PahiloPost

Oct 30, 2024 | १४ कात्तिक २०८१

वीरगंजमा हिमानी आउँदा हेलिकप्टरबाट पूर्व राजारानीको 'स्टिकर वृष्टि', मधेशमा शुरु भयो विरोध



राधेश्याम पटेल

वीरगंजमा हिमानी आउँदा हेलिकप्टरबाट पूर्व राजारानीको 'स्टिकर वृष्टि', मधेशमा शुरु भयो विरोध

वीरगंज : छठ पर्वको सझिया घाटे अर्थात बुधवार पूर्व युवराज्ञी हिमानी शाह वीरगंज आउँदा हेलिकोप्टरबाट पुष्पवृष्टि झैं पूर्व राजा–रानी ज्ञानेन्द्र शाह, कोमल शाह र हिमानीको फोटो अंकित सन्देशमुलक स्टिकर खसालिएको छ। बुधवार साँझ सवा ५ बजेको समयमा जनकपुरबाट आएको एउटा हेलिकोप्टरबाट स्टिकर छरेको हो। स्टिकरमा एकातर्फ पूर्व राजा–रानी ज्ञानेन्द्र र कोमलको तस्बिर थियो भने २०४७ सालको संविधान पुनर्स्थापना हाम्रो अभियान, विश्व हिन्दू अन्तराष्ट्रिय महासंघ, नेपाल नागरिक अभियान, श्रीराम हनुमान आराधना मण्डल नेपाल जस्ता राजावादी संगठनको नाम उल्लेख थियो।

स्टिकरको अर्को छेउमा हिमानीको फोटोसहित ‘छठीमाई की जय, भन्दै श्री ५ युवराज्ञी हिमानी राज्यलक्ष्यमी देवी शाह सरकारको छठ पूजामा हार्दिक स्वागत गर्दर्छौ’ भनेर उल्लेख थियो। मधेश मामिलाका जानकारहरु यस्तो गतिविधिको विरोध गरेका हुन्। मधेश मामिलाका जानकार एवं राजनीतिक विश्लेषक चन्द्र किशोरले समाजिक सञ्जाल फेसबुकमार्फत विरोध जनाउँदै यस्तो कामलाई अपराधको संज्ञा दिएका छन्।

‘मधेशी समाजले पारम्परिक रूपमा मनाउने छठ, जो समावेशी हुँदै गइरहेको छ, यसमा सबैलाई सहभागी हुने स्वतन्त्रता छ,’ उनले भनेका छन्, ‘तर त्यो नितांत धार्मिक–सांस्कृतिक अवसरमा खासमा राजनीतिक उदेश्यका लागि हेलिकोप्टरबाट पर्चा छर्नु श्रद्धालु भक्तजनहरुको भगवानसँगको खेलवाड हो, यो अपराध हो।’

मधेश मामलाका जानकार विजयकान्त कर्णले पनि हिमानीको समूहले गरेको यस्तो कार्यको निन्दा गरेका छन्।

‘हिमानी शाहलाई वीरगंज कसरी याद आयो? यिनलाई भ्रम रहेछ कि मधेश र मधेशीलाई राजतन्त्र मन पर्छ भनेर,’ उनले आफ्नो प्रतिक्रियामा लेखेका छन्, ‘गणतन्त्र र लोकतन्त्रको किल्ला हो मधेश, पृथ्वीनारायण शाहले बनाएको औपनिवेशिक शासन विरुद्धको आन्दोलन जारी छ।’

नेपाली काँग्रस पर्साका नेता रामनारायण कुर्मीले हिमानी शाहको समूहले गरेको कार्य अशोभनीय भएको बताए। उनले पर्चा पम्फ्लेट र नाराजुलुशले राजतन्त्र अब नआउने दाबी गरे।

‘हेलिकोप्टरले पम्फ्लेट छरेर निरङ्कुश राजतन्त्र फर्काउने कसरत राम्रो हो त?,’ कुर्मीले प्रश्न गरे, ‘हजारौं नेपालीको सहादतबाट निरङ्कुश राजतन्त्र समाप्त भएर गणतन्त्र स्थापित भएको हो, तर खेल मनोरञ्जनात्मक छ, मधेशको सांस्कृतिक पर्व छठ पूजामा पूर्व राजा–रानीको पोस्टर खसाल्नु र नाराबाजी गर्नु असोभनीय कार्य हो।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell