PahiloPost

Dec 24, 2024 | ९ पुष २०८१

उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरियो छठ पर्व : फोटोमा वीरगंजको पारणको उल्लास

उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरियो छठ पर्व : फोटोमा वीरगंजको पारणको उल्लास

राधेश्याम पटेल/पहिलोपोस्ट


वीरगंज : छठ पर्व उदाउँदो सूर्यलाई अर्घ्य दिई बिहीवार बिहान समापन गरिएको छ। बिहानको अर्घ्य दिने चलनलाई मधेसमा पारण पनि भनिन्छ। चार दिने छठको अन्तिम दिन अर्थात् चौथो दिनलाई पारण गर्ने भनिन्छ। सूर्य भगवानलाई बिहानीको किरणसँगै दूध अर्पण गरी छठी माताको यो कठोर र निष्ठाको पर्व व्रतालुहरूले समापन गर्ने गरेका छन्। बिहान ६ बजे २१ मिनेटपछि सूर्य भगवान उदाएपछि गाईको दुध र प्रसाद अर्पण गरी अर्घ्य चढाइएको थियो।

वीरगंजको घडीअर्वा, आदर्शनगरको स्वीमिङ पुल, मुर्ली, नगवा, रानीघाट, मनियारी, जगरनाथपुर, पटेलनगर, पिपरा, सुखचैना, परवानीपुर, लक्षुमानवालगायत छठघाटमा व्रतालु र श्रद्धालु भक्तजनको उल्लेख्य भीड थियो। मधेसमा नजिकको पोखरी, नदी तलाउमा छठघाट बनाई टेन्ट पण्डालले सजाएर धुमधामका साथ छठ पर्व मनाउने गरिन्छ।

बुधवार विहान २ बजेपछि व्रतालुहरुको दउरा पुग्ने क्रम शुरु भएको थियो। सूर्य भगवानको प्रतिक्षामा करिब ४५ मिनेट देखि व्रतालुहरु पोखरी तथा खोलाको किनारमा लाइन लागेर प्रतिक्षा गरेका थिए। अर्घ्य दिएर व्रतालुहरूले छठी मातालाई पूजापाठ गरी सिउदो(माङ्ग) टिक्ने चलन छ। घरमा आएपछि घरको कुलदेवी र टोल छिमेकको देवीको पनि पूजा आराधना एवं ठूलासँग आशीर्वाद लिने चलन छ। अर्घको सामग्रीमा ठेकुवा, उखु, निम्बु, सुन्तला, स्याउ, नरिवल, सुथनी, मुलालगायत सामग्री माटोको ढाकना वा बाँसको सुपलीमा राखेर अर्घ्य दिइन्छ।



ट्रेन्डिङ पोस्ट

Ncell