा लिप्त छ, धर्म परिवर्तन व्यापक भएको छ, रोजगारीको खोजीमा ४० लाख युवा विदेश पलायन भएका छन्। संघीय गणतन्त्र असफल भैसक्यो। राजालाई गाली गरेर राज गर्ने जमाना अब छैन।
बुधबार गणेशमान स्मृति शान्ति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा देउवाले शासन गर्नका लागि चुनाव लडेर आउन पूर्वराजा ज्ञानेन्द्रलाई चुनौती दिएका थिए। देउवाले प्रजातन्त्रविरुद्ध नलाग्न शाहलाई चेतावनी दिएका थिए।
आफूले प्रजातन्त्रबाहेक सबै कुरा सुम्पिने बताउँदा पूर्वराजाले जेलमा हालेको स्मरण गर्दै देउवाले शासन व्यवस्थाविरुद्ध नलाग्न चुनौती दिएका थिए।
