काठमाडौं : नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।
पार्टीका महासचिव विप्लवले वक्तव्य जारी गर्दै कार्तिक २५ गते (बिहीवार) देखि ३० गतेसम्मका लागि आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन्।
'जनताको दैनिक जीवनसँग जोडिएका पेट्रोलियम तथा खाद्यवस्तु जस्ता अत्यावश्यक वस्तुमा नेपाल सरकारले निरन्तर मूल्यवृद्धि गर्दै आएको छ र यसप्रकारको सरकारी दोहनलाई जनताले निरीहतापूर्वक पालना गर्नुपर्ने बाध्यता जस्तै बनेको तथ्य हाम्रो सामु छ,' विप्लवले जारी गरेको वक्तव्यमा भनिएको छ, 'हाम्रो पार्टी जनसरोकारको यो अन्यायपूर्ण उत्पीडनलाई मुकदर्शक भएर हेरिरहन सक्दैन। तसर्थ सम्पूर्ण मूल्यवृद्धिका विरुद्ध सशक्त प्रतिरोध सङ्घर्षमा उत्रन पार्टीका सबै जनवर्गीय सङ्गठन र समस्त जनसमुदायमा हार्दिक अपिल गर्दछ।'
वक्तव्यमा सबै कर कट्टा गर्दा पनि मुनाफा सहित पेट्रोल रु. ७० मा बिक्री गर्न सकिने दाबी गर्दै 'दैनिक रुपमा असुल गरिने यो सरकारी लुट कुन प्रयोजनमा लगानी गरिन्छ?' भन्दै प्रश्न गरिएको छ।
विप्लवले जनभावनाको कदर गर्दै मूल्यवृद्धि तुरुन्त खारेज गर्न सरकारसँग मागसमेत गरेको छ।
विप्लवले सार्वजनिक गरेको आन्दोलनका कार्यक्रम अनुसार कार्तिक २५ बिहीवार दिउसो ३ बजे देशव्यापी विरोध प्रदर्शन गर्ने उल्लेख छ। त्यस्तै शुक्रवार कार्तिक २६ गते प्रचार/प्रसार र साँझ मशाल जुलुस गर्ने भएको छ।
कार्तिक २७ गते देशव्यापी रुपमा दिउसो १ बजे देखि २ बजेसम्म एक घण्टा प्रदर्शन गर्ने, २८ गते बिहान १० बजे देखि ११ बजेसम्म १ घण्टा चक्काजाम गर्ने, २९ गते दिउसो सिठ्ठी जुलुस र साँझ मसाल जुलुस गर्ने भएको छ। त्यस्तै ३० गते बन्दको आह्वानसमेत गरेका छन्।

